डोल्पा । डोल्पाको स्याउ बजारीकरणको अभावमा खेर जाने गरेको छ । यहाँ स्याउ राम्रो उत्पादन हुने भए पनि शीतभण्डार तथा बजारीकरणको अभावमा यसै खेर जाने गरेकाले कृषक मारमा परेका छन् । जति मेहनत गरी उत्पादन गरे पनि स्याउबाट उचित आम्दानी लिन नसकिएको गुनासो उनीहरूको छ ।
उपल्लो डोल्पाका तीन पालिकाबाहेक अन्य सबै ठाउँमा स्याउ उत्पादन हुने गर्दछ । यी स्थानमा ठूलो मात्रामा स्याउ उत्पादन भए पनि बजारीकरणका लागि ढुवानीको समस्याले स्याउ खेर गएको कृषि विकास कार्यालय डोल्पाका प्रमुख शरद लामाले बताए । स्याउ सबैभन्दा बढी त्रिपुरासुन्दरी नगरपालिका–३ र ४ मा पाइने प्रमुख लामाले जानकारी दिए ।
डोल्पाको जुफाल विमानस्थलबाट ढुवानी गर्न मुस्किल हुने र सडकमार्गबाट बजारसम्म लैजान भेरी नदीमा पुल नहुँदा समस्या पर्दै आएको किसानको गुनासो छ । जिल्लाको मुख्य ठाउँमा शीतभण्डार भएमा स्याउको सही व्यवस्थापन गरी बजारसम्म लैजान सहज हुने उनको भनाइ छ । अघिल्लो आर्थिक वर्षमा ६ ओटा ‘कोल्डस्टोर’ दिइएको भए पनि चारओटा मात्र मुश्किलले प्रयोगमा आएका थिए । अन्य दुईओटा प्रयोगमै ल्याउन नसकिएको उनले बताए । स्याउ भण्डारण गर्न सजिलो होस् भनेर कार्टोन (बाकस)समेत अनुदानमा दिए पनि त्यो प्रभावकारी नभएको पाइएको छ । अहिले कृषि विकास कार्यालयमा एकमात्र शीतभण्डारका लागि बजेट आएको तर माग भने धेरै आएको उनले बताए । रासस