ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

शौचालय जामका व्यवधान हटाउने घरेलु उपाय

२०७८ पौष, १६  
अभियान परिशिष्ट (सप्लिमेन्ट) स्वास्थ्य र जीवन शैली
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुनै पनि समय तपाईं–हाम्रो घरमा शौचालय जाम हुन सक्छ । शौचालय, ढल, बाथरुम, वेसिन, मंगल, धारा आदि बारम्बार जाम भइरहने स्थान हुन् । यीमध्ये पनि बढी जाम हुने स्थान हो, शौचालय । दिसा, पिसाब गर्ने स्थान फोहोर र दुर्गन्धित हुने भएकाले सफा गर्ने स्थान पनि शौचालय नै हो । त्यसैले शौचालयलाई अन्य स्थानजस्तो सजिलै सफा गर्न सकिँदैन । त्यसका लागि केही सावधानीका उपयुक्त औजार र सामग्री प्रयोग गर्नु आवश्यक हुन्छ ।

शौचालय जाम हुने प्रमुख कारण    
शौचालय विभिन्न कारणले जाम हुन सक्छ । कम फलोको फ्लस वेसिन प्रयोग, ड्रेन लाइन बन्द हुने, कम पानीको प्रयोग, जथाभावी फोहोर गर्ने आदि प्रमुख कारण मान्न सकिन्छ । पिट्राप, मल्टिट्राप एवं एसट्रापजस्ता पाइपको घुम्ती र ज्वाइन बढी जाम हुने स्थान हुन् । फोहोर यिनै घुम्ती र ज्वाइनमा थुप्रिन गई शौचालय जाम हुन्छ ।
तपाईं–हामी शौचालय बन्द हुनासाथ प्लम्बरको खोजीमा लागिहाल्छौं । कतिपय घरभित्रैबाट हुने सामान्य कार्य गर्न पनि प्लम्बरको भर पर्नु अनावश्यक खर्चको बोझ थोपर्नु हो । कतिपय बेला सामान्य जाम हुन सक्छ, जसलाई साधरण सामग्रीको प्रयोगबाट हटाउन सकिन्छ । यही सामान्य कार्य आफैं समाधान गर्ने विधिसम्बन्धी छोटो परिचय गराउने जमर्को गरिएको छ :

कास्टिक सोडा
कास्टिक सोडालाई सीधै शौचालयमा खन्याउनुहुँदैन । सर्वप्रथम पानीलाई पूरै नउम्लिने गरी तताउनुपर्छ । तातो पानी शौचालयमा खन्याउने र सोडा खन्याउने । सबभन्दा राम्रो तातो पानीमा सोडा घोलेर राख्नु उत्तम मानिन्छ । सोडा र पानी राखेको केही (कम्तीमा १५(२० मिनेट) समय कुर्नुपर्छ । त्यतिबेलासम्म सोडाले त्यहाँभित्र भएको फोहोर गलाउँछ र बन्द खुल्छ । त्यसपछि फ्लस वा पानी प्रस्ट मात्रामा राख्नुपर्छ ताकि त्यहाँ भएका फोहोर बगाउन मद्दत गरोस् ।

हाइड्रोक्लोरिक एसिड
बढी कडा खालको जाम छ भन्ने लागेमा कास्टिक सोडा र एसिड एकैसाथ प्रयोग गर्न सकिन्छ । कहिलेकाहीँ सोडाले मात्र पनि काम नगर्न सक्छ । त्यस्तो अवस्थामा एसिड प्रयोग गर्नु उपयुक्त मानिन्छ । एसिड प्रयोग गर्दा केही सावधानी भने अपनाउनैपर्छ । पानीमा एसिड मिसाउँदा पानीको छिटा शरीरमा पर्ने सम्भावना रहने भएकाले यसबाट बच्न पञ्जा प्रयोग गर्नुपर्छ ।

पम्प (प्लन्जर)
कडा खालको जाम भए सोडा र एसिड प्रयोगपछि पनि बन्द नखोलिने सम्भावना रहन्छ । यस्तो अवस्थामा पम्प प्रयोग पनि एउटा विकल्प हुन सक्छ । सोडा वा एसिड प्रयोगपछि पम्पले प्रेस गरे जाम खोल्नमा सहज हुन सक्छ । यस विधिमा शौचालयमा पम्पलाई राखेर प्रेस गर्नुपर्छ । पम्पको प्रेसले फोहोरलाई बाहिर निकाल्न मद्दत गर्छ ।

प्लम्बिङ विधि
यो अन्तिम विधि हो, जसको प्रयोगबिना शौचालय जाम हुने समस्या निराकरण सम्भव छैन । यो विधि अनुभवी प्लम्बरद्वारा मात्र सम्भव हुन सक्छ । यो विधि भनेको पाइपमा रहेको बन्द वा जामलाई खोल्ने हो । यस विधिमा पिट्राप वा मल्टिट्रापबाट पाइप वा कडा खाले तार पाइपभित्र छिराएर त्यहाँ रहेको फोहोर निकालिन्छ । पाइप वा शौचालय जाम हुने समस्यालाई निराकरण गर्न सजिलो होस् भन्ने उद्देश्यले पाइपको बीचबीच र घुम्तीमा पिट्राप र मल्टिट्राप प्रयोग गरिएको हुन्छ । यदि यी सामान घरमै उपलब्ध छ भने आफैं पनि यो काम गर्न सकिन्छ ।

घरेलु प्रविधि प्रयोग गरेर शौचालयमा हुने समस्या सहज रूपमा समाधान गर्न सकिन्छ । यसबाट प्लम्बर मिस्त्रीलाई दिनुपर्ने खर्चका साथै समयको पनि बचत गर्न सकिन्छ । भनेको समय प्लम्बर नपाइने र शौचालयजस्तो अति आवश्यक वस्तुलाई समयमै ममर्त गर्न नसकिए अप्ठेरो बेहोर्नुपर्ने बाध्यता हुन्छ । यही आपद्विपद्को विकल्पका रूपमा यो विधि उत्तम हुन सक्छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)