भदौ १, धनकुटा । मुलुक संघीय संरचनामा गइसकेपछि अहिले स्थानीय र प्रदेश सरकारको भ्यूटावर मोह बढेर गएको छ । विकासका नाममा देशभर भ्यूटावरको मोह बढ्दै गएका बेला धनकुटा पनि अछुतो रहन सकेको छैन । डाँडा आफैमा सुन्दर र मनमोहक हुने गर्दछन् ।
तर, धनकुटाका डाँडा डाँडामा भ्यूटावर बनाउने क्रम समेत उत्तिकै बढ्दो छ । आन्तरिक तथा बाह्य पर्यटकलाइ आकर्षण गर्न भन्दै यस्ता टावर निर्माणको क्रम बढेको हो । धनकुटाका धेरै जसो डाँडाकाँडामा केहि समय यता भ्यूटावर निर्माण गर्ने क्रम बढ्दो छ ।
आफैमा मनमोहक डाँडाकाँडामा पर्यटक भित्र्याउन भन्दै भ्यूटावर निर्माणको क्रम बढेको हो । धनकुटामा भ्यूटावर निर्माण गर्न पर्यटन विकास कार्यालय काँकडभिटा, तत्कालिन जिल्ला विकास समिति तथा अहिले स्थानीय तह आफै सकृय छन् । भ्यूटावर निर्माण भएको धेरै स्थान अहिले पनि सुनसान छन् भने एक दुइ स्थानका भ्यूटावरमा मात्र पर्यटकको चहलपहल हुने गरेको छ ।
उच्च स्थानमा रहेको यस्ता डाँडाबाट तराइ पहाड हिमाल, फाँट खोला नाला सहित धरै स्थान देखिने भएकाले पर्यटक आउने गरेका सागुरीगढी ५ ओख्रेका स्थानीय मोहन थापाले बताए । अहिले धनकुटाको सागुरीगढी गाँउपालिकामा ध्वजे डाँडा, भेडेटार, ओख्रे गरी तीन ओटा भ्यूटावर निर्माण गरिएको छ । त्यस्तै चौबिसे गाँउपालिकाको जेफाले, धनकुटा नगरपालिकाको चुलिवन र हिले, शहिदभुमी गाँउपालिकाको छिन्ताङ स्थित पातले डाँडामा भ्यूटावर निर्माण गरिएको छ ।
त्यस्तै, शहिदभूमी गाँउपालिकाको घुमाउने डाँडा, महालक्ष्मी नगरपालिकाको पटेक डाँडा र धनकुटा नगरपालिको कागतेमा समेत भ्यूटावर निर्माण गर्ने तयारी गरिएको छ । पाख्रिबासको राम्चे डाँडामा भ्यूटावर निर्माण गरिएको छ । बढ्दो भ्यूटावर प्रति जानकारहरु भने खासै सन्तुष्ट छैनन् । डाँडा आफैमा भ्यूटावर भएकाले भ्यूटावर निर्माणको खर्च अन्य क्षेत्रमा लगाउनु पर्ने अर्थशास्त्र विषयका प्राध्यापक बेसराज खत्री बताउँछन् ।
जनताको अपेक्षा विकास निर्माणतिर भएपनि धनकुटाका स्थानीय तहका जनप्रतिनिधिहरुको भने भ्यूटावरमा ध्यान गएको छ । यहाँका स्थानीय सरकार भ्यूटावर बनाउन प्रतिस्पर्धानै गरेर लागेका छन् । यहाँको केहि गाँउपालिकामा भ्यूटावर बनिसकेको छ कतिपय निर्माणको क्रममा छन् ।
अहिलेको आवश्यकता भ्यू टावरको हो कि अन्य विकास निर्माणको हो ? स्थानीय हरिप्रसाद कार्की भन्छन्, ‘आवश्यकता होइन भनौं भने, स्थानीय सरकारले बनाइसक्यो खर्च गरिसक्यो तर अनुत्पादक क्षेत्रमा सरकारको ध्यान गयो । अहिलेनै हामीलाई भ्यूटावर चाहिएको छैन,’ उनी भन्छन्, ‘जनताको अपेक्षा एकातिर छ, सरकार कार्यकर्ता पाल्ने बजेट मिलाउन व्यस्त छ । ‘भ्यू टावर बनाउने बजेट सुन्दा र स्थलगत काम हेर्दा गुणस्तरहीन काम भएको छ,’ उनले भने,‘तर हाम्रो कुरा स्थानीय सरकारले सुन्दैन ।’
कतिपय ठाउँमा त भ्यूटावर गाईवस्तु चराउन, घाँस दाउरा गर्न जाने मात्रै चढ्ने गरेका छन् । त्यस्ता ठाउँमा बनाएका भ्यूटावरबाट बनाएर ती निकायले तल के हेर्न खोजेका हुन भन्ने जवाफ सायद आफैँमा नभएको धनकुटा बहुमुखि क्याम्पसका पूर्व प्राध्यापक ठाकुर प्रसाद बरालको भनाइ छ ।
वस्ती नै नभएका डाँडाहरुमा डोजर आतंक मात्र होइन, पहाडका टाकुरातिर विकासको नाममा भ्यूटावर आतंकले पनि उत्तिकै बदनामी कमाएको बरालको भनाइ छ । पर्यटन प्रवर्द्धनका नाममा भ्यूटावर निर्माणका लागि भनेरै केन्द्रदेखि नै बजेट छुट्टिदै आएको छ ।
‘अहिले नेपालमा भ्यूटावरको आवश्यकता होइन, दूरदृष्टिसहितको विकासको मोडल चाहिएको हो ।’ बराल भन्छन्, ‘कृषकले बेलैमा मल पाउँदैनन्, बिरामीले बेलैमा उपचार र अस्पताल पाउँदैनन् । दूरदराजमा अझै पनि गुणस्तरीय शिक्षा, स्वास्थ्य, खानेपानी, खाद्यान्नलगायतका समस्या ज्यूका त्यूँ छन् । अहिले राज्यको लगानी यतातर्फ हुनुपर्ने हो ।’ बरालले थप्दै भने ‘पहिला जनताको आधारभूत आवश्यकता र गुणस्तरीय जीवन जिउने हकको सुनिश्चित हुनुपर्ने तर्फ राज्यका तिनै तहका सरकारको ध्यान मोडिनुपर्ने हो ।’
हुन त पर्यटकको सहज पहुँच भएका स्थानमा भ्यूटावरको सदुपयोग भए पनि धेरै स्थानका भ्यूटावर प्रयोग बिहिन जस्तै छन् । त्यसैले डाँडा देख्ने वित्तिकै भ्यूटावर निर्माण भन्दा पनि भ्यूटावर बाहेकका पर्यटकिय संरचना, डाँडासम्म पुग्ने पहुँचमार्ग, अन्य पुर्बाधार निर्माण गर्नतर्फ ध्यान जान आवश्यक छ ।