पुस २५, सुर्खेत । सुर्खेतमा नागरिकको चौतर्फी विरोधपछि आन्तरिक उडानतर्फको सुर्खेत–काठमाडौं हवाई भाडादर घटेको छ ।
गुण एयरलाइन्स र बुद्ध एयरलाइन्स प्रतिस्पर्धामा आउँदा आन्तरिक उडानतर्फको सुर्खेत–काठमाडौं हवाई भाडादर घटेको हो । निजी क्षेत्रको वायुसेवा कम्पनी गुण एयरलाइन्सले नियमित उडान शुरु गरेपछि सुर्खेत–काठमाडौं उडानमा बुद्ध एयरको एकाधिकार तोडिँएसँगै भाडादर सस्तो भएको हो ।
बुद्ध एयरले गुण एयरलाइन्ससँग प्रतिस्पर्धा गर्न यात्रु भाडादर घटाएको छ । गुण एयरलाइन्सले शनिवारको भाडादर ६ हजार ३०० रुपैयाँ कायम गरेको छ । साथै क्यास ब्याक ४० रुपैयाँको व्यवस्था गरेको छ ।
त्यस्तै, १५० रुपैयाँ रिवार्ड दिएको छ । बुद्ध एयरलाइन्सले पनि शनिवारको भाडादर ६ हजार ३०० रुपैयाँ कायम गरेको छ । बुद्धले ४० रुपैयाँ क्यास ब्याकको व्यवस्था गरेको छ भने रिवार्ड १५० रुपैयाँ नै दिएको छ ।
भाडादर केही सुलभ भएपछि नागरिकले अझै घट्नु पर्ने भन्दै दबाब दिइरहेका छन् । तर, अफसिजनमा विदेशी पर्यटकको आगमन कम हुनुका साथै कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ का कारणले भाडा घटाउनु परेको एयरलाइन्स कम्पनीहरुको भनाइ छ ।
यसअघि यात्रुबाट बुद्ध एयरले सुर्खेत–काठमाडौं हवाई भाडा ८ हजार २५० देखि ११ हजार रुपैयाँसम्म एकलौटी असुल्दै आइरहेको थियो ।