ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शिक्षक पेशा छोडेर गाईपालनमा लागेका धनबहादुर भन्छन् ‘व्यवसायबाट आत्मसम्मान मिलेको छ’ 

२०७८ भदौ, ६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar ईश्वर थापा

भदौ ६, धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका १ खाप्राङका धनबहादुर कटुवालको दैनिकी फेरिएको छ । उनी एकाबिहानै आफ्नो घरमा रहेको गाईफार्ममा व्यस्त हुन्छन् । घर नजिकै रहेको गाईफार्ममा बिहानदेखि बेलुकासम्म व्यस्त रहनु उनको दैनिकी हो । 

२०५७ सालमा भूगोल विषयबाट स्नातक गरेका कटुवालले पढाइपछि तत्कालिन स्थानीय निकायमा सामाजिक परिचालक भएर काम गरेका थिए । सामाजिक परिचालक भएर काम गर्न थालेको ३ वर्षपछि द्वन्द्वका कारण कार्यक्रम बन्द भएपछि उनले सामाजिक परिचालकको जागिर छोडेको बताए । 

त्यसको केही समयपछि स्थानीय खाप्राङ माविमा साढे ५ वर्ष शिक्षकको रुपमा सेवा गरेका कटुवालले २०६९ सालदेखि व्यावसायिक रुपमा पशुपालन पेशा थालेको बताउँछन् । ‘पेशागत रुपमा भन्ने हो भने शिक्षक समुदायको नमूना र साझा अविभावक हो हामीले केही न केही काममा नमूना बन्नु पर्छ भन्ने अठोट गर्दै शिक्षण पेशाबाट राजिनामा दिएर यो पेशामा लागे’ कटुवालले भने ।

सरकारी जागिर छोडेर गाईपालन गर्ने मानिस कमै होलान तर कटुवालले व्यावसायिक रुपमा गाईपालन गर्न जागिर छोड्ने निर्णय गरेर महालक्ष्मी नगरपालिका १ मा पशु तथा कृषि फर्म नामबाट एकल व्यावसायको रुपमा यो पेशा निरन्तरता गर्दै आएका छन् । ‘सरकारी जागिर खाँदा अरुको नियन्त्रणमा बस्नु परेको थियो अहिले स्वतन्त्र भएर आत्मा सम्मानमा बसेको छु ।’ उनले भने ‘स्वतन्त्र नै भएर आम्दानी पनि मासिक एक लाख रुपैयाँको हाराहारीमा गर्दै आइरहेको छु ।’

गाउँमा रहेको जग्गा पनि बाँझो हुन थालेको र त्यही जग्गाको उपयोग गरेर केही गर्नुपर्छ भनेर व्यावसायमा लागेको बताउँदै कटुवालले अहिले बाबु बाजेले जोडेका जग्गा उर्वर बनाएको बताए । 

रोजगारी सिर्जना
हाम्रो देश नेपाल कृषि प्रधान देश हो । यहाँ हामीले कृषि तथा पशुपालनलाई व्यावसायिक रुपमा लिने हो भने यसले उद्यमी र स्वारोजगार बनाउँछ । कटुवालको विचारमा धेरै मानिसहरु पशुपालनलाई व्यावसायिक रुपमा नगरीकन आम्दानी भएन घाटा भयो भन्छन् । 

यसले यो पेशामा आउन चाहानेहरुका लागि नकारात्मक सन्देश जान्छ र उनीहरु निरुत्साहित हुन्छन् । कुनै पनि पेशा आफैंमा नराम्रो हुँदैन, तर निरन्तर लाग्नु पर्ने उनको तर्क छ । उनका अनुसार धेरै मान्छेहरुले व्यावसाय गरेपनि परम्परागत र निर्वाहमूखि मात्र गर्छन् व्यावसायिक रुपमा आय आर्जन गर्ने गरी गर्दैनन् ।

२०६९ सालमा ८ लाख रुपैयाँको लगानीबाट गोरखाबाट गाई ल्याएर व्यवसाय शुरु गरेका कटुवालले हालसम्म ५० लाखको लगानी भइसकेको बताउँछन् । अहिले उनको फर्ममा १५ ओटा गाई रहेका छन् । उनले ७२ रोपनी जमिनमा घाँस खेती गरेका छन् । ‘व्यवसाय शुरु गर्ने वित्तिकै नाफा नदेखिए पनि अहिले औसतमा

नाफा नै छ’ उनले भने ‘दूधबाट मात्र होइन अब कोरली बाच्छाबाच्छी बेचेर पनि आम्दानी भइरहेको छ ।’ 

