भदौं २, सुर्खेत । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको जामुमा नगर कोभिड अस्पताल सञ्चालनमा आएको छ । कर्णाली प्रदेश सरकारको ४० लाख रुपैयाँको आर्थिक सहयोगमा निर्मित १५ शय्याको अस्पताल मंगलवारदेखि विधिवतरुपमा सञ्चालनमा आएको हो ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाले एक औपचारिक कार्यक्रमका बीच पञ्चपुरी–१०, जामुमा कोभिड अस्पतालको उद्घाटन गरेका हुन् ।
उनले कर्णाली प्रदेश प्रवेशका लागि पश्चिम सुर्खेत तर्फको मुख्य नाका कुईनेबाट आउने नागरिकको चेकजाँचसँगै कोरोना संक्रमितको उपचारमा समेत सहजता पुग्ने विश्वास व्यक्त गरे । ‘पश्चिम सुर्खेतलगगायत अछाम, पश्चिम दैलेख, कालिकोट र बाजुराका नागरिकको पैदल मार्गका रुपमा रहेको मुख्य नाका कुइनेमा कोरोना विशेष अस्पताल सञ्चालनमा आएसँगै अब उपचार तथा परामर्शका लागि मद्दत पुग्नेछ,’ उनले भने, ‘अस्पतालमा विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य सेवा सञ्चालनमा आएसँगै चेकजाँचसँगै उपचारका लागि तत्काल बाहिर जानुपर्ने बाध्यता हटेर जानेछ ।’
उनले यसअघि पञ्चपुरीकै सालकोट प्राथमिक स्वास्थ्य केन्द्रबाट समेत महीनाको दुई दिन विशेषज्ञ डाक्टरसहितको घुम्ती स्वास्थ्य सेवा शुरु गरी सकिएको जानकारी दिए ।
यता पञ्चपुरीका नगरपालिकाका नगरप्रमुख उपेन्द्रबहादुर थापाले जामुमा कोभिड अस्पताल सञ्चालनमा आएपनि अस्पतालको कम्पाउण्ड घेरबार तथा स्तरोन्नतिका लागि प्रदेश सरकारले थप ध्यान दिनु पर्ने औल्याए । उनले पश्चिम सुर्खेतका तीन मध्ये कुनै एक स्थानीय तहमा प्रदेश
सरकारले सरुवा रोग अस्पताल निर्माण गरि दिन माग राखे ।
‘भौतिकपूर्वाधार विकासको अभावले पिछडिएको पश्चिम सुर्खेतमा भरपर्दो कुनै अस्पताल छैन्,’ उनले भने ‘त्यसैमा जनशक्तिदेखि भौतिकपूर्वाधार अभावले स्वास्थ्य क्षेत्रको अवस्था नाजुक रहेकाले प्रदेश सरकारले पञ्चपुरी नगरपालिका वा चौकुने गाउँपालिकामा एउटा भरपर्दो सरुवा रोग अस्पताल निर्माण गरिदिन जोडदार माग गर्दछु ।’
उनले नगरपालिका र प्रदेश सरकारको समन्वयमा करीब २८ लाख रुपैयाँको कोभिड कोषबाट कुईनेमा यात्रुका लागि प्रतिक्षालय र नार्सिमा होल्डिङ्ग सेन्टर सञ्चालनमा समेत ल्याईएको जानकारी दिए ।
यता नवनिर्मित नगर कोभिड अस्पतालमै प्रदेश अस्पतालका बालरोग विशेषज्ञ डा. नवराज केसीलगायतको पहलमा टेलिमेडिसिन सेवा समेत सञ्चालनमा ल्याईने भएको छ । स्वास्थ्य जनशक्ति तथा पूर्वाधारको समस्या झेल्दै आएको पश्चिम सुर्खेतमा इन्टरनेट र टेलिफोनको माध्यमबाट (भर्चुअल) वैकल्पिक चिकित्सकीय सेवाबाट नागरिकलाई राहत नै पुग्ने अपेक्षा गरिएको छ ।