मंसिर २०, रोल्पा । रोल्पाका खोलामा पक्की पुल नहुँदा आवतजावतमा सास्ती भोग्दै आएका ग्रामीण क्षेत्रका जनताको सुविधाका लागि एकैपटक विभिन्न स्थानमा पक्की पुल निर्माण शुरु भएकोे छ ।
खहरे खोला रहेका यहाँका भित्री सडकमा समेत बाह्रै महीना सवारी साधन सञ्चालन गर्न विभिन्न १४ ओटा खोलामा पक्की पुल निर्माण गर्न थालिएको हो । संघ र प्रदेश सरकारको लागतमा निर्माण गर्न थालिएका पक्की पुल निर्माणसँगै जिल्लाका भित्री सडक सञ्चालनमा सहज हुने देखिएको छ ।
लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयबाट गत वर्ष जिल्लाका विभिन्न आठ स्थानमा पुल निर्माणको योजना स्वीकृत भएको थियो । अघिल्लो वर्ष स्वीकृत योजनामध्ये दुई ओटा निर्माण सम्पन्न भई उद्घाटनसमेत भइसकेका छन् भने बाँकी छ ओटा निर्माणको चरणमा छन् ।
चालू आर्थिक वर्षमा संघीय सरकारबाट एक र लुम्बिनी प्रदेश सरकारबाट पाँचसमेत थप ६ ओटा पक्की पुल स्वीकृत भएका छन् । चालू आव र अघिल्लो आवसमेत गरी जिल्लामा १४ ओटामध्ये दुई ओटा पुल निर्माण सम्पन्न भएको र बाँकी १२ ओटा निर्माणको चरणमा रहेको सडक पूर्वाधार विकास कार्यालयले जानकारी दिएको छ । प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालय र यातायात पूर्वाधार निर्देशनालयद्वारा निर्माण गरिएका ती पुल सडक पूर्वाधार कार्यालयले कार्यान्वयन गर्दै आएको छ । जिल्लाका दशओटै स्थानीय तहमा पुल निर्माण कार्य भइरहेको छ ।
आफ्नो स्थानीय तहभित्र निर्माण गरिने पुल यथाशीघ्र सम्पन्न गर्न स्थानीय निकायले पनि निगरानी गरिरहेका कारण सबै पुल समयमै निर्माण हुने आशा पलाएको छ । परिवर्तन गाउँपालिकाको माडीचौर खोलामा निर्माणाधीन पुल असार मसान्तसम्म सकिने गरी काम अघि बढेको गाउँपालिका अध्यक्ष निमकान्त डाँगीको भनाइ छ ।
उनी जस्तै अन्य स्थानीय निकायले पनि पुल निर्माणका लागि निरन्तर चासो दिएका कारण निर्माण व्यवसायी समयमै काम गर्न बाध्य भएको बताइन्छ ।
अघिल्लो वर्ष स्वीकृत योजनामध्ये लुंग्री खोला र जीवे खोला पुल निर्माण भई उद्घाटनसमेत भइसकेका छन् । अघिल्लो वर्ष स्वीकृत भई निर्माणका क्रममा रहेका धाँसीखोला, माडीचौरखोला, घोडाचौरखोला र उवाखोलाको पुल निर्माण अन्तिम चरणमा पुगिसकेका छन् ।
यस वर्ष स्वीकृत पाछावाङ खोला, बाजाबाङ खोला, जुतुङखोला, माडीखोला, तार्केवाङ, लोटचौर खोला र पैसी खोलामा पुल निर्माणको प्रारम्भिक चरणमा रहेको कार्यालयका प्रमुख दीपक डाँगी बताउँछन् ।
सुनछहरी गाउँपालिकाको फुलिवन पहिराका कारण उवाखोला पुल निर्माणमा समस्या देखिए पनि अरु योजनामा भने कुनै समस्या छैन कार्यालय प्रमुख डाँगी भन्छन् । उक्त खोला जाने बाटो पहिराले अवरुद्ध पारेका कारण पहिरो आउनुअघि भएको काम पूरा गर्न तत्काल गर्न नसकिएको उनको भनाइ छ । रासस