‘मेरो लागि शिक्षण पेशा आफुले मात्र जागिर खाएर अरु परिवारलाई पाल्नुपर्ने कठिन पेशा बन्यो । मैले शिक्षण गर्दा परिवारको गुजारा चलाउन निक्कै समस्या पर्थ्यो ।’ कटुवालले भने ‘अहिले पशुपालन व्यवसायबाट हामी घरका दुई जना र अन्य दुई जनालाई पनि यो पेशाबाट रोजगारी दिन सफल भएका छौं ।’ 

लगानी अनुसार आम्दानी छैन
कटुवालले लगानी अनुसार आम्दानी भने गर्न नसकेको गुनासो गर्छन् । ‘दूधको बजार मूल्य स्थिर रहने तर, गाइलाई खुवाउने दानाको मूल्य दैनिक बढिरहनु आम्दानीको मुख्य समस्या हो ।’ उनी भन्छन्, ‘भन्नैपर्दा दूधको मूल्य कम हुनु तर, उत्पादन लागत अत्याधिक वृद्धि हुनुले आम्दानी सोचेजस्तो भएको छैन ।’

पछिल्लो समय स्थानीय तहले नीतिहरु सहज बनाएर सहयोग गर्ने हो भने यो भन्दा राम्रो आम्दानी लिन सक्ने र धेरैलाई रोजगारी दिनसक्ने उनको भनाइ छ । 

‘हरेक पेशा व्यवसायको चुनौती त हुन्छ नै । गाईपालन व्यवसाय त झनै चुनौती छ तर चुनौती छ भन्दैमा व्यवसाय नै नगरी बस्ने कुरो भएन ।’ कटुवालले भने ‘गाईपालन व्यवसायका मुख्य गरेर दुई तीनओटा समस्या रहेको छ । मानिसहरुले व्यवसायलाई व्यवसायिक बनाउँन नसक्नु नै पहिलो चुनौती हो । व्यवसायलाई व्यवासायिक रुपमा लिने हो भने समस्या यहिबाट समाधान हुन्छ ।’ 

व्यवासयिक रुपमा गाई पालन गर्ने हो भने एउटा दुइओटा गाई पालन गरेर हुँदैन कम्तीमा पनि १० ओटा सम्म गर्नुपर्ने उनको भनाइ छ । ‘गाई फर्म थालेपछि यसलाई दीर्घकालिन सञ्चालन गर्नका लागि घाँसको व्यवस्थापन गर्नु पर्छ भने दूधलाई सफा र व्यवस्थित ढंगले राख्नुपर्छ नत्र यसले ग्राहकको विश्वास जित्न सकिदैन ।’ कटुवालले भने, ‘सरसफाई गरिएन भने दूध विग्रिने सम्भावना हुन्छ । दूध विक्री नहुने स्थिति आयो भने दुग्धजन्य वैकल्पिक वस्तु उत्पादन गर्ने सीप पनि सिक्नु पर्ने हुन्छ ।’

आम्दानीसँगै आत्म सम्मान मिल्यो :
गाईपालनबाट अहिले कटुवाललाई राम्रो आय आर्जन हुन थालेको छ । शुरुका दिनमा संघर्षपूर्ण तारिकाबाट व्यवसाय सञ्चालन भयो, विस्तारै व्यवसायमा सुधार हुँदै गयो, यो पेशा गर्न केही पूर्वानुभव पनि रहेको उनको भनाइ छ । पैसा कमाउन विदेश जानुपर्छ भन्ने लहर चलेको छ तर, देशमै केही गर्दा आम्दानी सहित आत्म सम्मान मिलेको उनको भनाइ छ । उनले फुर्सद भएको समयमा सामाजिक काम गर्ने गरेको बताउँछन् । 

उनी अहिले आफूले अध्यापन गरेको विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरिरहेका छन् । गाईपालनलाई व्यवसायिक बनाउन कटुवालले फार्म वरिपरि घाँसका बिरुवा, एभोकार्डोका बिरुवा र आफूलाई पुग्ने तरकारी समेत लगाएका छन् ।

उनले जाँगर लगाउने हो भने गाईपालन सँगसँगै अन्य व्यवसाय पनि हुने बताएका छन् । विदेश जानुपर्छ वा सरकारी जागिरका लागि दौडधुप गर्नुपर्छ जस्तो भन्नेहरुका लागि पनि व्यवसायिक तरिकाले पेशा व्यवसायमा लाग्न सुझाव दिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)