ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

छोटी भन्सारको राजस्व असुली शून्य

नाममात्रका भए मोरङका छोटी भन्सार

२०७८ पौष, २६  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar वेदराज पौडेल

विराटनगर । मोरङका ९ मध्ये तीनओटा छोटी भन्सार सञ्चालनमा छन् । अन्य ६ ओटा नाका बन्दप्राय: छन् । सञ्चालनमा रहेका रंगेली र डाइनिया नाकाको राजस्व असुली वर्षदेखि शून्य छ । यी भन्सारमा दिनभर कर्मचारी बस्छन् । तर भन्सार चेकजाँचका लागि एक वर्षदेखि एकजना पनि व्यापारी छिरेका छैनन् । मायागञ्ज छोटी भन्सारले भने महीनामा करिब ५० हजार राजस्व बुझाउँदै आएको छ ।  

रंगेली र डाइनिया भन्सार नाका हुँदै दिनहुँ लाखौं मूल्यका व्यापारिक सामान सीमावर्ती बजारबाट भित्रिन्छन् । तर कोही पनि राजस्व तिर्न आउँदैनन् । भन्सार अधिकृत अमित तिवारीले भने, ‘सञ्चालनमा आएका यी छोटी भन्सार नाममात्रका भए । छोटी भन्सार सञ्चालनको औचित्य पुष्टि हुन सकेको छैन ।’ यी दुई भन्सारमा खोर्सानी र प्याजको राजस्व तिर्नमात्र व्यापारी पस्ने गरेका छन् ।

धनपालथानमा पर्ने मायागञ्ज छोटी भन्सारले मासिक सरदर ५० हजार रुपैयाँ राजस्व संकलन गर्दै आएको छ । भन्सारसँगै सशस्त्र प्रहरीको उपस्थिति भएकाले यो नाकाबाट केही राजस्व असुली हुने गरेको छ ।

कुनै समय सीमावर्ती बुधनगरमा रहेको मधुमल्ला छोटी भन्सारले दैनिक १० हजार रुपैयाँसम्म भन्सार महसुल असुली गरेको अभिलेख छ । तर त्यो कार्यालय डेढ दशकदेखि बेवारिसे अवस्थामा छ । भवन भत्किएको छ । सरकारको नाममा रहेको करीब तीन कठ्ठा जमिन पनि उपयोगविहीन छ ।

त्यही छोटी भन्सारको नाममा करिब चार किलोमिटर दक्षिण सीमा क्षेत्रमा तरिगामा गोदाम छ । त्यो गोदाम पनि अलपत्र छ । उक्त गोदाम र छोटी भन्सारको सडक हुँदै दैनिक लाखौं मूल्य बराबरका व्यापारिक सामान अवैध रूपमा ओसार पसार हुन्छ । नियन्त्रण गर्ने निकाय वेखबर छ ।

सशस्त्र द्वन्द्वका बेला यो छोटी भन्सार बन्द भएको हो । स्थानीय रूपचन मण्डलले भने, ‘विराटनगर भन्सारका कर्मचारी पटक पटक आएर भवन मर्मत गर्ने र सञ्चालन गर्ने भन्दै गएका थिए, अहिलेसम्म फर्किएर आएका छैनन् ।’ यो नाका हुँदै मरिच, छोकडा, सुपारी लगायत तेस्रो मुलुकबाट आयातित वस्तु भारत निकासी र भारतीय उत्पादनको चोरी पैठारी हुने गरेको उनको भनाइ छ ।

भारतसँग ६० किलोमिटर सिमाना जोडिएको मोरङमा मायागञ्ज, रंगेली, डाइनिया, डोरिया, चुनीवारी, तरिगामा, मधुमल्ला, कदमाहा र चौकीघाट छोटी भन्सार छन् । तीमध्ये अहिले मायागञ्ज, रंगेली र डाइनिया छोटी भन्सार मात्र सञ्चालनमा छन् ।

छोटी भन्सारलाई पछिल्लो समय १५ हजार मूल्य बराबरको निकासी पैठारीका सामानको मात्र भन्सार महसुल लिने अधिकार छ । सञ्चालनमा भएका छोटी भन्सारले प्याज, आलु, खोर्सानी, माछाको मात्र भन्सार रसिद काटेको पाइएको छ ।

छोटी भन्सार सञ्चालनमा ल्याए पनि चोरी पैठारी रोकिने स्थिति छैन । ‘चोरेर खान बानी परेका व्यापारीले छोटी भन्सार नाकाबाट सामान ल्याउँछन्, तर राजस्व तिर्दैनन्,’ एक अधिकारीले भने, ‘मोरङका छोटी भन्सार नाका व्यर्थका भए ।’

मोरङका सबै छोटी भन्सार मूल भन्सार कार्यालयबाट पूर्वमा पर्छन् । तिनै नाकाबाट चोरी पैठारी भएका भारतीय वस्तुले जिल्लाका ग्रामीण बजार थेग्ने गर्छ । भन्सार अधिकारीका अनुसार भन्सार नतिरेका भारतीय वस्तु विराटनगर लगायत आसपासका बजारमा छ्याप्छ्याप्ती भेटिन्छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)