ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सुर्खेतमा ३ करोडको लागतमा बीउ उद्योग स्थापना

कर्णालीमा निजी क्षेत्रको पहिलो बीउ उद्योग

२०७८ असोज, ८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

असोज ८, सुर्खेत । कर्णाली प्रदेशमै पहिलो पटक निजी क्षेत्रबाट बीउ उद्योग स्थापना गरिएको छ । शितल एग्रो विजनेश प्रालिले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश सरकारको आर्थिक सहयोगमा बीउ बिजन उद्योग स्थापना गरेको हो । 

पहिलो चरणमा करीब ३० लाख लागतमा शुरु गरिएको कर्णाली बीउ उद्योगमा ३० प्रकारका बीउ बिजन तयारी गरी बजारमा पठाइएको छ । करीब ३ करोड लागत लाग्ने कर्णाली बीउ उद्योगका लागि मुक्तिनाथ विकास बैंकले ४ प्रतिशत व्याजदरमा ऋण उपलब्ध गराउने सम्झौता भइसकेको शितल एग्रो विजनेश प्रालिका अध्यक्ष सूर्यनाथ योगीले बताए । 

उनले कर्णालीका विभिन्न जिल्लामा कृषि समूह, सहकारी तथा संस्थाद्वारा उत्पादित मूल बीउलाई संकलन गरि प्रशोधन गरेर आन्तरिक तथा अन्तररष्ट्रिय बजारमा पु¥याउन बीउ उद्योग स्थापना गरिएको जनाए । ‘कर्णालीमा उत्पादित बीउ विजनको माग देशमा होइन, विदेशमा समेत उच्च रहेको छ,’ उनले भने, ‘कर्णाली बीउ उद्योगमार्फत आन्तरिक मागलाई सम्बोधन गर्दै मुख्य लक्ष्य गुणस्तरीय बीउ बिजन विदेश निर्यात गर्नु नै हो ।’ 

उनले कर्णालीको बीउलाई बंगलादेशपछि भारतसँगै तेस्रो देशमा निर्यात गर्नु दीर्घकालिन लक्ष्य रहेको जनाए । उनका अनुसार स्थानीय स्तरमा खोलिएको कर्णाली बीउ उद्योगले रोजगारीसँगै कृषकको दिगो आम्दानीको मुख्य स्रोत बन्ने छ । पहिलो चरणमा कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय अन्तर्गत कृषि विकास निर्देशनालय मार्फत १४ लाख २५ हजारको आर्थिक सहयोगसँगै प्रालिको १५ लाख ४० हजार दुई रुपैयाँ खर्च भएको प्रालिका अर्का सञ्चालक डिल्लीप्रसाद पाण्डेले जनाए । उनका अनुसार विभिन्न जातका बीउ बिजन उत्पादसँगै जडिबुटी संकलन, प्रशोधन गर्ने उद्योगको रुपमा विकास गर्ने भावी योजना रहेको छ । 

यसैबीच बिहीवार कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद मिश्राले कर्णाली बीउ उद्योगको उद्घाटन गरेका छन् ।

उनले भौगोलिक तथा जैविक वातावरणका कारण कम उत्पादन भएपनि कणालीमा उत्पादित बीउको माग तथा मूल्य बजारमा अत्याधिक रहेको बताए । 

उनले गुणस्तरीय कायम राख्दै कर्णालीको बीउ बंगलादेश र भारतमा मात्र सीमित नराखेर तेस्रो मुलक निर्यातको आवश्यता रहेको औल्याए । उनले बीउ बिजन उत्पादनका क्षेत्रमा लगानी गर्न चाहने उद्यमीका लागि कर्णाली प्रदेश सरकारले ५ वर्षे लाभकारी योजना ल्याएको जानकारी दिए । उनका अनुसार कर्णालीमा उत्पादित बीउको गुणस्तर उच्च रहेकै कारणले भारतमा समेत माग रहेको बीउ उत्पादन वृद्धिमा सरकारले जोड दिएको छ । 

कृषि क्षेत्र विकास कार्यक्रम समन्वय कार्यालय सुर्खेतका प्रमुख भोजराज सापकोटाले बीउ बिजन उत्पादनका क्षेत्रमा संघीयतापछि तीन तहका सरकारी एजेन्सी बीच समन्वय नहुँदा केही समस्या देखिएपनि अब एकीकृत रुपमा अगाडी बढ्न आवश्यक रहेको औल्याए । उनले कर्णालीका दश ओटै जिल्लामा कृषिको प्रचुर सम्भावना रहेकाले बीउ बिजन उत्पादनमा निजी क्षेत्रको सहभागिता थप बढाउन आवश्यक रहेको जिकिर गरे । 

उनका अनुसार बीउ बिजन उत्पादनमा समूह, सहकारी तथा नीजि क्षेत्रसँग समन्वय तथा सहकार्य गरेर कृषि क्षेत्र विकास कार्यक्रम अघि बढ्न तयार छ । कार्यक्रममा कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर केसीले साना–साना उद्यमबाटै ठूलो उद्योग स्थापना हुने भएकाले निर्देशनालय कृषकसँगै कृषि क्षेत्रमा लगानी गर्न चाहने उत्साही उद्यमीसँग हातमालो गर्न तयार रहेको जनाए । 

उनले कर्णाली बीउ उद्योगले हाल सानो लागतबाट शुरु गरेपनि छिट्टै आवश्यकतामा आधारित ठूलो आकारको उद्योग सञ्चालन गर्ने अपेक्षा व्यक्त गरे । त्यस्तै सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले कणालीलाई अर्गानिक प्रदेश बनाउने कर्णाली सरकारको घोषणा अब कागजमा मात्र होइन, व्यवहारमा समेत कार्यान्वयन गर्ने बेला आएको जनाए । 

उनले अहिलेपनि कर्णाली कृषि तथा जडिबुटीका लागि भर्जिन क्षेत्र भएप्नि आधा बढी जनसंख्या आयातित खाद्यन्नको भरमा परनिर्भर रहेको बताए । ‘निजी क्षेत्र सरकारसँग कृषि, जडिबुटी, जंगल, खनिज र जल क्षेत्रमा सहकार्य र समन्वय गरेर समृद्धिका लागि अघि बढ्न चाहान्छ,’ उनले भने, ‘प्रदेश सरकारले निजी क्षेत्रलाई लगानी मैत्री वातावरण सृजना गरी सुरक्षाको सुनिश्चितता गरे प्रदेशको समृद्धिका लागि आइतवार कुर्नु पर्दैन ।’ उनले निजी क्षेत्र कर्णालीमा लगानी गर्न ईच्छुक रहेपनि राज्यले गर्नुपर्ने पूर्वाधार निर्माणका कामहरु पुरा नगर्दा जोखिम उच्च रहेको औल्याए । 

उनका अनुसार कर्णाली सरकारले न्यूनतम् पूर्वाधार निर्माणका कार्य गरी दिएमा देशी मात्र होइन, विदेशी लगानी कर्ता समेत कर्णालीमा लगानी गर्न ईच्छुक रहेका छन् । उद्योग उद्घाटन कार्यक्रममा कृषि, बैंक तथा वित्तीय क्षेत्रका जानकारहरुको सहभागिता रहेको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)