जाजरकोट । जाजरकोट–जुम्ला छिटोछरितो पुग्न सुरुङमार्गको सम्भाव्यता अध्ययनको काम शुरू गरिएको छ । जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टादेखि जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारीको बीचमा सुरुङ खोलेर सडक निर्माण गर्न सम्भाव्यता अध्ययन गर्न लागिएको पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले बताए ।
जाजरकोट सदरमुकाम–पाँचकाटिया हुँदै कुशे–८ साङ्टाबाट जुम्लाको तातोपानी इमिल्चाघारी सडकका लागि सम्भाव्यता अध्ययन गर्न सडक डिभिजन चौरजहारीले प्रक्रिया शुरू गरेको छ । अर्कोतिर सदरमुकाम पाँचकाटिया हुँदै हानीसल्ला काइल्दापाखा सिल्पाचौर हुँदै बारेकोट जोड्ने सडक निर्माण जारी छ ।
त्यस्तै जाजरकोट–डोल्पा सडक खण्डको नलगाड नगरपालिकाबाट बारेकोट हुँदै जुम्ला जोड्ने अर्को सडक बारेकोट जोडिसकेको छ । पाँचकाटिया कायदापाखा सिल्पाचौर लिम्सा सडक खण्डको प्रदेश सरकारको सहयोगमा निर्माण जारी रहेको प्रदेशसभा सदस्य गणेशप्रसाद सिंहले बताए । यो आवमा पनि सो सडक निर्माणका लागि बजेट विनियोजन भइसकेकाले काम निरन्तर जारी रहने प्रदेशसभा सदस्य सिंहले जानकारी दिए ।
जुम्ला जान सबैभन्दा छोटो बाटोमध्येको सुरुङमार्ग नै हुने भएकाले यो निर्माण कार्यलाई बढी जोड गरिएको छ । जुम्ला सडक जोड्न अब दुई खण्डको विकास भइरहेको सिंहले बताए ।
साङ्टाबाट इमिल्चाघारीसम्म अहिलेको लम्वाइ झन्डै १० किलोमिटर छ । सुरुङ निर्माणका लागि ५ किलोमिटरभन्दा कम प्वाल बनाउनुपर्ने कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । हिँडेर करीब ७ घण्टामा अग्लो डाँडा पार गर्न सकिन्छ । सुरुङ मार्गबाट ३० मिनेटमै जुम्ला जान सकिने सिंहले बताए । लुम्बिनी–दाङ हुँदै जाजरकोट जुम्लाबाट रारा जोड्न यो सडक सबैभन्दा छोटो हुने भएकाले काम शुरू गर्न लागिएको बताइएको छ । रासस