असोज १७, सुर्खेत । सुर्खेतका होटल तथा रेष्टुरेन्टको वर्गीकरण गरी खाद्य स्वच्छता र स्तरोन्नतिका लागि स्टिकर टाँस्ने अभियान शुरु गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य स्वच्छताका आधारमा जिल्ला सदरमुकाम वीरेन्द्रनगरका होटल तथा रेष्टुरेन्टको वर्गीकरण गरी स्टिकर टाँस्ने कार्य शुरु गरेको हो ।
जिल्लामा रहेका ठूला, साना होटल तथा रेष्टुरेन्टको वर्गीकरण गरी स्तरीकरण मूल्यांकन सूचकांकको कामलाई अघि बढाइएको छ । खाद्य स्वच्छताका आधारमा होटल तथा रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ मा अतिउत्तम, उत्तम, सन्तोषजनक र सामान्य गरी चार भागमा विभाजन गरिएको छ ।
९० अंकभन्दा माथि ल्याउने होटल ‘क’ वर्गमा, ८० देखि ८९ अंक ल्याउने होटल ‘ख’ वर्गमा, ६५ देखि ७९ अंक प्राप्त गर्ने होटल ‘ग’ वर्गमा र ५० देखि ६४ नम्बर प्राप्त गर्ने होटल तथा रेष्टुरेन्ट ‘घ’ वर्गमा समावेश हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले बताए ।
होटल तथा रेष्टुरेन्टको बाहिरी तथा भित्री भागको सफाई, प्रयोग गरिने खाद्य वस्तु, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषाक्त भएका खानेकुराको व्यवस्थापनलगायतका ५० ओटा मापदण्डमा होटलको मूल्यांकन गरिएको छ ।
अभियानको पहिलो दिन सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको नेतृत्वमा चार ओटा होटल तथा रेष्टुरेन्टको स्तरीकरण गरिएको छ । प्रजिअ रिजालले होटल नमस्ते नेपालद्वारा सञ्चालित जियाना रेष्टुरेन्टमा खाद्य स्वच्छता मूल्यांकन सूचकांकका आधारमा हरियो लोगो (स्ट्रिकर) टाँसेर अभियानको शुभारम्भ गरेका हुन् । उनले होटल तथा रेष्टुरेन्ट व्यवसायीलाई अझैपनि कोरोना महामारीको जोखिम कायमै रहेकाले स्वास्थ्य सर्तकता अपनाउन सुझाव दिए । अझैपनि केही सुधार गर्नुपर्ने सुझाव दिँदै होटल भ्याली भ्यूले हरियो लोगोसहित उत्तम स्थान पाएको डिभिजन प्रमुख थापाले बताए ।
‘शनिवार डीएफसी होटलले सन्तोषजनक (मध्यम) स्थान, होटल नाम्लोले सामान्य स्थान पाएर पहेंलो लोगो पाएको छ भने होटल बुलबुले भ्यूले एक स्थान घटुवा भएर पहेंलो लोगो पाएको छ,’ उनले भने, ‘होटल अशोका, होटल नमूना खाद्य स्वच्छताको न्यूनतम् मापदण्ड समेत पालना नगरेको पाईएपछि उनीहरु स्तरीकरण भित्र नै पर्न सकेनन् ।’ उनले स्तरीकरण भित्र पर्न नसकेका होटल तथा रेन्टुरेन्टले खाद्य स्वच्छतामा धेरै सुधार गर्नुपर्ने देखिएको जनाए ।
के हो स्तरीकरण ?
होटल रेष्टुरेन्ट स्तरीकरण गर्नेसम्बन्धी निर्देशिका २०७४ बमोजिम खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले होटल तथा रेष्टुरेन्टको वर्गीकरण गर्ने गर्दछ । कार्यालयले पहिलो चरणमा वीरेन्द्रनगरमा सञ्चालित होटल तथा रेष्टुरेन्टको स्तरीकरण गरि स्टिकर टाँस्ने अभियान शुरु गरेको हो ।
होटल तथा रेष्टुरेन्टको बाहिरी परिधिको सरसफाइको अवस्था, भुइँ, भित्ता र सिलिङको स्थिति, खाद्यवस्तुको सम्पर्कमा आउने स्थलको अवस्था, सरसफाइ गर्न प्रयोगमा ल्याइने रसायन तथा विषादी प्रयोग र भण्डारण तथा ढल निकासको व्यवस्थित प्रणाली लगायतलाई मूल्यांकनको आधार बनाइको छ ।
वर्गीकरणका लागि निर्देशिकामा उल्लेख गरिएका ५० प्रश्नको उत्तर दिने क्रममा सबैभन्दा बढी अंक ल्याउने व्यवसायलाई अति उत्तम, त्यसपछि उत्तम, मध्यम (सन्तोषजनक) र सामान्य श्रेणीको प्रमाणपत्रको लोगो दिइन्छ । अति उत्तम श्रेणीको होटल–रेष्टुरेन्टले तीन तारा र (क) सहित अतिउत्तम लेखिएको हरियो स्टिकर पाउने गरेका छन् । यो लोगोे पाउन होटल रेष्टुरेन्टले तोकिएको मापदण्ड बमोजिम ९० भन्दा बढी अंक प्राप्त गर्नुपर्छ । त्यस्तै उत्तम श्रेणीको खाद्य व्यवसायले दुई तारा र (ख) सहित उत्तम लेखिएको हरियो स्टिकर पाउनेछन् ।
यस्तो लोगोे पाउन ८० भन्दामाथि ८९ सम्म अंक प्राप्त गर्नुपर्ने हुन्छ । यसैगरी मध्यम श्रेणी (सन्तोषजनक) को लोगो पाउन ६५ देखि ७९ बीचको अंक प्राप्त गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । यस्तो लोगो पाउने होटल रेष्टुरेन्टले एउटा तारा र (ग) सहित सन्तोषजनक लेखिएको हरियो स्टिकर पाउनेछन् । सामान्य श्रेणीको लोगोमा (घ) सहित सामान्य लेखेको स्टिकर उल्लेख हुनेछ । यो श्रेणीको लोगो पाउन ५० देखि ६० बीचको अंक प्राप्त गर्नुपर्ने व्यवस्था छ ।
त्यस्तै, पानी आपूर्तिका पाइप तथा अन्य प्रयोगका पाइपको अवस्था, खाना बनाउने, खाना खुवाउने तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको स्थिति, प्राकृतिक र यान्त्रिक भेन्टिलेसन, भाँडाकुँडाको व्यवस्थापन, सरसफाइ प्रयोजनका लागि पर्याप्त पानीको आपूर्ति, पिउने प्रयोजनका लागि प्रशोधित तथा पिउनयोग्य पानीको व्यवस्थालगायत पनि मूल्यांकन मापदण्डमा उल्लेख छ ।
होटलको दर्ता प्रक्रिया, सरसफाई, होटल र बाटोको दूरी, काम गर्ने कुक, वेटरको तालिम तथा सरसफाई जस्ता विषयहरु समेत स्तरीकरणमा समावेश गरिएका छन् । सुर्खेतमा हालसम्म रातो स्टिकर भने कसैले पाएका छैनन् । रातो स्टिकर पाउने होटलहरुलाई सुधार गर्ने निश्चित समय दिने यदि त्यो समय भित्र सुधार नगरेको खण्डमा होटल बन्द गर्न सकिने कानूनी व्यवस्था रहेको छ ।