सुर्खेत (अस) । कर्णाली प्रदेश अस्पतालमा दरबन्दीभन्दा कर्मचारी कार्यरत रहेका छन् । ३ सय २५ जनाको दरबन्दी भएको अस्पतालमा करारसमेत १ सय ८८ जना कर्मचारी कार्यरत रहेका हुन् । हरेक वर्ष नयाँ विशेषज्ञ सेवा थप गर्दै आएको प्रदेश अस्पतालले मागबमोजिम डाक्टर र कर्मचारी अझै पाउन सकेको छैन । ‘डाक्टरको संख्या अहिले थप भएकै छ,’ अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. डम्बर खड्काले भने, ‘तर अन्य कर्मचारीको अभावले सेवा चुस्त बनाउन समस्या भइरहेको छ ।’
अस्पतालमा डाक्टरको संख्या पुग्दो भए पनि नर्स, प्यारामेडिक्स, ल्याब, क्लिनिङ, सवारी चालकलगायत अभाव हुँदा बिरामीको उपचारमा समस्या भएको उनले बताए । अहिले अस्पतालमा स्थायीतर्फ ७२, काजमा २ र करारमा १ सय १४ जना कार्यरत उनले जानकारी दिए । अस्पतालमा अहिले ६५ डाक्टर कार्यरत छन् । तर, उपसचिव र अधिकृत तहका दुई अस्पताल व्यवस्थापकको पदपूर्ति नहुँदा व्यवस्थापनमा समस्या भइरहेको छ । ३१ स्टाफ नर्सको पदपूर्ति हुन नसकेको अस्पतालले जनाएको छ । अहिले अस्पतालमा कार्यरत ८१ मध्ये ५५ नर्स करारमा छन् ।
डा. खड्काका अनुसार ११ मेडिकल अधिकृत, ३ जना डेन्टल हाइजिनिस्ट, ३ जना एन्थेसियोलोजिस्ट, २ जना कन्सल्टेन्ट अब्सट्रेसियन एन्ड गाइनोकोलोजिस्ट, २ जना कन्सल्टेन्ट जनरल सर्जन, २० जना कार्यालय सहयोगीलगायत १ सय ३७ जनाको पद अझै रिक्त छ । अस्पतालले हिस्टो प्याथोलोजी (बिरामीको शरीरको अंग जाँच गरी रोग पहिचान), डर्मेटोलोजी (छालासम्बन्धी उपचार), स्पाइन सर्जरी (मेरुदण्ड भाँचिएको उपचार), न्युरो सर्जरी (टाउकोको अप्रेसन), डायलासिस सेवालगायत जटिल प्रकारका उपचार प्रवाह गरिरहेको छ । मागअनुसारको बजेट समयमै नपाउँदा पनि धेरै सेवा तत्काल सुरु गर्न नसकिएको खड्काले बताए । उनका अनुसार अस्पतालले विभिन्न विशेषज्ञ सेवा सुरु गर्न करिब ६६ करोड रुपैयाँ बजेट मागेको छ । एमआरआई मेसिन खरिद गर्न १८ करोड, मुटु रोगीको शल्यक्रियाका लागि क्याथ ल्याब निर्माण गर्न ८ करोड र क्यान्सरका बिरामीको उपचारका लागि सेटअप बनाउन ४० करोड रुपैयाँ बजेट लाग्ने उनले जानकारी दिए ।