सुर्खेत । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिका आसपासका नागरिकले मोबाइल नेटवर्क गइरहने समस्याबाट छुटकारा पाएका छन् । नेपाल टेलिकम, नेपाल विद्युत् प्राधिकरण र सिम्ता गाउँपालिकाको सहकार्यमा काप्रिचौरमा टेलिकमको नयाँ रिपिटर टावर सञ्चालनमा ल्याइएसँगै मोबाइल नेटवर्क गइरहने समस्या अन्त्य भएको हो ।
करीब १० वर्षपहिले सोलारबाट सञ्चालित टेलिकमको मोबाइल टावरमा विद्युत् लाइन जडान गरिएपछि वर्षात् र हिउँदमा नेटवर्क गइरहने समस्या हट्ने भएको छ । नेपाल टेलिकमको २० लाख, नेपाल विद्युत् प्राधिकरणको १५ लाख र सिम्ता गाउँपालिकाको १५ लाख रुपैयाँ लागतमा विद्युत् लाइन विस्तार गरिएपछि टेलिकमको नयाँ रिपिटर टावर स्थापना भएको हो ।
टेलिकमका सुर्खेत प्रमुख नारायणप्रसाद कुसीले सिम्ता आसपासका क्षेत्रमा वर्षात् र हिउँद मासमा पर्याप्त घाम नलाग्दा सोलार चार्ज नभएर फोन नलाग्ने समस्या अन्त्य भएको बताए । ‘सिम्ताको उच्च स्थानमा अवस्थित काप्रिचौरमा विद्युत् लाइन पुर्याउनुका साथै नयाँ रिपिटर टावर जडान गरेर सञ्चालनमा ल्याएका छौं,’ उनले भने, ‘कुनै कारण विद्युत् गरिहाले पनि सोलारको ब्याकअप थप परिष्कृत गरेर जुनसुकै बेला पनि टावरले काम गर्ने बनाएका छौं ।’
उनका अनुसार काप्रिचौर रिपिटर टावरमा दोव्बर क्षमताका ८०० मेगाहर्ज र १ हजार ८०० मेगाहर्ज ब्याण्ड जडान गरिएको छ । सिम्ता गाउँपालिका आसपासका क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर केही दिनमै टेलिकमको फोरजी सेवा समेत सञ्चालनमा ल्याउन लागिएको उनले जानकारी दिए ।
सिम्ता गाउँपालिकाका अध्यक्ष कवीन्द्रकुमार केसीले विकासका पछि परेको सिम्ता क्षेत्रका आम नागरिकको माग र जनप्रतिनिधिको प्रयत्नबाट टेलिकमको नयाँ रिपिटर टावर स्थापना भएको बताए । यससँगै अब मोबाइल फोन नलाग्ने समस्या अन्त्य हुने विश्वास व्यक्त गरे । ‘सिम्तामा भरपर्दो मोबाइल सेवा नहुँदा नागरिक आजित थिए, इन्टरनेट सेवा भरपर्दो नहुँदा सरकारी सेवा प्रवाह बेला बेलामा अवरुद्ध हुने समस्या थियो,’ उनले भने, ‘रिपिटर टावर निर्माण भएसँगै स्थानीय बासिन्दा, सिम्ता पुग्ने व्यापारी र पर्यटकलाई समेत सुविधा पुग्नेछ ।’