म्याग्दी । कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीदेखि कोरला नाका जोड्ने सडकमा आठओटा पक्क पुल निर्माण भएको छ । एक सय ८६ किलोमिटर दूरीको बेनी–जोमसोम–कोरला सडक आयोजनाअन्तर्गत उक्त सडकमा एउटा पुल निर्माण अन्तिम चरणमा पुगेको छ भने अन्य पुल निर्माणाधीन अवस्थामा छन् । आयोजना प्रमुख जगत प्रजापतिले थप पाँच ठाउँमा पुल निर्माणका लागि प्रस्ताव गरिएको बताए ।
‘नियमित र सहजरुपमा यातायात सञ्चालनका लागि सडकको स्तरोन्नतिसँगै बेलिब्रिज विस्थापित गरी पुल निर्माण भइरहेको छ,’ उनले भने, ‘एउटा पुल निर्माणको ठेक्का प्रक्रियामा छ । थप पाँचओटा पुल बनाउन बनाउन आवश्यक छ ।’ म्याग्दीको राहुघाटमा ४० मिटर, घट्टेखोलामा ४० मिटर, मुस्ताङको स्याङ खोलामा ११५ मिटर, पाण्डाखोलामा ५० मिटर लामो पुल निर्माण भएको हो । पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले म्याग्दीको महभिर र पोखरबगरस्थित कालीगण्डकीमा ८० र ७० मिटर लामो पुल निर्माण गरेको छ ।
छुसाङको मुस्ताङ गेटस्थित कालीगण्डकी नदीमा डोलिडारले ७७ दशमलव दुई मिटर लामो र जोमसोमस्थित कालीगण्डकी नदीमा तत्कालीन मुस्ताङ जिविसले ४६ मिटर लामो पुल बनाएको थियो । चालिस मिटर लामो लेते खोलाको मोटरेबल पुल निर्माणको अन्तिम चरणमा छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से र मुस्ताङको खहरेखोलाको मोटरेबल पुल अलपत्र भएको छ । आयोजनाका इञ्जिनीयर आश्विनीकुमार यादवले निर्माणका क्रममा रहेका पुलका संरचनामा बाढीले तहसनहस बनाएकाले नमूना परिवर्तनसहित दूरी बढाएर नयाँ प्रक्रियाबाट पुल बनाउन पुरानो ठेक्का तोड्ने प्रक्रियामा रहेको बताए ।
‘चालिस मिटर लम्बाइको रुप्से खोलाको पुलको दुवैतर्फ पिल्लर उठाएर ६६ प्रतिशत र ढलान ८५ प्रतिशत काम भएकामा बाढीले पुलको जग नै खलबलाउने गरी बगाएपछि स्पाम (लम्बाइ) बढाउन लागिएको छ,’ उनले भने, ‘भूगोल र प्राकृतिक विपद्का कारण नमूना संशोधन, पुरानो ठेक्का तोडेर नयाँ ठेक्का प्रक्रिया शुरू गर्नुपर्ने भएको हो ।’
बोक्सीखोला, सुनखोला र थापाखोलामा मोटरेबल पुल बनाउन प्रस्ताव गरिएको आयोजना प्रमुख प्रजापतिले बताए । पाण्डाखोलामा पुल बनाएको भन्दा फरक ठाउँबाट खोला बग्न थालेपछि ५० मिटर लामो अर्काे पुल बनाउन प्रस्ताव गरिएको छ ।
७ अर्ब २७ करोडमा ठेक्का सम्झौता भएको बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत सडक तथा पुल निर्माणमा हालसम्म ४ अर्ब ७३ करोड खर्च भइसकेको लेखा अधिकृत शेखरचन्द्र सापकोटाले जानकारी दिए । पर्वतको मालढुंगादेखि म्याग्दीको बेनी, मुस्ताङको जोमसोम हुँदै कोरला नाकासम्म १३ ओटा खण्डमा सडक सस्तरोन्निति भइरहेको छ । २५ किलोमिटर दूरीको चराङ–छोसेरबाहेक जोमसोम–कोरला खण्डको ६ ओटा प्याकेजमा ११ मिटर फराकिलो सडक ग्राभेल भइसकेको छ । रासस