ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

प्रदेश १ मा धान उत्पादन घट्यो : जोगबनी नाकाबाट धान र चामलको आयात बढ्दो

२०७८ पौष, ३०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । यस वर्ष प्रदेश १ मा धानखेतीको क्षेत्रफल चार हजार हेक्टर बढे पनि उत्पादन भने घटेको छ । प्रदेशमा गतवर्ष ३ लाख ३२ हजार हेक्टरमा धान रोपाइँ हुँदा १३ लाख ११ हजार टन धान उत्पादन भएको थियो । यस वर्ष ३ लाख ३६ हजार हेक्टरमा धान रोपाइँ भएकोमा १२ लाख ८२ हजार टन मात्र उत्पादन भएको छ ।

खेती बढे पनि धान पाक्ने समयमा परेको बेमौसमी झरीका कारण यसपालि उत्पादन घटेको प्रदेश कृषि मन्त्रालयका प्रवक्ता राजेन्द्र उप्रेतीले बताए । बेमौसमी वर्षाले प्रदेशमा करिब ५० हजार हेक्टरको पाकेको धानमा क्षति पुर्‍याएको उनको भनाइ छ । मन्त्रालयले यस वर्ष प्रदेश १ मा धान उत्पादन करिब एक लाख टन बढ्ने अनुमान गरेको थियो ।

धानको उत्पादन घट्दै गएपछि जोगबनी नाकावाट धान र चामलको आयात हरेक वर्ष बढ्दो छ । चालू आवको पाँच महिनामा यो नाकाबाट दुई अर्बभन्दा बढी मूल्यको धान र चामल आयात भएको विराटनगर भन्सारको तथ्यांक छ ।

भन्सार अधिकृत अमित तिवारीका अनुसार साउनदेखि मङ्सिरसम्ममा जोगवनी नाकाबाट १ अर्ब १२ करोड ७३ लाख ६६ हजार मूल्य बराबरको ४० हजार ६४१ टन धान र ८३ करोड ८३ लाख ८८ हजार मूल्य बराबरको १७ हजार ८३७ टन चामल आयात भएको छ । गत आवमा यो नाकाबाट ३ अर्ब ५० करोड ३६ लाख ३२ हजार मूल्यको १ लाख १५ हजार २९४ टन धान र २ अर्ब ३४ करोड ३५ लाख ७७ हजार मूल्यको ५२ हजार ६८१ टन चामल आयात भएको तिवारीले बताए ।

प्रदेशका झापा, मोरङ र सुनसरीमा प्रधानमन्त्री एकीकृत कृषि परियोजना अन्तर्गत धान जोन कार्यक्रम सञ्चालनमा छ । झापामा गतवर्ष ८५ हजार ७ सय ५० हेक्टरमा धान रोपाइँ हुँदा ४ लाख १५ हजार ६२५ टन उत्पादन भएको थियो । यस वर्ष ८७ हजार ५ हेक्टरमा रापाइँ गर्दा ४ लााख २३ हजार टन मात्र उत्पादन भएको छ ।

मोरङमा पनि यस वर्ष गतवर्षको भन्दा दुई हजार हेक्टर बढी क्षेत्रफलमा धान रोपाइँ हुँदा धान उत्पादन भन्दा ११ हजार टन घटेको छ । मन्त्रालयका अनुसार मोरङमा यस वर्ष ८२ हजार ४ सय ६७ हेक्टरमा ३ लाख ३८ हजार टन धान उत्पादन भएको छ । यस्तै सुनसरीमा गतवर्षको भन्दा २३ हजार टन धान उत्पादन घटेको छ । जिल्लामा यस वर्ष ५३ हजार ९०० सय हेक्टरमा २ लाख ७ हजार टन धान उत्पादन भएको प्रदेश कृषि मन्त्रालयको तथ्यांकक छ । मन्त्रालयका अनुसार प्रदेशका उच्च हिमाली र पहाडी जिल्लामा पनि धान उत्पादन घटेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)