ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

इटहरीमा बन्द भए ९ होटल

करोडौंको लगानी जोखिममा

२०७८ भदौ, १५  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

सुनसरी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत इटहरीको पश्चिमलाइनमा अवस्थित पेरिस होटल गत वर्षदेखि बन्द  छ । पहिलो चरणको कोरोनाबाट थला परेको होटल स्थानीय बैंकको कर्जा चुक्ता गर्न नसक्दा बन्द हुन पुगेको हो ।

त्यस्तै, इटहरी उपमहानगर– ६ बिपीचोकस्थित सगुन होटल यो वर्षको कोरोना संक्रमणका कारण बन्द भएको छ । लगानी उठाउनै मुस्किल परेपछि सगुन होटल पनि बन्द हुन पुगेको हो । यो वर्ष कोरोना संक्रमणकै कारण इटहरीमा साना–ठूला गरी ९ होटल बन्द भएका छन् । कोरोना महामारीबाट साना लगानीका होटल प्रभावित भएको होटल व्यवसाय संघ इटहरीले जनाएको छ ।

इटहरीमा गत वैशाखदेखि साउनसम्म ६ वटा साना र ३ ठूला गरी ९ वटा होटल बन्द भएको संघले बताएको छ । सरकारले जोखिमका बेला व्यवसायी हकहितका लागि लाभ हुने राहत प्याकेज ल्याउन नसकेपछि लाखाैं लगानी गरी खोलिएका होटल धमाधम बन्द हुने अवस्थामा पुगेको होटल व्यवसाय संघ इटहरीका उपाध्यक्ष प्रकाश महतो बताउँछन् ।

कोरोना महामारीले पिल्सिएका होटल व्यवसायीलाई सरकारले राहत दिन ठोस नीति ल्याउनुपर्ने महतोको माग छ । होटल व्यवसायसँगै पछिल्लो समय कोरोनाबाट प्रभावित बनेका पर्यटन व्यवसायीको पीडा पनि उस्तै छ । सरकारले कोरोना त्रास देखाउँदै अन्य क्षेत्रलाई खुला गरिरहँदा पर्यटनलाई सञ्चालनमा रोक लगाउँदै आएको छ । यसले पर्यटन व्यवसायीको करोडौं रुपैयाँको लगानी जोखिममा परेको छ ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षक प्याकेज अघि सारेर स्थापना भएका करोडाैं रुपैयाँ लगानीका पर्यटकीय क्षेत्र सिजनका बेला पनि सुनसान छन् । बजार, व्यवसाय खोल्न अनुमति दिएजस्तै पर्यटकीय क्षेत्रलाई पनि मापदण्ड तोकेर सञ्चालन गर्न दिनुपर्ने व्यवसायीको माग छ ।  करिब ३० करोड रुपैयाँ लगानीमा हालै स्थापना भएको इटहरी–२ स्थित इपिल्यान्ड एन्ड वाटरपार्क सञ्चालनमा आउन नपाउँदै कोरोनाको कहरमा परेपछि  लगानी जोखिममा परेको सञ्चालक भीम पौडेल बताउँछन् ।

नेपालकै नमुना पार्क भनेर स्थापना गरिए पनि सञ्चालन हुन नपाएपछि करोडौं रुपैयाँ डुब्ने अवस्था रहेको उनको गुनासो छ । अन्य व्यवसाय सुरु भइरहँदा पर्यटन क्षेत्र स्वास्थ्य मापदण्ड अपनाएर सञ्चालन गर्न पाउनुपर्ने पर्यटन व्यवसायी बताउँछन् । कोरोना रोकथाम तथा न्यूनीकरणका लागि प्रशासनले जारी गरेको निषेधाज्ञा खुकुलो हुँदै गए पनि पर्यटन क्षेत्रलाई अझै बन्दी बनाउँदा व्यवसायी मर्कामा परेको पर्यटनविद् तथा  होटल प्रिमियर एन्ड स्कुलका सञ्चालक सुनिल भुसाल बताउँछन् । सरकारले सबै नागरिकलाई खोपको ब्यवस्था गरी पर्यटन क्षेत्र सञ्चालनको अनुमति दिनुपर्ने अन्यथा मारमा परेका व्यवसायीलाई तत्काल राहत प्याकेज ल्याइनुपर्ने तालतलैया संरक्षण समितिका अध्यक्ष वीरबहादुर मगरले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)