सुर्खेत (अस) । कर्णालीमा स्याउ तथा ओखर विकास बोर्ड गठन गर्न कृषकले माग गरेका छन् । प्रदेशसभा सदस्य नरेश भण्डारीको नेतृत्वमा प्रदेशका कृषकले बिहीवार प्रदेश सरकार समक्ष स्याउ तथा ओखर उत्पादक विकास बोर्ड गठन गर्न माग गरेका हुन् । उनीहरूले कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाहीलाई मागपत्र बुझाएका छन् । ‘प्रदेशमा कृषि क्षेत्रको प्रचुर सम्भावनायुक्त हुदाँहुदै पनि समग्र विकास नहुँदा झण्डै ५२ प्रतिशत नागरिक बहुआयामिक गरीबीबाट उन्मुक्त हुन सकेका छैनन्,’ मागपत्रमा भनिएको छ, ‘सम्भावनायुक्त कृषि क्षेत्रको विकास नगरी कर्णाली प्रदेशलाई गरीबीबाट मुक्त गर्न नसकिने यथार्थलाई आत्मसात् गर्दै स्याउ तथा ओखर उत्पादनमा वृद्धि, बजारीकरण र स्याउ तथा ओखर उत्पादक कृषकलाई प्रोत्साहनका लागि विकास बोर्ड गठन गर्न जरुरी छ ।’ कर्णालीका हिमाली तथा पहाडी जिल्लाका अहिले पनि करीब ३ हजार कृषक स्याउ तथा ओखरखेतीमा संलग्न छन् । स्याउ तथा ओखर विकास बोर्ड गठन भएपछि कृषकले प्रदेश सरकारबाट स्याउ र ओखर खेतीको विकासमा टेवा पुग्ने अपेक्षा राखिएको छ ।