सुर्खेत (अस) । कर्णाली प्रदेश सरकारले बाढी, पहिरोबाट मृत्यु भएकालाई २ लाख रुपैयाँ दिने घोषणा गरेको छ । प्रदेश सरकारको शुक्रवार बसेको विपद् व्यवस्थापन परिषद्को बैठकले बाढी, पहिरो लगायतका विपद्मा परेर मृत्यु भएका परिवारका सदस्यलाई दुर्घटना बीमाबापत २ लाख रुपैयाँ दिने घोषणा गरेको हो ।
बेमौसमी वर्षासँगै आएको बाढीपहिरोबाट कर्णालीमा आठजनाको मृत्यु हुनुका साथै चारजना घाइते भएका थिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले सामूहिक विपद् दुर्घटना बीमा अन्तर्गत राहत रकम उपलब्ध गराउने निर्णय भएको हो । बैठकमा मुख्यमन्त्री शाहीले अप्रत्यासित वर्षात्बाट अवरुद्ध भएका सडक, सिँचाइ, खानेपानी र विद्युत् पूर्वाधारको मर्मतसम्भार गरी तत्काल सञ्चालन गर्ने निर्णय गरिएको बताए । पूर्णरूपमा क्षति भएका घरहरूको विवरण संकलन गरी संघीय सरकारसँग समन्वय गरी पुनर्निर्माण तथा पुनःस्थापना गरिने बताए ।
प्रदेशका प्रमुख सचिव राजकुमार श्रेष्ठले बैठकमा कृषकलाई अन्नबालीको क्षतिपूर्ति व्यवस्था गर्ने निर्णय भएको जानकारी दिए । बेमौसमी वर्षात्बाट अन्नबालीमा भएको क्षतिको यकिन विवरण संकलन गरी कृषकलाई क्षतिपूर्तिको व्यवस्थापन गर्ने निर्णय भएको उनले बताए । उनका अनुसार विपद्मा परेर घाइते भएकाहरूको उपचार खर्च प्रदेश सरकारले बेहोर्ने व्यवस्था मिलाउने निर्णय भएको छ ।