ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

ओझेलमा बराहक्षेत्रको सूर्यकुण्ड

२०७८ पौष, ३०  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

सुनसरी । बराहक्षेत्रको सूर्यकुण्ड धार्मिक, सांस्कृतिक, ऐतिहासिक रूपले मात्र नभई साहित्यिक समिश्रण स्थल हो । विश्वेश्वरप्रसाद कोइरालाले सुम्निमा उपन्यासको परिवेशमा सूर्यकुण्ड क्षेत्रको महत्व र महिमाबारेमा उल्लेख गरेका छन् ।

सूर्यकुण्ड ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपले पनि महत्वपूर्ण रहेको छ । आदिवासी जनजातिको संस्कृति स्थलको रूपमा पनि यसलाई चिनिन्छ । आदिवासी जनजाति युवती र खस, आर्य युवाको प्रेम सम्बन्ध, परम्परा, संस्कृतिलाई विषयवस्तु बनाएर बीपीले नेपाली साहित्यको चर्चित उपन्यास सुम्निमामा सूर्यकुण्ड र चतराको महिमा उजागर गरेका छन् ।

कवि प्रह्लाद पहरेदारका अनुसार किरात जातिको कला, संस्कृति, जीवनशैलीले पुख्र्यौली परम्परालाई सूर्यकुण्डमा जीवन्त रूपमा देख्न पाइन्छ । यसबारे बीपीले सुम्निमामा परिवेश नै बनाएका छन् । उपन्यास अध्ययन गर्दा किरातकालीन केन्द्र सूर्यकुण्ड नै भएको उनको दाबी छ ।

सूर्यकुण्ड प्राकृतिक सुन्दरतासँगै  ऐतिहासिक, धार्मिक र सांस्कृतिक रूपले पनि महत्वपूर्ण स्थल हो । यहाँ जंगबहादुर राणाले रोपेको पीपलको रुख, वराह सूर्यकुण्ड, भवानीथान, गुप्तेश्वर मन्दिरले ऐतिहासिक र धार्मिक महत्वका स्थल सूर्यकुण्डका आकर्षण हुन् । उधौली, उभौली पर्वमा लाग्ने मेलाले सूर्यकुण्ड किरातकालीन सभ्यताको थलोको रूपमा रहेको प्रस्ट पार्ने स्थानीय अर्जुन कुलङ बताउँछन् ।

सूर्यकुण्डले सौन्दर्य, धार्मिक, ऐतिहासिक तथा कृषि क्षेत्रको रूपमा समेत सम्भावना बोकेको उनको बुझाइ छ । उनी भन्छन्, ‘तराईबाट छोटो दूरीमा रहेको सूर्यकुण्ड पुग्दा चिसो मौसम, अर्गानिक ठाउँ र वातावरणका कारण आनन्द आउँछ ।’

धार्मिक रूपमा पनि आदि वराहको मन्दिर, भवानीलगायत धार्मिक स्थलले  पनि सूर्यकुण्डको महत्व बढाएको वडा–१ का वडा सदस्य भूपाल राई बताउँछन् । संघीयतासँगै देशको समृद्धिको आधारमध्ये पर्यटन विकासलाई सरकारले मुख्य मानेको छ । पर्यटकीय गन्तव्य खोजीमा रहेका सुनसरी, मोरङ, उदयपुर आसपासका पर्यटकको चाहना वराहक्षेत्र–१ स्थित सूर्यकुण्डको सौन्दर्यले पूरा गर्न सक्छ । तराईसँग छोटो दूरीमा वराहक्षेत्र, चतराधाम, विष्णुपादुका र धरान नजिकैको सूर्यकुण्ड प्राकृतिक रूपमा भेडेटारपछिको प्राकृतिक रमणीय स्थल हो । तर, सडक सुविधा स्तरीय नहुँदा पर्यटन व्यवसाय मौलाउन सकेको छैन ।
वराहक्षेत्र नगरपालिका–१ स्थित सूर्यकुण्ड धरानको मंगलबारे हुँदै पहाडी कच्ची बाटोबाट पुग्न सकिन्छ भने चतराको देवीथान र भण्डारीटारबाट समेत सोही प्रकारको घुम्ती बाटोबाट सूर्यकुण्ड पुगिन्छ ।

पछिल्लो समय प्रदेश १ को पर्यटकीय गन्तव्य विकासका लागि धरान–भेडेटार हुँदै सूर्यकुण्ड–बराहक्षेत्र केबुलकार बनाउने योजनामा परेको चर्चाले बराहक्षेत्रसहित सूर्यकुण्डको स्वरूप बदलिने स्थानीय बताउँछन् । बराहक्षेत्र नगरपालिका–१ का वडाध्यक्ष सुरेश श्रेष्ठ भन्छन्, ‘सूर्यकुण्ड चाँडै भेडेटारजस्तै पर्यटकीय गन्तव्य बन्ने सम्भावना बढेको छ ।’ उनका अनुसार प्रदेश सरकारले समेत चासो बढाएपछि नगरपालिकाले सूर्यकुण्डमा भ्यू टावर, सडक निर्माणलाई प्राथमिकतामा राखेको छ । बराहक्षेत्र नगरमा भेडेटार जतिका स्थान छन् । त्यसको व्यवस्थापन, प्रचार–प्रसार हुन भने सकेको छैन । सूर्यकुण्डको पर्यटकीय विकासमा नगरपालिका र प्रदेश सरकार केन्द्रित हुनुपर्ने उनले बताए ।

सूर्यकुण्ड क्षेत्रमा होमस्टे, होटलमा निजी क्षेत्रलाई लगानी गर्न आग्रह गर्दै उनी भन्छन्, ‘सूर्यकुण्डको विकासका लागि प्रदेश सरकारलाई ज्ञापनपत्रसमेत बुझाइसकिएको छ । बराहक्षेत्र धार्मिक मात्र नभई वातावरणीय सौन्दर्यले पूर्वी तराईका सुनसरी, सप्तरी, मोरङ झापाका आन्तरिक पर्यटकको गन्तव्य बन्नेछ ।’

वराहक्षेत्र नगरप्रमुख नीलम खनालका अनुसार नगरले पहिलो वर्ष सूर्यकुण्डलाई सडक सन्जालसँग जोड्न २० लाख बजेट, दोस्रो वर्ष देवीथान– भण्डारीटार हुँदै जाने बाटोलाई २०/२० लाख बजेट विनियोजन गरेर सूर्यकुण्डमा विकास थालनी गरेको छ । प्रदेश सरकारसमक्ष पनि सूर्यकुण्डको विकासमा चासो देखाउन आग्रह गरिएको छ । सूर्यकुण्ड पुग्ने कालोपत्रे सडक निर्माण गरिछाड्ने नगरप्रमुख  खनाल बताउँछिन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)