सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा एक अर्ब ५९ करोड ४७ लाख रुपैयाँ लगानीमा रंगशाला निर्माण शुरू गरिएको छ । प्रदेश सरकारको लगानीमा सो रंगशाला निर्माण शुरू भएको हो । रंगशाला निर्माणार्थ मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतवार मुख्यमन्त्री जीवनबहादुुर शाहीका उपस्थितिमा कर्णाली प्रदेश खेलकुद परिषद् र निर्माणको जिम्मा लिएको कम्पनी एमएसी÷जीएसएल जोइन्ट भेन्चुर कान्तिपथ काठमाडौंबीच आइतवार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सो अवसरमा मुख्यमन्त्री शाहीले मुलुक विकासको मेरुदण्डका रूपमा कार्यरत प्राविधिक जनशक्तिले यसको निर्माणार्थ अहोरात्र खट्न आग्रह गरे । ‘हरेक ठूला आयोजना संघ सरकारबाट हुँदै आएका छन्,’ तर यतिबेला कर्णाली प्रदेश सरकारले पहिलो प्रदेश गौरवको आयोजनाका रूपमा ठूलो लगानी गरेर रंगशाला निर्माणको कार्यलाई अघि बढाएको छ,’ उनले भने, ‘यसको निर्माणको जिम्मा लिएको कम्पनीले तोकिएको मितिभन्दा अगावै सक्नेगरी दिनरात खटिएर काम गर्न अनुरोध गर्दछु ।’ प्राकृतिक रूपले सम्पन्न कर्णालीको विकासमा दत्तचित्त भएर लाग्न निर्माण व्यवसायी लगायत राष्ट्रसेवक सम्पूर्ण कर्मचारीलाई उनले सुझाए ।
कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले ईपीसी डिजाइन एण्ड बिल्डअनुसार सम्झौता भएको रंगशालाको निर्माण फिफा स्ट्यान्डर्डमा हुने जानकारी दिए । ‘हामीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना गर्ने उद्देश्यले निर्माणको काम आइतवारदेखि लागू हुनेगरी सम्झौता गरेका छौं,’ उनले भने, ‘दश हजार दर्शक अट्ने क्षमताको प्यारापिटसहितको रंगशालाको निर्माण ३० महीनामा सम्पन्न हुनेछ ।’
प्रदेश सरकारअन्तर्गत पहिलो अन्तरराष्ट्रिय बोलपत्र आह्वान गत असार ३१ गते भई ६ बोलपत्रदाताको सहभागितामा गत २१ गते खोलिएको उनले जानकारी दिए । नेपाली र भारतीय निर्माण व्यवसायीको साझेदारीमा सञ्चालित एमएसी÷जीएसएल जोइन्टर भेन्चुरका आधिकारिक प्रतिनिधि अनुप आचार्यले नमूना र गुणस्तरयुक्त रंगशाला निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
रंगशालामा भूकम्प प्रतिरोधी प्यारापिट बन्नेछ । भीआईपी प्यारोफिट, मिडिया रूम, रेफ्री, चेन्जिङ र रिफ्रेस रूम, मेडिकल रूम, फिजियोथेरापी, भीआईपी वेटिङ रूमका साथै अण्डरग्राउण्ड पार्किङ निर्माण गर्नेगरी रंगशालाको डिजाइन गरिएको परिषद्का सदस्य सचिव सञ्ज्यालले बताए । उनका अनुसार टीभी लाइभ ब्रोडकास्ट प्लेटफर्म, रंगशालाभित्रै ओलम्पिक टर्च स्ट्यान्ड र फिफा मापदण्डकै स्वीमिङ पुल पनि निर्माण हुनेछ । यसभित्र एक हजार ५०० दर्शक अट्ने बहुउद्देश्यीय कभर्डहल, भलिबल, ह्याण्डबल लगायत खेल खेल्न मिल्नेछन् ।