ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मदानीचौरमा खानेपानी अभाव

डेढ सय परिवारको एउटै धारा

२०७८ पौष, २८  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar आकाश तारा बयक

सुर्खेत  । पूर्वी सुर्खेतको मदानीचौरका बासिन्दालाई शुद्ध पिउने पानीका लागि अहिले पनि दैनिक पाँच घन्टा पालो कुर्नुपर्ने बाध्यता  छ ।

भेरीगंगा नगरपालिका–१०, मदानीचौरका स्थानीय अहिले पनि शुद्ध पिउने पानीको सास्ती भोगिरहेका छन् । छिन्चु सहर नजिकैको मदानेचौर बस्ती भए पनि डेढ सय घरधुरीको एउटै धारा हुँदा दैनिक पाँच घन्टा पालो कुरेर पानीको जोहो गर्नुपर्ने बाध्यता कायमै छ ।

गाउँमा पिउने पानी अभाव भएको वर्षौं बितिसक्दासमेत स्थानीय, प्रदेश तथा संघीय सरकारले बेवास्ता गरेको स्थानीयको आरोप छ । मदानीचौरका करिब डेढ सय घरपरिवारले एउटै धाराको पानी उपभोग गर्दै आएका छन् ।

पर्याप्त स्रोत अभावले चैत, वैशाखमा घन्टौं लाइनमा बसेर पानी भर्नुपर्ने मदानीचौरबासीको बाध्यता छ । गाउँलेलाई तिर्खा मेटिने गरी पिउन पानीको जोहो गर्न सकस हुने गरेको छ । साउनदेखि फागुनसम्म केही सहज भए पनि चैत, वैशाखमा पानीको हाहाकार हुने गरेको गाउँलेको भनाइ छ ।

चैत, वैशाखमा गाउँको एउटै धारामा दुईदेखि पाँच घन्टा पालो कुरेर पिउने पानी भर्दै आएको स्थानीय दीपक बिसीले बताए । ‘मदानीचौर पूरै गाउँका लागि एउटा मात्रै धारो छ,’ उनले भने, ‘अरू बेला त अलि पुग्छ । गर्मी मौसम सुरु हुनेबित्तिकै चार/पाँच घन्टा पालो कुरेर पानी भर्नुपर्ने बाध्यता छ ।’

नुहाउने, लुगा धुने तथा पशु चौपायालाई खुवाउन पनि त्यही धाराको पानी प्रयोग गर्दै आइरहेको उनले सुनाए । गर्मी मौसम सुरु हुनेबित्तिकै गाउँभरि नै हाहाकार हुने हुँदा प्यास मेटिने गरी पिउने पानीको जुटाउनसमेत गाह्रो हुने स्थानीय टीका रानाले बताइन् ।

गोर्खा वेलफेयर स्किमको सहयोगबाट आर्थिक ०७२/७३ सालमा करिब १ करोड लागतमा निर्माण गरिएको खानेपानी आयोजनाले केही घरधुरीमा सुविधा पुगे पनि उक्त आयोजना आठ महिनामै अवरुद्ध भएको उनले जानकारी दिइन् । उनका अनुसार आयोजना पुनः सञ्चालनमा ल्याउन समितिले चासो नदेखाउँदा पानीको समस्या कायमै रहेको हो । ‘निर्वाचनका बेला भोट माग्न यहाँ आउने सबै दल र नेताहरूले गाउँमा खानेपानी पुर्‍याउने वाचा गर्छन्,’ उनले भनिन्, ‘०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा दलहरूले मदानीचौरबासीलाई खानेपानी आयोजना बनाइदिने वाचा गरे पनि कार्यान्वयन गरेनन् ।’ खानेपानीका लागि स्थानीयले पटक–पटक सम्बन्धित निकायमा ध्यानाकर्षण गराउँदा समेत कसैले चासो नदिएको उनको गुनासो छ ।

‘चुनावका बेला सबै नेताले खानेपानी ल्याइदिन्छौं भन्दै भोट माग्न आउँछन्,’ स्थानीय मनमाया सुनारले भनिन्, ‘अघिल्लो पटकको चुनावमा भोट माग्न नगरपालिकामा चुनिने र सांसद पनि आएका थिए । जितेकाको म्याद सकिन लाग्यो भन्छन् । हाम्रोमा खानेपानी कहिले आउने हो ।’

भेरीगंगा नगरपालिका उपप्रमुख रेणु ढकाल अबको डेढ वर्षभित्र मदानीचौर गाउँमा खानेपानी समस्या समाधान हुने दाबी गर्छिन् । ‘मदानीचौरमा खानेपानी ल्याउन आयोजनाको काम सुरु भएर ट्यांकी निर्माण र पाइप खरिद भइसकेका छन्,’ उनले भनिन्, ‘निर्माण कम्पनीलाई तोकिएकै समयभित्र आयोजना सम्पन्न गर्न निर्देशन दिइसकेकाले छिट्टै खानेपानी समस्या समाधान हुन्छ ।’

उपप्रमुखले आयोजना तोकिएकै समयभित्र निर्माण गर्ने दाबी गरे पनि निर्माणमा भइरहेको ढिलासुस्तीसँगै पर्याप्त पानीको स्रोत अभावका कारण तत्कालै गाउँको खानेपानी समस्या समाधान नहुने प्राविधिक बताउँछन् ।

नगरपालिकाका इन्जिनियर विजय खत्रीका अनुसार पानीको स्रोत सीमित भएकाले घर–घरमा तत्कालै धारा पुग्ने अवस्था छैन  । ‘हाल रिजर्भ ट्यांकी निर्माण र पाइप खरिदको काम भएको छ,’ उनले भने, ‘मुहानबाट रिजर्भ ट्यांकीमा पानी पुर्‍याउने मोटरको प्रयोग गर्नुपर्ने र त्यसका लागि आयोजनाले आफ्नै विद्युत् ट्रान्सफर्मर राख्नुपर्नेछ ।’

उनले नगरपालिकामा त्यससम्बन्धी जनशक्ति नहुँदा आयोजनाको काम अघि बढाउन ढिलाइ भइरहेको बताए । ‘मुहानको पानी ट्यांकीसम्म ल्याउन मोटरको प्रयोग गर्नुपर्ने र त्यसका लागि छुट्टै ट्रान्सफर्मर राख्नुपर्ने हुन्छ,’ उनले भने, ‘त्यसका लागि नगरपालिकासँग इलेक्ट्रिकल इन्जिनियरिङसम्बन्धी जनशक्ति नहुँदा थप समस्या भएको छ ।’

उनका अनुसार आयोजना चालू आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने भए पनि अहिलेसम्मको अवस्थाले समयमै सम्पन्न हुन मुस्किल देखिन्छ । भेरीगंगा नगरपालिकाले क्रमगत योजनाअन्तर्गत आपधारा लिफ्ट खानेपानी आयोजनामार्फत मदानीचौरसम्म पानी पुर्‍याउन हालसम्म करिब डेढ करोड खर्च गरिसकेको १० नम्बर वडाध्यक्ष काशीराम देवकोटाले बताए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)