सुर्खेत (अस) । सुर्खेतमा पुस १३ गतेदेखि सञ्चालन गर्ने भनिएको कोरोनाविरुद्धको ‘फाइजर’ खोप अभियान स्थगित भएको छ । स्वास्थ्य सेवा विभागबाट अर्को मिति तय नहुन्जेलसम्मका लागि १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई लागाइने फाइजर खोपको अभियान स्थगित गरिएको हो ।
केही दिनका लागि स्थगित गरिए पनि पुनः सूचना सार्वजनिक गरेर अभियानलाई निरन्तरता दिइने जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले बताए । फाइजर खोप अभियान स्थगित भए पनि स्वास्थ्यकर्मीको तालिम भने पूर्वसूचना अनुसार नै हुने जानकारी उनले दिए । उनका अनुसार यसअघि सुर्खेतमा यही उमेर समूहका दुई हजार ९८ बालबालिकालाई कोरोना भाइरसविरुद्धकै फाइजर खोपको पहिलो मात्रा दिई सकिएको छ ।
कर्णालीका सुर्खेतबाहेक ९ जिल्लामा भने बालबालिकाका लागि मोडर्ना खोप अभियान सञ्चालन भएको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई विद्यालयमै केन्द्र स्थापना गरी खोप लगाउने व्यवस्था मिलाइएको बताएको छ । निर्देशनालयका सूचना अधिकारी पदम केसीले मोडर्ना खोपको पहिलो मात्रा आइतवारदेखि आगामी पुस १४ गतेसम्म र दोस्रो मात्रा आगामी माघ २ देखि १० गतेसम्म लगाउने कार्यतालिका रहेको जानकारी दिए । उनका अनुसार कर्णालीका ९ जिल्लाका १ लाख ५४ हजार ८७२ बालबालिकालाई खोप दिने लक्ष्य लिइएको छ ।