ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीपी प्रतिष्ठान जाने सडकमा खाल्डाखुल्डी

बिरामी नै दुर्घटनाको जोखिममा

२०७८ कार्तिक, ८  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान जाने मुख्य सडकमा भएका खाल्डाखुल्डीले एम्बुलेन्स नै दुर्घटनाको जोखिममा परेका छन् । धरान उपमहानगरपालिका–८ भोटेपुलबाट प्रतिष्ठान पुग्ने करीब २ किलोमिटर सडकमा बनेका खाल्डाखुल्डीले दुर्घटनाको जोखिम बढाएको छ नै, दैनिक सयौंको संख्यामा अन्य सवारीसाधन समेत चलिरहँदा एम्बुलेन्सलाई सयममै बिरामीलाई अस्पतालसम्म पु¥याउन समेत कठिन हुने गरेको छ ।

अस्पताल पुग्ने प्रमुख रूट भएकाले लोकल सिटी सफारी, टेम्पो, मोटरसाइकल अत्यधिक कुद्ने गरेका छन् । खाल्डाखुल्डीकै बीच सवारीसाधन चलाउनुपर्दा दुर्घटनाको सम्भावना बढेकोे एम्बुलेन्स चालक मिलन राई बताउँछन् ।

बिरामी बोकेर हिँड्नुपर्ने व्यस्त सडकमा खाल्डाखुल्डी हुनु बिरामीसहित यात्रुका लागि समेत जोखिम भएको अर्का एम्बुलेन्स चालक श्याम गुरुङ बताउँछन् । ‘प्रतिष्ठान छिर्ने सडक जीर्ण हुँदा बिरामीले अत्यन्तै कष्ट भोग्नुपर्ने बाध्यता छ,’ उनले भने ।

प्रतिष्ठान जाने सडकमा खाल्डाखुल्डी परेको करीब ३ महीनाभन्दा बढी भइसकेको छ । दैनिक सयौंको संख्यामा बिरामी लिएर हिँड्ने सडकमै दुर्घटना गराउन सक्ने खाल्डाखुल्डी हुँदा पनि स्थानीय सरकारले चासो नदिएको गुनासो स्थानीयको छ । ‘खाल्डाखुल्डी छ भन्ने थाहा हुँदाहँुदै पनि कहिलेकाहीँ त बिर्सिइँदो रहेछ, मोटरसाइकल खाल्डामा परेपछि मात्र थाहा हुन्छ,’ स्थानीय हेमराज भुजेलले भने, ‘बिरामी लिएर साइरन बजाउँदै आएको एम्बुलेन्सलाई साइड दिने ठाउँ समेत हुँदैन ।’

सडक मर्मत सुधारमा स्थानीय सरकारले चासो नदेखाएपछि अहिले सामाजिक सञ्जालहरूमा पनि आलोचना हुन थालेको छ । प्रतिष्ठानकै प्रशासन शाखामा कार्यरत कर्मचारी महेश्वर राईले खाल्डाखुल्डीको फोटो पोस्ट गर्दै सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।

३ महीनाअघि स्थानीयले प्रतिष्ठान जाने सडकको खाल्डाखुल्डी  पुर्न ध्यानाकर्षण गराउँदै धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईलाई ज्ञापनपत्र बुझाएका थिए । चौतर्फी विरोध हुन थालेपछि उपमहानगरपालिकाले खाल्डाखुल्डी पुर्ने काम ग¥यो । तर केही दिन नबित्दै सडकमा पुनः खाल्डाखुल्डी परेका छन् ।

सडक निर्माणको दायित्व सडक डिभिजन कार्यालयको भन्दै उपमहानगरपालिका र बीपी प्रतिष्ठान पन्छिने गरेका छन् । तर सडक डिभिजनले चासो नदिनु र स्थानीय सरकारले पनि ‘झारो टार्ने’ काम मात्र गरेकाले समस्या समाधान नभएको स्थानीय बताउँछन् ।

राष्ट्रिय राजमार्ग अन्तर्गत सडक पर्ने भएकाले बेरुजू हुने डरले बजेट विनियोजन नगरिएको धरान उपमहानगरपालिकाको भनाइ छ । उपमहानगरका अनुसार यो सडक निर्माणको जिम्मा सडक डिभिजन कार्यालयको हो । तर सम्बन्धित पक्षले ध्यान नपुर्‍याउँदा दिनप्रतिदिन जोखिम बढ्दै गएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)