वीरेन्द्रनगर (अस) । जनशक्ति अभावका कारण सुर्खेतको लेकवेशी नगरपालिकाको सेवा प्रवाहमा समस्या छ । नगरपालिकामा दरबन्दी अनुसारका प्राविधिक कर्मचारी छैनन् । पालिकामा कृषि प्राविधिकको संख्या न्यून हुँदा सेवा प्रभावित भएको हो ।
१० ओटा वडा रहेको नगरपालिकाको कृषि शाखामा चार कर्मचारी मात्र कार्यरत छन् । दुई जना पाँचौं र दुई जना चौथो तहका प्राविधिकले कृषिसम्बन्धी सबैखाले सेवा दिनुपर्ने अवस्था छ । सबै वडामा प्राविधिक नभएपछि कृषि सेवा पाउनै मुश्किल हुने गरेको स्थानीयको गुनासो छ । आफूहरूले लगाएका तरकारी, फलपूmललगायत बालीमा विभिन्न रोग, कीराको प्रकोप हुँदा पनि प्राविधिक परामर्श नपाइने गरेको कृषकहरू बताउँछन् ।
नगरको कृषि शाखामा कार्यरत विजय खड्काले प्राविधिक कर्मचारीको अभावमा सेवा प्रवाह चुनौतीपूर्ण भएको बताए । ‘एक जना कर्मचारीले दुईभन्दा बढी वडा हेर्नुपर्दा कठिनाइ भइरहेको छ,’ उनले भने । कृषि शाखाको प्रमुख पद समेत रिक्त छ । माथिल्लो तहका कर्मचारी नहुँदा सो शाखा प्रमुखविहीन भएको हो ।