म्याग्दी । मुस्ताङको लोमान्थाङ गाउ“पालिका–२ छोसेरमा गुफाभित्र गेस्ट हाउस (पाहुनाघर) सञ्चालन भएको छ । छोसेरका पेमा घिर्मी गुरुङले सेल्ता गुफाभित्र पर्यटक बास बस्न मिल्ने पाहुनाघर सञ्चालन गरेका हुन् । सेल्कार नामकरण गरिएको सो पाहुना घरमा चार कोठा छन् । एक कोठामा छ र तीन कोठामा दुई÷दुईओटा बेड भएको पाहुनाघरमा एक दिनमा १२ बास बस्न सक्छन् । बाबुबाजेको पालादेखि प्रयोग गर्दै आएको गुफालाई मर्मत सम्भार गरेर पर्यटक लक्षित पाहुनाघर सञ्चालन गरेको उनले बताए । पहाडको बीचमा रहेको गुफासम्म पुग्ने रेलिङसहितको पदमार्ग, दुईओटा प्रवेशद्वार बनाइएको छ । गुफाभित्रको कोठामा बत्ती र पानीको व्यवस्था मिलाएको उनले जानकारी दिए ।
झ्यालमा पुराना ऐतिहासिक भाडावर्तनका सामग्री राखिएका छन् । गुरुङको गुफाको गेस्ट हाउस बाहेक साधारण आठजना क्षमताको गेष्ट हाउस पनि छ । गुफाभित्र र बाहिर पाहुनाको रुचि अनुसार बास बस्न पाउँछन् । बाहिर खाना खाएर सुत्नका लागि गुफाको पाहुना घरमा जाने व्यवस्था मिलाइएको छ । गुफा गुरुङको व्यक्तिगत जग्गामा पर्छ । गुफाभित्र बास बसेको प्रतिकोठाको तीन हजारदेखि सात हजार शुल्क रहेको छ । ‘उपल्लो मुस्ताङ र कोरला नाका घुम्न आउने पर्यटकलाई आकर्षित गर्न गुफामा पाहुनाघर चलाएको हुँ,’ उनले भने, ‘धेरै पाहुना अनौठो मानेर बस्न आउनुहुन्छ ।’ रासस