सुर्खेत । समुद्री सतहदेखि करिब चार हजार मिटर उचाइमा रहेको कर्णाली प्रदेशकै गौरवको आयोजना ‘धौलीगाड बृहत् खानेपानी आयोजना’ जुम्लालाई बहुवर्षीय ठेक्का सहमति प्रदान गर्ने निर्णय भएको छ । अर्थ मन्त्रालयको सोमवार भएको मन्त्रिस्तरीय निर्णयबाट यो आयोजनालाई बहुवर्षीय ठेक्काका लागि सहमति प्रदान गरिएको हो ।
खानेपानी तथा सरसफाइ मन्त्रालयको जलवायु अनुकूलित बृहत् खानेपानी आयोजनाअन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना जुम्लाबाट उक्त आयोजना सञ्चालन हुँदै छ ।
अर्थ मन्त्रालयका शाखा अधिकृत इन्दिरा दाहालका अनुसार आयोजनाको कुल लागत अनुमान एक अर्ब २६ करोड आठ लाख ४९० रुपैयाँ रहेको छ । सो लागत रहेको ‘धौलीगाड बृहत् खानेपानी आयोजना’को बहुवर्षीय ठेक्का सम्बन्धी मापदण्ड, २०७७ बमोजिम सहमतिका लागि खानेपानी मन्त्रालयबाट लेखिएको आएकाले राष्ट्रिय योजना आयोगको निर्णयानुसार प्रक्रिया पूरा गरी खरिद प्रक्रिया अघि बढाउन उक्त मन्त्रालयलाई सहमति प्रदान गरिएको अर्थ मन्त्रालयले बताएको छ । रासस