ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

फोहोर प्रशोधन केन्द्र सञ्चालनमा ढिलाइ

२०७८ पौष, १९  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

धरान । गत चैत ९ गतेदेखि परीक्षण शुरू गरेको धरानस्थित फोहोर प्रशोधन केन्द्र नियमित सञ्चालनमा आउन सकेको छैन । प्रशोधन केन्द्रको निर्माण पूर्णरूपमा सम्पन्न भए पनि उत्पादित ग्यास खपत गर्न अनुमति नहुँदा सञ्चालनमा आउन नसकेको हो ।

धरान उपमहानगरपालिका–६ मा रहेको फोहोर प्रशोधन केन्द्रको निर्माण ‘भेन्चर वेस्ट टु इनर्जी’ नामक कम्पनीले गरेको हो । धरानको फोहोर व्यवस्थापन गर्दै ग्यास र मल उत्पादन गर्ने लक्ष्यसहित केन्द्रको निर्माण गरिएको थियो ।

गत वैशाखदेखि नै सञ्चालनमा आउने भनिए पनि सरकारी प्रक्रियामा ढिलाइले समय लम्बिएको परियोजनाका इन्जिनियर विवेक अग्रवालले बताए । उनका अनुसार केन्द्रले गत चैत ९ गतेदेखि धरानको फोहोर संकलन गरी परीक्षण थालेको थियो । तर खपत गर्ने साधन सञ्चालनको अनुमति नहुँदा सञ्चालन गर्न नसकिएको उनको भनाइ छ ।

‘सबै फोहोर लिएर प्रशोधन गर्न सक्ने अवस्था छ, तर खपत गर्न सवारीसाधन सञ्चालन गर्ने अनुमति नहुँदा पूर्ण क्षमतामा सञ्चालन गर्न सकिएको छैन,’ उनले भने, ‘ग्यासबाट चल्ने टेम्पो पनि आउनुप¥यो, त्यसैले अड्किरहेको छ ।’

उनका अनुसार २४ करोडको परियोजनाको लागत कोरोनाका कारण २६ करोड पुगेको छ । दैनिक ५० टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको केन्द्र पुस २० गतेदेखि शुरू हुने ‘धरान डे’को अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गर्ने तयारी छ ।

२० वर्षपछि धरान उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी प्रशोधन केन्द्र निर्माण गरिएको हो । कोरोना संक्रमणको जोखिम न्यून हुँदै गएपछि पुस अन्तिम सातादेखि सञ्चालनको तयारी गरिएको अग्रवालले बताए ।

प्रशोधन केन्द्रबाट उत्पादित ग्यास धरानमा चलिरहेका टेम्पोहरूमा प्रयोग हुनेछ । ‘धरानमा चलिरहेका विभिन्न ब्राण्डका टेम्पोमा एउटा सिलिण्डर सहितको किट हाल्छौं, त्यो हालिसकेपछि मल्टी फ्युल हुन्छ,’ अग्रवालले भने, ‘त्यसो हुँदा पेट्रोल र ग्यासले दुवैले चल्न सक्छ ।’ हिमालयन पेट्रोल पम्प नजिकै खहरे खोलाको छेउमा रिफिल स्टेसन बनाइएको छ ।

प्रशोधन केन्द्रले दिनको २ हजार केजी ग्यास उत्पादन गर्छ । दैनिक ४ सयदेखि ५ सय टेम्पोलाई ग्यास उपलब्ध गराउन सकिने अग्रवालले बताए ।

कम्पनीले पानवारीमा १ बिघा २ कठ्ठा जमिन खरीद गरेर प्लान्ट स्थापना गरेको छ । यो प्लान्ट सञ्चालनमा आएपछि धरानको फोहोर मैलाको दीर्घकालीन व्यवस्थापन हुने अपेक्षा गरिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)