ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

धरानको सेउती खोलामा पक्की पुल निर्माण

२०७८ कार्तिक, २६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । पर्याप्त बजेट नहुँदा ढिलाइ भएको धरानको वडा नं १५ र वडा नं ४ जोड्ने पक्की पुल निर्माण ६ वर्षपछि सम्पन्न भएको छ । ग्रामीण क्षेत्रलाई धरान बजारसँग जोड्न २०७२ सालमा पुल निर्माण शुरू भएको थियो । तत्कालीन निर्वाचन क्षेत्र विकास कोषबाट विनियोजित बजेट र स्थानीय उपभोक्ताको ३० प्रतिशत लागत साझेदारीमा पुल निर्माण थालिएको थियो । तर पर्याप्त बजेट नहुँदा पुल निर्माण सम्पन्न हुन लामो समय लागेको हो ।

१० वर्षअघि स्थानीयले काठे पुल बनाएका थिए । उक्त पुल सेउती खोलाको बाढीले बगाएपछि पक्की पुल निर्माण थालिएको थियो । राष्ट्रिय योजनामा समावेश गर्ने प्रतिबद्धतासहित तत्कालीन सांसद मीन विश्वकर्माले ३० लाख रुपैयाँ बजेट विनियोजन गराइदिएपछि काम शुरू भएको थियो । तर राष्ट्रिय योजनामा नपरेपछि तीनओटा पिलर मात्रै ३ वर्षसम्म ठडिएको थियो ।

निर्माण समितिका सचिव तथा वडा नं ४ का वडा सदस्य धनबहादुर कुलुङका अनुसार शुरुआती ३ वर्ष जनसहभागिताबाट १५ लाख ४० हजारसहित उपभोक्ता समितिमार्फत ९७ लाख रुपैयाँ खर्च भएको थियो । त्यसमध्ये निर्वाचन क्षेत्र विकास कोषबाट सांसद विश्वकर्माले दुईपटक गरी ४७ लाख र सांसद कृष्णकुमार राईले ३० लाख उपलब्ध गराएका थिए । यो बजेटले तीनओटा पिलर ठडिएपछि बजेट अभावले निर्माण प्रभावित भएको थियो । पुल निर्माण सम्पन्न गर्न ३ करोड ३३ लाख खर्च भएको समितिका सचिव कुलुङले जानकारी दिए ।

सभामुख प्रदीपकुमार भण्डारी, सांसद जयकुमार राई, कार्यवाहक मेयर हुँदा उपमेयर मञ्जु भण्डारी सुवेदीको पहलमा बजेट विनियोजन भएर पुल निर्माण गरिएको सचिव कुलुङले बताए । उनका अनुसार संघीय सरकारको भौतिक पूर्वाधार मन्त्रालयबाट २ करोड ३६ लाखको ठेक्कामार्फत स्ल्याब, साइड वाल, बिम लगायतको निर्माण भएको छ । मन्त्रालयले उपमहानगरपालिकालाई अख्तियारी दिएपछि टेण्डर गर्दा खाम्पासे निर्माण सेवाले पाएको थियो । पुल निर्माणको सुपरीवेक्षण इटहरीस्थित एलआरडीपीले गरेको थियो ।

पुल तयार भएर हाल यातायातका साधन चल्न थालेका छन् । तर, औपचारिक उद्घाटन गर्न बाँकी रहेको पुल निर्माण समितिका सचिव कुलुङले बताए । पुल बनेपछि खैरेनीटार, वसन्तटार, दानाबारी, देवी गाउँ, हर्दियालगायत धनकुटा क्षेत्रका बासिन्दालाई धरान बजार आउजाउ गर्न सहज भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)