धनकुटा । धनकुटामा बृहत् कफी विकास कार्यक्रम औपचारिक रूपमा शुरू गरिएको छ । उक्त कार्यक्रम अन्तर्गत निजीक्षेत्रसँग सहकार्य गरेर जिल्लाका पाख्रीबास, भेडेटार, सिधुवा, जोरपाटी, हिले र धनकुटामा कफीखेती प्रवद्र्धनको तयारी गरिएको छ ।
कफी विकास कार्यक्रमका लागि पाँचवर्षे योजना अघि सारिएको छ । पहिलो चरणमा पाख्रीबास नगरपालिका क्षेत्रमा कफी पकेट क्षेत्र घोषणा सहित २०७७ असोजदेखि कफी नर्सरी विस्तार गर्न थालिएको नगरपालिकाले जानकारी दिएको छ । उक्त योजना अनुसार कफी उत्पादनका लागि ५५ लाख रुपैयाँ लागतमा प्रशोधन केन्द्र निर्माणको तयारी गरिएको छ ।
यसैगरी ४५ लाख रुपैयाँ लागतमा कफीको हाइटेक नर्सरी निर्माण र प्रशोधनका लागि आवश्यक जनशक्ति उत्पादन गर्न प्राविधिक शिक्षालय स्थापना गरिने पाख्रीवास नगरपालिकाका उपप्रमुख देवकला पौडेल तिम्सिनाले बताइन् । नगरपालिकाका सम्भावित सबै वडामा कफी खेती तालीम र प्रभावकारी सेवाका लागि कफी संकलन केन्द्र निर्माण गरिने उनको भनाइ छ ।
पाख्रीवासमा मुलुककै नमूना कफी खेतीको रूपमा विस्तार गर्ने योजना अनुसार कार्यक्रम सञ्चालन गरिएको नगर उपप्रमुख तिम्सिनाले बताइन् । ‘आगामी वर्षदेखि नै परिणाम दिनेगरी काम अघि बढाएका छौं,’ उनले भनिन्, ‘मुलुककै मोडेल कफीखेती शुरू गरिँदै छ ।’
२०७६ फागुनमा कफी सम्बन्धी आधार रेखा थालिएको उक्त स्थानमा हालसम्म ५ लाख कफीका बिरुवा तयार हुँदै छन् । यस वर्ष मात्र ५० हजार बिरुवा उत्पादन गरी कृषकलाई वितरणको तयारी गरिएको कृषिविज्ञ जीवनकुमार राईले बताए । उनकै परिकल्पनामा यो योजना अघि सारिएको हो । पाख्रीबासका ४८ हजार हेक्टर क्षेत्रफलमा कफीखेती गरिने भएको छ । उक्त क्षेत्रफलमा ८४ लाख बिरुवा रोपिनेछ ।
आगामी ५ वर्षमा २ करोड ४० लाख केजी कफी उत्पादन गर्ने योजना छ, जसबाट प्रतिकेजी ८३ रुपैयाँका दरले १ अर्ब ९९ करोड २० लाखको कफी विक्री गर्न सकिने उल्लेख छ ।
नगरका सबै वडामा सम्भाव्यता अध्ययन गरी खफीखेती विस्तार गर्न लागेको नगर आफैले पनि ५० रोपनीमा नमूना कफीखेती कार्यक्रम समेत शुरू गरेको छ ।
जिल्लाका ‘एक स्थानिय तह, एक उत्पादन’लाई जोड दिने क्रममा पाख्रीबास नगरपालिका धनकुटाले व्यावसायिक कफीखेती शुरू गरेको हो । कफी खेतीको उद्घाटन गर्दै राईले कफीखेतीको बृहत् विकासका लागि वडाका सबै १० वडाका जनप्रतिनिधिले समेत कफीखेती गर्नुपर्नेमा जोड दिए । कफीको बजारको जिम्मा नगरले लिनुपर्ने समेत उनले बताए ।