ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीपी आन्दोलन : चार पदाधिकारी पदमा बस्न नमिल्ने भन्दै विरोध

२०७८ मंसिर, २७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । सर्वोच्च अदालतले आन्दोलनरत पक्षले लगाएको ताला खोल्न निर्देशन दिए पनि बीपी सुधार संयुक्त संघर्ष समितिले प्रतिष्ठानका प्रमुख चार पदाधिकारी ‘नैतिकताको आधारमा पदमा बस्न नमिल्ने’ भन्दै विरोध गरेको छ । केही दिनअघि सर्वोच्च अदालतले ताला खोल्न निर्देशन दिएपछि जिल्ला प्रशासनले प्रतिष्ठानमा प्रहरीको सुरक्षा टोली तैनाथ गरेको थियो ।

संघर्ष समितिका संयोजक डा. एसपी रिमालले सरकारको तर्फबाट बनेको छानबिन समितिले तयार पारेको प्रतिवेदनको कार्यान्वयन नहुन्जेल नैतिकता गुमेका पदाधिकारी कार्यकक्षमा बस्ने कुनै अधिकार नभएको बताए । ‘हामीले लगाएको ताला राजनीतिक दलले फुटाएको छ, हामीले फेरि ताला लगाएनौं,’ उनले भने, ‘हाम्रो भनाइ नैतिकता गुमाएका पदाधिकारीले फेरि कार्यकक्षमा गएर कार्य सम्पादन गर्नु हुँदैन भन्ने हो ।’

मादकपदार्थ सेवन गरेर वार्तामा बसेका र प्राध्यापकको ‘नक्कली पगरी गुथेका’ उपकुलपति डा. ज्ञानेन्द्र गिरीले नैतिकता गुमाएको आरोप उनको छ । ‘सरकारको स्वास्थ्य मन्त्रालयको अगुवाइमा भएको छानबिन समितिले पनि बीपीका पदाधिकारीलाई दोषी देखाएको छ, यही आधारमा पनि उनीहरूले फेरि पदमा बसिरहने हैसियत गुमाइसकेका छन्,’ उनले भने ।

संघर्ष समितिका सहसंयोजक डा. विष्णु पोखरेलले प्रहरी प्रशासन लगाएर संघर्ष दबाउनु राम्रो नभएको बताए । ‘हामीले प्रतिष्ठानमा शुद्धीकरणको आन्दोलन गरेका हौं,’ उनले भने, ‘हामीले आन्दोलन अवधिभरि पनि काम छाडेका छैंनौ । नैतिकता नभएका पदाधिकारीका कारण बीपी दिनप्रतिदिन धराशयी बन्दै गएको छ ।’

प्रक्रियागत रूपमा अघि बढेको कामलाई कसैले रोक्न नहुने आन्दोलनरत पक्षको भनाइ छ । छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने उनीहरूको माग छ । ‘छानबिन समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयन हुनुपर्छ भन्ने हाम्रो माग हो, हामीले व्यक्तिगत स्वार्थमा कुनै आन्दोलन गरेका होइनौं, नैतिकता गुमाएका पदाधिकारीले बीपीमा बसेर काम गर्न हुँदैन भनेर भन्दै आएका हौं,’ संघर्ष समितिका संयोजक डा. रिमालले भने ।

यसैबीच, असार १५ गतेदेखि प्रतिष्ठानका चारैजना पदाधिकारीको कार्यकक्षमा लगाइएको ताला खोल्न आएका प्रहरी र आन्दोलनकारीबीच आइतवार झडप भएको छ । सर्वोच्चको आदेश भन्दै विवादमा परेका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई कार्यक्षेत्रमा प्रवेश गराउने क्रममा आन्दोलनरत पक्षले रोकेपछि प्रहरीसँग झडप भएको हो । झडपबाट मानवीय क्षति भने भएन । प्रहरी र आन्दोलनकारीबीच भएको झडपले अवस्था तनावग्रस्त भएपछि उपकुलपति गिरी कार्यालय नै नछिरी बाहिरिएका थिए भने अस्पताल निर्देशक प्राडा. गौरीशंकर साह कार्यकक्ष प्रवेश गरे पनि आन्दोलनकारीले कार्यकक्षबाट बाहिर निकालेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)