कात्तिक २६, रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ छिर्ने र कोइरालखर्क जोड्ने लुङ्ग्री खोलामा पक्की पुल निर्माण भएको छ ।
सडक पूर्वाधार विकास कार्यालय रोल्पा मार्फत पुल बनेपछि गत १० वर्षदेखि पक्की पुलको माग गर्दै आएको स्थानीयको माग सम्बोधन भएको हो । गत दुईवर्ष अघिदेखि शुरु भएको लुङ्ग्री खोला पुलको गत असारमा निर्माण सम्पन्न भएको हो ।
कुल ६ करोड ६३ लाख २९ हजार लागत रहेको यो पुलको लम्बाई ५२ मिटर र चौडाई ८ मिटर रहेको छ । पुल निर्माणको जिम्मा २०७६ भदौमा एशियाटिक राजविर आँशु जेभीले पाएको थियो । सम्झौता बमोजिम गत भदौमा सम्पन्न गर्नुपर्ने पुल निर्माणको काम २ महीना अघि नै सम्पन्न भएको थियो ।
पुलको सोमवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले उद्घाटन गरे । पुल उद्घाटन गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको सहयोगमा योसँगै रोल्पामा ८ ओटा अन्य सडक पुल निर्माण भइरहेको बताए । ‘भर्खरै मात्र नयाँ सरकार बनेका छ’ मुख्यमन्त्री केसीले भने ‘अब यो सरकारको ध्यान आत्मनिर्भर प्रदेश बनाउने हो ।’
छिर्ने–कोइरालखर्क हुँदै प्यूठान जोड्ने यो सडकमा पुल बनेपछि यहाँका स्थानीयलाई आवत–जावत गर्न सहज भएको छ । यसअघि ६ महीना मात्र गाडी चल्ने भएकाले जेठमै ६ महीना पुग्न खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता हटेको स्थानीय देबकुमार विश्वकर्माले बताए । ‘अहिले १२ महीना वारपार गर्न सजिलो भएको छ’ विश्वकर्माले भने ‘बिरामी हुँदा पनि र खाद्यान्न ढुवानीमा पनि सुविधा भएको छ ।’ २०६८ सालमा स्थानीयले आफै रकम संकलन गरी यो सडकको निर्माण शुरु गरेका थिए ।
सडक निर्माण भएपनि पक्की पुल नहुँदा वर्षाैसम्म सास्ती भोग्दै आएका स्थानीयलाई अब भने राहत हुने सुनिलस्मृति गाउँपालिका–४ का वडाध्यक्ष गञ्ज क्षेत्रीको भनाइ छ ।