ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चिसापानी–गुटु–मंगलसेन फास्ट ट्रयाक : आधा शताब्दी बित्दा पनि खुलेन ट्रयाक 

२०७८ सावन, ९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

साउन ९, सुर्खेत । ‘विकास गाडी चढेर आउँछ ।’ जब सडक बन्छ तब विकासका अनेक पाटा खुल्छन् । अर्थात् समग्रमा जीवनशैलीमा परिवर्तन शुरु हुन्छ । सडकले पूर्वाधारको ७० प्रतिशत भूमिका निर्वाह गर्ने विकासविद्हरुको बुझाइ छ । 

सामाजिक–आर्थिक विकासको पूर्वसर्त नै पूर्वाधार विकास हो अनि सडकचाँहि पूर्वाधार विकासको पनि पूर्वाधार हो । सडकले विकास ल्याउँछ भन्ने भनाइले सडक बनेसँगै सबै पूर्वाधार बन्न थाल्नेमा दुई मत छैन । सन् २१०० सालसम्ममा नेपाल समुन्नत राष्ट्रको स्तरमा पुर्‍याउने दीर्घकालीन सोच राखी सोही मार्गचित्रका आधारमा नेपालको विकास हुँदैछ । 

यसका लागि सडक सञ्जालको भूमिका अहम देखिन्छ । तर निर्माण कार्य शुरु भएको आधा शताब्दी वितिसक्दा समेत कैलालीको चिसापानी–सुर्खेतको गुटुहुँदै अछामको जंगलघाट मंगलसेनसम्मको फास्ट ट्रयाक अहिलेसम्म खुल्न सकेको छैन । 

२०२८ सालबाट निर्माण कार्य थालिएको चिसापानी–गुटु–मंगलसेन फास्ट ट्रयाक राजनीति ईच्छाशक्तिको अभावमा ५० वर्ष बितिसक्दा समेत सडक बन्न नसकेको हो । अछामतर्फबाट सुर्खेतको सिमाना जंगलघाटसम्म १० वर्ष पहिले नै सडक पुगि सकेको भएपनि सुर्खेतको गुटुदेखि करीब १५ किलोमिटर ट्रयाक मात्र खुल्न बाँकी छ । 

यो व्यापारिक दृष्टिकोणले ऐतिहासिक रणनीतिक महत्व बोकेको सडक हो । विसं २०२५ सालमा तत्कालिन पञ्चायती व्यवस्थाका अछाम जिल्ला सभापति हरीप्रसाद भण्डारीले भारतको तिकुनीयाबाट चिसापानी हुँदै मंगलसेनसम्म काँधमा बोक्दै, बाटो काट्दै जीप पुर्‍याएको यहि बाटो थियो । गाउँ–गाउँमा बाजागाजासहित खुशीयाली मनाउँदै र काँधमा बोक्न श्रमदान गर्दै मंगलसेनमा झण्डै ५३ वर्षअघि जीप पुगाएपछि अछाम सुगम जिल्लामा राखिएको थियो । 

सडक समृद्धिको आधार हो भन्ने चेतनाकै कारण चिसापानी हुँदै मंलसेनसम्म सडक आयोजनाको माग सहितको विन्तिपत्र तत्कालिन राजालाई बुझाइएपछि २०२८ सालदेखि यो सडक निर्माण थालिएको हो । चिसापानीबाट करीब एक ११० किलोमिटरको छोटो दूरीमै मंगलसेन पुगिने यो सडक निर्माणमा राज्यको खासै ध्यान पुग्न सकेको छैन । यो सडक निर्माण शुरु भएपछि हालसम्म देशमा थुप्रै व्यवस्था परिवर्तन भएका छन् । त्यो बेला जन्मिएका मान्छे अहिले सांसद मन्त्रीसमेत भइसक्दा पनि सडकको ट्रयाक नै नखुल्नु विडम्बना हो । 

त्यतीबेला जीप काँधमा बोकेर रमिता हेर्न गएकाहरु पनि अहिले त्यो सडकको चर्चा हराएकोमा चिन्तित छन् । ‘चिसापानी–गुटु–मंगलसेन फास्ट ट्रयाक ’ बाटो आयोजना नाम दिईएको यो सडक अहिले नेताहरुको भाषणमा समेत आउँदैन् । यो बाटो तत्कालिन समयमा अछाम, डोटी, कालिकोट, मुगु, दैलेख, सुर्खेतका नागरिकले हाट (पिठ्यूमा नुन बोकेर ल्याउन) जाने बाटो समेत हो । ५३ वर्ष पहिले गाडी लगेको सडकको अहिलेसम्म ट्रयाक नै नखुलेकोमा यस क्षेत्रका स्थानीय भन्दा हरिप्रसादका आफन्तहरु बढी दुःखित छन् ।  

