काठमाडौं । उत्तर–दक्षिण कोरिडोर अन्तर्गतको कर्णाली कोरिडोरमा चालू आवमा पाँच पुल निर्माणका लागि ठेक्का प्रक्रिया हुने भएको छ । हालसम्म एउटा मात्रै पुल निर्माणका लागि प्रक्रिया अघि बढाइएकोमा चालू आवमा पाँच पुल ठेक्का गरिने कर्णाली कोरिडोर हिल्सा–सिमकोट सडक योजनाले बताएको छ ।
हिल्सा सरिसल्ला खण्ड अन्तर्गत हाल चार पुल निर्माणको क्रममा रहेको योजनाका प्रमुख बिसुनदास लामाले बताए । पहिलो चरणमा हेप्का, ताग्रु, सल्ली, यङ्गार पुल निर्माण गर्न लागिएको हो । ‘यी पुल बनेपछि पनि स्थानीयवासीलाई आवतजावतमा सजिलो हुनेछ,’ उनले भने । यसअघि नै खार्पुनाथमा पक्की पुल र छारे लेप्चेमा दुई बेलिब्रिज राख्न ठेक्का भई सम्झौता भइसकेको छ । तत्काल पुल आवश्यक भएकामा बेलिब्रिज राखिने भए पनि कर्णाली नदीको वहाब कम नभएसम्म राख्न नसकिने प्रमुख लामाले बताए ।
नदीको सतह घट्नासाथ मङ्सिरको पहिलो सातासम्म बेलिब्रिज निर्माणस्थलमा पु¥याउने लक्ष्य लिइएको छ । कोरिडोरमा निर्माण गर्नुपर्ने स्याम्ने, लाली, सुनाखडा, गोठी, न्यासी र सरिसल्ला पुलका लागि समेत बजेट विनियोजन भइसकेको छ । सो पुलको ‘डिजाइन एण्ड बिल्ड’ विधिबाट मङ्सिरको अन्तिमसम्ममा ठेक्का गर्ने तयारी भइरहेको छ ।
सरिसल्लाको कर्णाली नदीमा पक्की पुल नबनेसम्म फेरी (गाडी वारपार गर्ने डुंगा) समेत राखेर यातायात सञ्चालन गरिने प्रमुख लामाले बताए । राष्ट्रिय गौरवको कर्णाली कोरिडोरको निर्माण सम्पन्न हुने क्रममा हुँदा पुल निर्माण पनि अघि बढाउन लागिएको हो ।
कुल १४५ किमी लम्बाइको कोरिडोर हाल १० किमी मात्रै ट्र्याक खोल्न बाँकी छ । हिमाली जिल्ला भएकाले हिउँदमा काम गर्न कठीन भएको योजनाले बताएको छ । रासस