भदौ ९, सल्यान । सल्यानमा किसानहरुले लगाएको धानमा खैरो थोप्ले रोग देखापरेको छ । जिल्लाको शारदा नगरपालिका वडा नम्बर ९ बागचौरमा किसानहरुले करीब ३५० रोपनी क्षेत्रपÞmलमा लगाएको बर्खे धान मध्ये करीब १५० रोपनीमा ढुसीबाट उत्पन्न हुने धानको खैरो थोप्ले रोग देखा परेको कृषि विकास कार्यालय सल्यानले जानकारी दिएको छ । यहाँका करीब ४० घरधुरीले लगाएको धानमा प्रकोप देखिएको हो ।
स्थानीय किसानले धानमा रोग देखा परेको गुणासो गरेपछि कृषि विकास कार्यालयको टोलीले स्थलगत अवलोकन र रोगी बिरुवाको नमूना संकलन गरेको थियो ।
त्यसपश्चात ढुसीबाट उत्पन्न हुने धानमा खैरो थोप्ले रोगको प्रकोप भेटिएको कृषि बिकास कार्यालय सल्यानका प्रमुख महेश आचार्यले जानकारी दिए । किसानहरुले धेरै वर्षदेखि बीउ परिवर्तन नगरेर एउटै बीउ रोप्दा उक्त रोगको समस्या देखिएको हुनसक्ने उनको भनाइ छ ।
‘खास गरेर धानको पातमा खैरा लाम्चा थोप्लाहरू देखा पर्दछन्, पछि यी थोप्लाहरू एक आपसमा जोडिइ पूरै पात खैरो हुन्छ, रोगको प्रकोप बढी भएमा बोटहरु होचो हुने, गाँज कम लाग्ने, धानको बाहिरी भाग तथा भित्री गेडामा पनि खैरा काला थोप्लाहरु देखा पर्ने र उत्पादनमा ह्रास आउने हुन्छ’ उनले भने ‘सन्तुलित मात्रामा मलखादको प्रयोग नगर्नु, ढुसीका कणहरु धानमा प्रसारण भएको, ढुसी फैलानको लागि उपयुक्त वातावरण भएको कारण रोगको संक्रमण फैलिदैँ गएको हुनसक्छ ।’
स्वस्थ बीउको प्रयोग गर्ने, रोग कम लाग्ने जातहरुको बीउ प्रयोग गर्ने, नाइट्रोजन, फस्फोरस र पोटासयुक्त मल सिफारिश गरिएको मात्रामा प्रयोग गरेमा पनि खैरो थोप्ले रोगबाट बचाउन सकिने उनले बताए ।
‘जिल्लामा अहिलेसम्म धानखेतीमा अरु कुनै रोगको प्रकोप बारेमा जानकारी आएको छैन’ उनले भने ‘धानको गोडमेल गर्न, पानीको आवश्यकता हेरेर सिँचाई गर्न, धान फुल्ने तथा फल लाग्ने समयमा किराहरु बढी मात्रामा लाग्ने भएकाले सजकता अपनाउन आग्रह गर्दछौँ ।’
सन् १९४३ मा पश्चिम बंगालमा धानको खैरे थोप्ले रोगका कारण करीब २० लाख नागरिकले भोकमरीको कारण ज्यान गुमाएका थिए । यस रोगले गर्नसक्ने क्षतीलाई कम गर्नको लागि किसानहरुलाई ढुसीनासक बिषादी सहयोग गरिएको कार्यालयले जानकारी दिएको छ ।
यस्तै, स्थानीय किसानलाई स्थलगत रुपमा विषादी प्रयोग सम्बन्धि तालिम समेत प्रदान गरिएको छ । जिल्लाभर ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ ।
स्थानीय किसान धन बहादुर कुँवरले पहिलो पटक यसक्षेत्रका किसानले लगाएको धानमा खैरो थोप्ले रोग देखा परेको बताए । ‘अहिले धानको पातमा खैरा थोप्लाहरु देखा परेका छन्, यसले धान उत्पादनमा ह्रास आउने सम्भावना छ, कृषि विकास कार्यालयको प्राविधिक सहयोगमा विषादी प्रयोग गरेका छौँ’ उनले बताए । उनले किराको बेलैमा नियन्त्रण गर्न नसकिए थप क्षती पुर्याउने सम्भावना रहेको बताए ।