यो सडकका लागि नियमित टुक्रे बजेट विनियोजन भएपनि सही सदुपयोग भने हुन सकेको छैन । सडकका लागि अछामतर्फ बजेट छुट्याउनुको जरुरी नरहेको र विषेशगरी सुर्खेततर्फ बजेट छुट्याउनु पर्ने स्थानीय सरोकारवाला बताउँछन् । अछामका व्यवसायी चन्द्रप्रसाद ढुंगानाले यसअघि सडक डिभिजन कार्यालय महेन्द्रनगर र सुर्खेतबाट छुट्याईएको बजेट सही ठाउँमा खर्च नभएको बताए ।

‘पहिलो काम भनेको गुटु–जंगलघाट ट्रयाक खोल्नु हो, तर महेन्द्रनगर सडक डिभिजनले कैलालीको भागमा मात्र र सुर्खेतले अर्कैतिर बजेटखर्च गर्दा राज्यले छुट्याएको बजेट सही सदुपयोग हुन नसकेको हो,’ ढुंगानाले भने, ‘अछामका जनप्रतिनिधिहरुले समेत चासो नै नदिने र सुर्खेत कैलाली तर्फकाले आफ्नैतिर बजेट खर्च गर्नाले यसतर्फ राज्यले ध्यान दिन सकेको छैन ।’ सुर्खेतबाट प्रतिनिधित्व गर्ने निवर्तमान स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावतले चिसापानी–गुटु–मंगलसेन फास्ट ट्¥याकलाई छिटो बनाउन संसदमा सरकारको ध्यानाकर्षण गराउँदै आएको बताए । 

उनले संघीय संसदमा कुरा उठाए पनि प्रदेश सरकारले समेत आफ्नो बजेटमा उक्त सडकखण्डलाई समिट्नु पर्ने आवश्यक रहेको औल्याए । तर, अहिले पनि आफ्नो स्तरबाट निरन्तर सडक निर्माणका लागि प्रयास जारी राखेको उनको भनाइ छ । 

तराई–पहाड जोड्ने छोटो मार्ग
तराई र पहाडका जिल्ला जोड्ने सबै भन्दा छोटो मार्ग भनेकै ‘चिसापानी–गुटु–मंगलसेन’ फास्ट ट्¥याक हो । १० वर्षअघि साविकको गुटु गाविसले ग्रामीण सडक कार्यक्रम अन्तर्गत थालेको उक्त मार्ग केन्द्रीय योजनामा समेत परेको थियो । पछि राजनीति पहुँच नहुँदा उक्त सडक ओझेलमा पर्दै गएको हो । 

अछामको मंगलसेन पुग्न पूर्व पश्चिम राजमार्गबाट डोटी हुँदै ३९० किलोमिटर यात्रा पार गर्नुपर्ने भएपनि चिसापानी मंगलसेन ९० किलोमिटर मात्रै दूरी पर्ने छोटो मार्ग हो । कर्णाली, चिसापानी हुँदै मंगलसेन जोड्न छोटो मार्गको बारेमा यस क्षेत्रबाट राजनीति गर्नेहरुले नबुझेकाले आझेलमा पर्दै गईरहेको स्थानीय समाजसेवी लक्ष्मीबहादुर बयक बताउँछन् । उनले कैलाली, सुर्खेत र अछाम जोड्ने उक्त सडक कर्णालीका बासिन्दालाई समेत सडक यातायातको दूरी छोटो हुने बताए ।

‘तराईसँग मध्य पहाड र हिमाल जोड्न छोटो र निर्माणमा सहज भएकाले यसको महत्व बढी छ,’ उनले भने, ‘नेपालकै ठूलो क्षमताको बहुचर्चित गुटु–चौकुने सिमेन्ट उद्योगका लागि पनि सडकको बढी महत्व रहेको छ ।’ उक्त सडक बनेमा सिमेन्ट उद्योगको लागतसमेत कम हुने उनको भनाइ छ । 
उनले हाललाई तीन जिल्ला जोड्ने उक्त सडक निर्माण भएमा धनगढीको चामल सस्तो मूल्यमा अछामलगायत कर्णालीका जनताले पाउने जनाए । उनले भने,

‘यो सडक पूरा भएपछि उपभोग्य वस्तुको लागत कम हुनेछ ।’ कर्णाली–चिसापानी–घाटगाउँ–गुटु हुँदै अछाम जोड्ने सडक निर्माण भए पश्चिम सुर्खेतको विकासमा ठूलो टेवा पुग्ने समाजसेवी देवबहादुर थापाले बताए । 

उनका अनुसार यो सडकभन्दा पछि कल्पना गरिएको १४५ किलोमिटर लामो कर्णाली करिडोर हिल्सा–सिमिकोट–सलिसल्ला सडक सम्पन्न भइसकेको छ । दिगो विकासका लागि सबैभन्दा प्रभावकारी जग भनेकै सडक हो । झन्डै १ लाख किलोमिटर सडक सञ्जाल भइसक्दा पनि नेपालमा अझै उक्त त्रि–देशीय चिसापानी–गुटु–मंगलसेन सडक बन्न सकेको छैन ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)