ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘राष्ट्रिय आवश्यकताका योजनालाई प्राथमिकतामा राख्नुपर्छ’

२०७८ भदौ, १५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले सरकारले राष्ट्रिय आवश्यकताका योजनालाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । रत्ननगर उद्योग वाणिज्य संघ र रोटरी क्लब अफ रत्ननगरले सोमवार चितवनमा संयुक्त रूपमा आयोजना गरेको ‘चितवनको विकासको सम्भावना’ विषयक अन्तरक्रिया कार्यक्रममा उपाध्यक्ष पौडेलले जुनसुकै सरकार भए पनि विमानस्थल, खानेपानी आयोजना र सडकलाई महत्त्व दिएर काम गर्र्नुपर्ने बताएका हुन् ।

विदेश भ्रमण र फजुल खर्चका लागि बजेट उपलब्ध भए पनि राष्ट्रिय आवश्यकताका आयोजनाको काममा भने तत्परता नदेखाइएकाले देश पछाडि परेको उपाध्यक्ष पौडेलले बताए । काम गर्न नसक्ने किसिमको बजेट ल्याउने गरिएकाले सरकार विकासमा असफल हुँदै आएकोे उनको भनाइ छ । ‘सरकारले विनियोजन गरेको बजेट खर्च गर्नै सक्दैन,’ उनले भने, ‘यसबाट कसरी विकासको परिकल्पना गर्न सकिन्छ ?’

विकासको गति अगाडि बढाउन पूँजीगत खर्च बढाउनुपर्ने उनले सुझाए । वार्षिक मुश्किलले ६५ प्रतिशत विकास खर्च हुने गरेको भन्दै उनले काम गर्न सक्नेगरी सरकारले बजेट ल्याउनुपर्ने बताए । ठूला आयोजना निर्माणका लागि पर्याप्त बजेट विनियोजन नगर्दा त्यस्ता आयोजना अलपत्र पर्ने गरेको उनको भनाइ छ ।

विगत ३ वर्षदेखि योजना आयोगको भूमिका खुम्च्याइएको टिप्पणी समेत उनले गरे । योजना आयोगलाई बलियो बनाउँदै जनताको पक्षमा काम गर्ने बनाउनु आफूमाथि ठूलो जिम्मेवारी रहेको उनले बताए । योजना छनोटमा आयोगको हस्तक्षेपकारी भूमिकाको अन्त्य गर्दै स्थानीय र राष्ट्रिय आवश्यकताका आधारमा बजेट र योजना पार्ने काममा आफू लागि पर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

चितवनमा पर्यटनको विकासका लागि गुरुयोजना, रोजगारीका लागि प्राविधिक शिक्षा र कृषिको विकासका लागि आधुनिकीकरणको खाँचो उपाध्यक्ष पौडेलले औंल्याए । रत्ननगर अस्पताललाई मेडिकल कलेजको रूपमा विकास गर्न आफू सकारात्मक रहेको भन्दै उनले सम्भावना बोकेको सो अस्पताललाई मेडिकल कलेजको रूपमा अगाडि बढाउनेगरी योजनामा समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति कृष्णकुमार डल्लाकोटीले उपाध्यक्ष पौडेलसमक्ष चितवनको विकासका लागि गर्नैपर्ने योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा संघका अध्यक्ष अनिलकृष्ण श्रेष्ठ, रत्ननगर नगरपालिका प्रमुख नारायण वन, कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ, जिल्ला आयुर्वेद अस्पतालका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, खैरहनी उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन श्रेष्ठ लगायतको सहभागिता थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)