ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सल्यानका सबै स्थानीय तहमा हेलिप्याड

२०७८ भदौ, १८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar बुद्धिमान पुन

सल्यान । ग्रामीण बस्तीको आपतकालीन अवस्थालाई सहज बनाउन सल्यानमा हेलिप्याड निर्माण थालिएको छ । जिल्लाका दस वटै स्थानीय तहलाई समेट्ने गरेर हेलिप्याड निर्माण गर्न थालिएको हो ।

०७६ सालदेखि जिल्लामा हेलिप्याड निर्माण सुरु भएको थियो । हालसम्म ७ वटा हेलिप्याड निर्माण गरिएको छ भने अन्य निर्माणको चरणमा छन् ।

जिल्लामा रहेका प्रत्येक गाउँपालिकामा एक/एक वटा र नगरपालिकामा दुई÷दुई वटाका दरले हेलिप्याड निर्माण गर्ने योजनाअनुसार धमाधम काम भइरहेको नेपाली सेनाको सबुज गण सिमखर्कले जनाएको छ ।

गणका गणपति प्रमुख सेनानी कञ्चन बस्नेतले स्थानीय तहको निर्माण सामग्री सहयोग र नेपाली सेनाको श्रमदानमा हेलिप्याड निर्माण भइरहेको जानकारी दिए ।

उनका अनुसार कपुरकोट गाउँपालिका, छत्रेश्वरी, दार्मा, शारदा नगरपालिका, वनगाड कुपिण्डे र बागचौर नगरपालिकामा हेलिप्याड निर्माण गरिएको छ ।

बाँकी स्थानीय तहमा पनि छिट्टै काम थालिने उनको भनाइ छ । ‘स्थानीय तहबीच मध्यभाग, बाटोको सुविधा, भौगोलिक बनाबटलगायत स्थलगत निरीक्षण गरेर १५ डायमिटरका हेलिप्याड निर्माण गरिएको छ,’ उनले भने ।

असोज समान्तसम्म जिल्लाका सबै स्थानीय तहमा हेलिप्याड निर्माण गरिसक्ने योजना रहेको उनले बताए । ‘०७६ सालदेखि नै हेलिप्याड निर्माणको सुरुआत गरेका हौं । पहिलो वर्ष ३ वटा हेलिप्याड निर्माण गर्न सफल भयौं । गत बर्ष कोरोनाका कारण काम गर्न सकिएन । यस वर्ष सबै सक्ने लक्ष्य छ,’ उनले भने ।

सेनाको ब्यारेक सिमखर्कमा नाइट भिजन हेलिप्याड निर्माण गरिएको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागार्इंले सडक मार्गको वैकल्पिक प्रयोगका लागि हेलिप्याड निर्माण गर्न थालिएको बताइन् । भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रका बस्तीमा आकस्मिक बिरामी, दुर्घटना, पहिरो, आगलागीको अवस्थामा तत्कालै पुगेर उद्दार तथा व्यवस्थापन सहज बनाउन हेलिप्याड निर्माण गरिएको उनको भनाइ छ ।

संकटका बेला उद्दारसँगै राहतका कार्यक्रम पनि सञ्चालन गर्न सहज हुने उनको विश्वास छ ।

‘जिल्लामा पहिले हेलिप्याड थिएन । अहिले स्थानीय तह र नेपाली सेनाको सहकार्यमा सबै स्थानीय तहमा हेलिप्याड निर्माण भइरहेको छ,’ उनले भनिन्, ‘जिल्लाका सबै स्थानीय तह सडक सञ्जालले जोडिए पनि जीर्ण सडकका कारण आइपर्न सक्ने आकस्मिक समस्या तत्कालै समाधानका लागि यसले मद्दत गर्नेछ ।’

विगतमा जिल्लामा हेलिप्याड नहुँदा जोखिम मोलेरै हेलिकप्टर अवतरण गराउनुपर्ने बाध्यता थियो । विपद्पूर्व प्रतिकार्य तयारीका लागि हेलिप्याड निर्माण गर्न थालेको स्थानीय तहहरूले बताएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)