ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

म्याद सकियो, बनेन पुल

२०७८ पौष, १  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

जाजरकोट । जाजरकोट–डोल्पा सडकको डोल्पा खण्डमा तोकिएको समयमा पुल निर्माण नहुँदा दैनिक सास्ती भोग्नुपरेको छ । दुई वर्षअघि एक वर्षभित्र निर्माण हुने भनिएका पुल अहिलेसम्म निर्माण पूरा नहुँदा सर्वसाधारणले दुःख भोग्दै आएका छन् । डोल्पाको खदाङ, करबगाड, त्रिपुराकोट बगर र रूपगाडमा तोकिएको समयमा बेलीब्रिज पुल निर्माण नभएका हुन् । पुलको जगमा सामान्य पिलर मात्र उठाइएको छ, जबकि हालसम्म पुल निर्माण भइसक्नुपर्ने थियो ।     

जाजरकोट खण्डको अधिकांश ठाउँमा पुल निर्माण भए पनि डोल्पामा पुल निर्माण ढिलाइ भइरहेको छ । जाजरकोटको चौखामा मात्र पुल निर्माणमा ढिला भएको छ भने अन्य ठाउँमा निर्माण भइसकेका छन् । जाजरकोट र रुकुमपश्चिमको बीचमा रहेको भेरी नदी तल्लु बगरमा यो आर्थिक वर्षमा मात्र बोलपत्र आवह्वान गरिएको छ । यो लगायत खदाङ, त्रिपुराकोटमा भेरी नदीमा निर्माण हुने पुल हुन् । भेरी कोरिडोरअन्तर्गत डोल्पामा पुल निर्माण नहुँदा अधिकांश सर्वसाधारण हवाईमार्गबाट यात्रा गर्न बाध्य छन् ।  
   
भेरी कोरिडोरमा निर्माण हुन बाँकी रहेका चार पुल असारसम्ममा निर्माण सम्पन्न हुने सडक डिभिजन चौरजहारीका प्रमुख ध्रुवकुमार झाले बताए । हाल सुर्खेतलगायत ठाउँमा पुल निर्माणका लागि आवश्यक सामग्री ढुवानी कार्य शुरू भइरहेकाले अबको तीन महिनाभित्र जडान समेत सकिने उनको भनाइ छ । डोल्पाको खदाङ, करबगाड, त्रिपुराकोट बगर र रुपगाडमा असारसम्ममा सहजरूपमा यात्रा गर्न सकिने उनले दाबी गरे ।

भेरी कोरिडोरअन्तर्गत जाजरकोटबाट डोल्पासम्म ११८ किलोमिटर सडक पर्छ । नेपाली सेनाले निर्माण गरेको उक्त सडक तीन वर्षअघि मात्र सरकारलाई हस्तान्तरण गरिएको थियो । सडक हस्तान्तरणसँगै सडक डिभिजनले सडकको स्तरोन्नतिदेखि पुल निर्माणको काम थालेको थियो ।    
 
पहिलो चरणमा जाजरकोटको जिरो प्वाइन्ट पासागाडबाट रिम्नासम्मको १७ किलोमिटर कालोपत्रको काम शुरू गरिएको थियो । यद्यपि कालोपत्रको काम अहिलेसम्म एक मिटर पनि भएको छैन । सडकको छेउतिर कटानको काम मात्र निरन्तर चलिरहेको छ । जाजरकोट खण्डको भूभागमा वातारणीय प्रभाव मूल्यांकनदेखि अन्य काम सकेर बाँकी सडक कालोपत्रका लागि ठेक्का लगाउने काम शुरू भएको सडक डिभिजनका प्रमुख झाले बताए ।

जाजरकोट सदरमुकामको पासागाडबाट रिम्नासम्मको १७ किलोमिटर सडक कालोपत्रको जिम्मेवारी आठबीसकोट नगरपालिका रुकुमपश्चिमका प्रमुख गोरखबहादुर केसीले लिएका छन् । हालसम्म कालोपत्रको काम सकिसक्नुपर्नेमा अहिलेसम्म एक मिटर पनि कालोपत्रको काम भएको छैन । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)