धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका–१ खाप्राङका धनबहादुर कटुवालको दिनचर्या अहिले फेरिएको छ । गाईपालन शुरू गर्नुअघि शिक्षण पेशामा रहेका उनी घरनजिकै रहेको गाईफार्ममा बिहानदेखि बेलुकासम्म व्यस्त रहन्छन् ।
२०५७ सालमा भूगोल विषयबाट स्नातक गरेका कटुवालले पढाइपछि तत्कालीन स्थानीय निकायमा सामाजिक परिचालक भएर काम गरेका थिए । उक्त काम थालेको ३ वर्षपछि सशस्त्र द्वन्द्वका कारण कार्यक्रम नै बन्द भयो । त्यसको केही समयपछि स्थानीय खाप्राङ माविमा साढे ५ वर्ष शिक्षकको रूपमा सेवा गरेका उनले २०६९ सालदेखि व्यावसायिक रूपमा पशुपालन थालेका हुन् ।
सरकारी जागीर छाडेर गाईपालन गर्ने कमैमध्ये पर्छन् कटुवाल । महालक्ष्मी नगरपालिका–१ मा ‘पशु तथा कृषि फार्म’ नामबाट उनले व्यावसायिक गाईपालनलाई निरन्तरता दिँदै आएका छन् । ‘सरकारी जागीर खाँदा अरूको नियन्त्रणमा बस्नुपरेको थियो, अहिले स्वतन्त्र भएर काम गर्न पाएको छ, यसबाट आम्दानी त छ नै, आत्मसम्मान समेत मिलेको छ ।’
गाईपालनबाट आफूले मासिक १ लाख रुपैयाँ बराबर आम्दानी गर्दै आएको उनले सुनाए । गाउँमा रहेको जग्गा पनि बाँझो हुन थालेको र त्यही जग्गाको उपयोग गरेर केही गर्नुपर्छ भन्ने सोचले आफू यो पेशामा आएको उनले बताए । ‘हामीले कृषि तथा पशुपालनलाई व्यावसायिक बनाउने हो भने यसबाटै स्वरोजगार उद्यमी बन्न सकिन्छ,’ उनले भने, ‘व्यावसायिक रूपमा पशुपालन नगरेकाले धेरै मानिस यसबाट आम्दानी नै भएन, घाटा भयो भन्छन् । यसले यो पेशामा आउन चाहनेहरूका लागि नकारात्मक सन्देश जान्छ ।’ कुनै पनि पेशा आफैमा नराम्रो नहुने धारणा राख्ने उनी सुझबुझ र मेहनतपूर्वक निरन्तर रूपमा लागिपरेमा जुनसुकै व्यवसायबाट फाइदा लिन सकिने बताउँछन् ।
२०६९ सालमा ८ लाख रुपैयाँ लगानीमा गोरखाबाट गाई ल्याएर व्यवसाय शुरू गरेका कटुवालले हालसम्म ५० लाख लगानी भइसकेको बताए । अहिले उनको फार्ममा हाल १५ ओटा गाई छन् । उनले ७२ रोपनी जमीनमा घाँसखेती गरेका छन् । ‘व्यवसाय शुरू गर्नेबित्तिकै नाफा नदेखिए पनि अहिले नाफा नै छ,’ उनले भने, ‘दूधबाट मात्र होइन, बाच्छाबाच्छी बेचेर पनि आम्दानी भइरहेको छ ।’ यो व्यवसायबाट आफ्नो घरका दुई जनासहित अन्य दुईलाई रोजगारी दिन सकेको उनले बताए ।
कटुवाललाई यो पेशामा पत्नी यामकुमारी कटुवालले पनि साथ दिएकी छिन् । नजिकैको एक विद्यालयमा शिक्षिका रहेकी उनले आफूले बिहान बेलुकाको समयमा खोले, कुँडो, घाँस, गोबरको काममा साथ दिएको बताइन् । घरपरिवार मिलेर गरेको व्यवसाय बढाउने तयारी भइरहेको भन्दै उनले यसमा जनशक्तिको अभाव रहेको गुनासो गरिन् । पुरुषहरू रोजगारीका लागि विदेश पलायन हुनुभन्दा परिवारसँगै बसेर व्यवसाय गर्नु राम्रो हुने उनको अनुभव छ ।
यद्यपि गाईपालनमा लगानी अनुसार आम्दानी भने गर्न नसकेको कटवालको भनाइ छ । ‘दूधको बजार मूल्य स्थिर रहने तर, गाइलाई खुवाउने दानाको मूल्य बढिरहनु आम्दानीको मुख्य बाधक हो,’ उनले भने । पछिल्लो समय स्थानीय तहले नीतिहरू सहज बनाएर सहयोग गर्ने हो भने यो राम्रो आम्दानी लिन र व्यवसाय बढाएर धेरैलाई रोजगारी दिन सकिने उनले बताए ।
‘हरेक पेशा व्यवसायको चुनौती त हुन्छ नै । गाईपालन व्यवसायमा पनि धेरै चुनौती छन्, तर यसो व्यवसाय नगरी बस्ने कुरा भएन,’ कटुवालले भने, ‘व्यवसायलाई व्यावसायिक बनाएर लैजान सके चुनौतीकै बीच उल्लेख्य आम्दानी गर्न सकिन्छ ।’
यो पेशालाई व्यावसायिक बनाउन एक–दुईओटा गाई पालेर नहुने भन्दै कटुवालले लागत र मेहनतको तुलनामा राम्रो फाइदा लिन कम्तीमा १० ओटासम्म पाल्नुपर्ने सुझाए । ‘गाईफार्म थालेपछि यसलाई दीर्घकालीन सञ्चालन गर्न घाँसको व्यवस्थापन पनि गर्नुपर्छ,’ उनले भने । गाईपालनबाट आफूले अहिले राम्रो आयआर्जन गर्न सकेको उनले बताए । ‘पैसा कमाउन विदेश नै जानुपर्छ भन्ने सोच आम युवामा देखिन्छ,’ उनले भने, ‘तर आँट, आत्मविश्वास र मेहनतका साथ गर्न सके यहीँ पनि विदेशमा कमाइने बराबरको आम्दानी गर्न सकिन्छ,’ उनले भने । साथै आफ्नै गाउँठाउँमा गरेको व्यवसायबाट आत्मसन्तुष्टि समेत मिल्ने उनको अनुभव छ ।
गाईपालनलाई व्यावसायिक बनाउन कटुवालले फार्म वरिपरि घाँस लगाएका उनले आफुलाई पुग्ने तरकारीखेती समेत गरेका छन् । आम्दानीका लागि विदेश जानुपर्छ वा सरकारी जागीरका लागि दौडधुप गर्नुपर्छ भन्नेहरूका लागि समेत उनको काम प्रेरणादायी हुन सक्छ ।