ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लकडाउनको विरोधमा धरानका स्थानीय 

‘लकडाउन गर्न पाईदैन, यस्तो मेयर चाहिँदैन’

२०७८ भदौ, २  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

भदौ २, धरान । कोरोना संक्रमितसँगै मृतकको संख्यामा समेत वृद्धि हुँदै गएपछि चेनब्रेक गर्ने भन्दै धरान उपमहानगरपालिकाले १० दिन लकडाउन गर्ने निर्णयको विरोध गर्दै स्थानीयहरु मेयर विरुद्ध खनिएका छन् । 

राजनीतिक दलको दबाबमा मेयर तिलक राईको लकडाउन गर्ने निर्णय विरुद्ध स्थानीयले ‘लकडाउन गर्न पाइदैन, यस्तो मेयर चाहिदैन’ भन्दै बुधवार नाराबाजी गरेका हुन् । 

लकडाउन गर्ने निर्णयलाई जिल्ला प्रशासन कार्यालय सुनसरीको डिडिएमसिले पनि सदर गरिदिए पछि धरान उपमहानगरपालिकाले पूर्ण लकडाउनलाई सहयोग गर्न आग्रह सहितको माइकिङ, विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जाल मार्फत सूचना जारी गरेको छ । तर, धरानका होटल व्यवसायी, यातायात मजदूर, व्यापारी व्यवसायीहरुले भने लकडाउनको विकल्प खोज्नुपर्ने भन्दै धरानमा विरोधसभाको आयोजना नै गरेका छन् । 

उनीहरुले ‘अव्यवस्थित लकडाउन विरुद्धको अभियान धरान’ गठन गरेर आन्दोलनमा उत्रिएका हुन् । शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका स्थानीयले ‘कि त गरिखानेलाई गरिखान देउ, विष खान र पासो लगाउन बाध्य नपार’ जस्ता नारा लगाएका थिए । 

अभियानका संयोजक हरि श्रेष्ठले विगतमा गरिएका लकडाउन पनि विकल्प बिना गरिएकाले कुनै उपलव्धीमूलक नभएको बरु उल्टै मजदूर तथा व्यापारी व्यवसायीहरु मारमा परेको बताए । उनले भने, ‘विगतको जस्तो लकडाउन हो भने लकडाउन गर्नुको कुनै औचित्य छैन, लकडाउनको विकल्प खोजिनुपर्छ ।’ उनले विगतमा लकडाउनमा व्यापारीले घरभाडा तिर्न नसकेको, बैंकको ऋणको व्याज तिर्न नसकेको, यातायात व्यवसायीले बिहान बेलुका छाक टार्न नै धौ धौ भएको बताए । 

उनले भने, ‘हामी लकडाउनको विरोधी होइनौं, लकडाउन नै गर्ने हो भने व्यापारीहरुको घरभाडा छूटदेखि लिएर कर छूट हुनुपर्ने, लकडाउन अवधिभर मजदूरको रोजीरोटीको व्यवस्था गर्नुपर्ने लगायतका कुराहरुमा स्थानीय सरकारले छूट गर्नुपर्छ, अनिमात्र लकडाउन गर्नुपर्छ ।’  

यता यातायात मजदूर विनय पोख्रेलले विगतमा सबै क्षेत्र खुल्ला हुँदा लामो समयसम्म यातायात नखुल्दा मजदूरहरु मारमा परेको बताए । उनले भने, ‘हुनेखानेलाई लकडाउनले केही असर गर्दैन तर हामीजस्ता मजदूरको जीवनयापन गर्न नै कठीन हुन्छ ।’

विगतकै जस्तो लकडाउन हो भने नगर्दा राम्रो हुने सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष गिरीधारी सापकोटाले बताए । उनले भने, ‘लकडाउन पूर्ण रुपमा हुनुपर्छ, व्यापारी, व्यवायीलाई सहुलियत हुने खालका प्याकेज ल्याउनुपर्छ अनि मात्र लकडाउन गर्नुपर्छ ।’ छलफलकै समयमा लकडाउनको विरोध गरेको सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष सापकोटाले भने, ‘व्यवस्थित ढंगबाट लकडाउन गर्ने हो भने हामी पूर्ण सहयोग गर्छौ ।’

गत सोमवार लकडाउनको चेनब्रेक गर्ने उद्देश्यले धरान उपमहानगरपालिकामा जिल्ला सुरक्षा समन्वय समितिको संयोजक प्रमुख जिल्ला अधिकारी उमेश ढकालको अध्यक्षतामा बैठक बसेको थियो । बैठकमा लकडाउनको विकल्न खोजिनु पर्ने व्यापारी व्यवासायीले माग गरेपछि बिना निष्कर्ष बैठक सकिएको थियो ।

पुनः धरान उपमहानगरपालिका सर्वदलिय, सर्वपक्षिय बैठकबाट व्यवपारी व्यवसायीको विरोधको बाबजुद शुक्रवारदेखि लकडाउन गर्ने सिफारिस गर्ने निर्णय गरेको थियो ।  

लकडाउनको चौतर्फी विरोध भइरहँदा धरान उपमहानगरपालिकाले भने बाध्यात्मक परिस्थितिमा लकडाउन गर्नु परेको बताएको छ । धरान उपमहानगरपालिकाकी उपमेयर मञ्जु भण्डारी सुवेदीले कोरोनोको ग्राफसँगै मृत्यु हुनेको संख्या पनि बढ्दै गएकाले बाध्य भएर लकडाउन गर्नुपरेको बताइन् । उनले भनिन्, ‘हामीले चाहेर लकडाउन गरेका हैनौ सबैको छलफल पश्चात यो निर्णयमा पुगेका हौ, यसमा विरोधभन्दा पनि सहयोग गरेर लकडाउनको पूर्ण पालना गर्नु नै अहिलेको अवस्थामा उचित छ ।’ 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)