सुर्खेत । वीरेन्द्रनगर नगरपालिकाको उत्तरपश्चिमी क्षेत्र तारेभिरमा फोहोर व्यवस्थापन गर्न प्रशोधन केन्द्र निर्माण गरिएको छ । नगर क्षेत्रबाट संकलित लेदो फोहोरबाट प्रांगारिक मल उत्पादन गर्ने उद्देश्यले प्रशोधन केन्द्र निर्माण गरिएको हो । प्रदेश राजधानीसमेत रहेको वीरेन्द्रनगरमा प्रशोधन केन्द्र नहुँदा सेप्टिक ट्यांकीबाट निस्कने फोहोर व्यवस्थापन चुनौती बनेको थियो ।
दातृ संस्था एसएनभीले लेदो प्रशोधन केन्द्रको निर्माण तथा परीक्षण सम्पन्न गरेको हो । एसएनभी नेपालले सफल परीक्षणपश्चात् प्रशोधन केन्द्र सञ्चालनका लागि नगरपालिकालाई हस्तान्तरण गरेको छ । सन् २०१६ मा नगरपालिकाले एसएनभी नेपालको समन्वयमा सरसफाइ गुरुयोजना बनाएपछि प्रशोधन केन्द्रको निर्माण शुरू गरिएको थियो ।
वीरेन्द्रनगर–१ को कृष्ण सामुदायिक वन क्षेत्रस्थित ल्यान्डफिल साइटमा १ करोड ९७ लाख लागतमा प्रशोधन केन्द्र निर्माण भएको नगरपालिकाले बताएको छ । नगरपालिकाका अनुसार प्रशोधन केन्द्रबाट मिश्रित प्रांगारिक मल उत्पादन गरिनेछ भने नकुहिने फोहोरलाई नजिकैको ल्यान्डफिल साइटमा व्यवस्थापन गरिनेछ ।
काठमाडौंको नेपाल आदर्श निर्माण कम्पनी र सुर्खेतको दीपमाला इञ्जीनियरिङ कम्पनीले प्रशोधन केन्द्र निर्माणको जिम्मेवारी पाएका थिए । केन्द्रको प्रशोधन क्षमता प्रतिदिन १० घनमिटर रहेको छ भने दैनिक ५० घनमिटर दिसाजन्य लेदो र २ दशमलव ५ मेट्रिक टन ठोस फोहोर प्रशोधन गर्नेछ । एसएनभी नेपालका सुशासन सल्लाहकार मनिमा बुढाथोकीले प्रशोधन केन्द्र निर्माण वीरेन्द्रनगरको सरसफाइका क्षेत्रमा महŒवपूर्ण उपलब्धि भएको बताइन् । रासस