ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विराटनगर भन्सारको राजस्वमा दैनिक ९ करोडको कमी

२०७८ माघ, ७  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA
author avatar वेदराज पौडेल

विराटनगर । जोगबनीबाट ४ किलोमिटर दक्षिण पश्चिम परवाना नदीमाथि रहेको बेलिब्रिज भासिएपछि विराटनगर भन्सार कार्यालयको राजस्वमा दैनिक ९ करोडको कमी आएको छ । सामान्य अवस्थामा विराटनगर भन्सार कार्यालयले दैनिक १४ करोड राजस्व संकलन गर्दै आएको थियो । अहिले दैनिक बढीमा ५ करोड मात्र संकलन हुँदै आएको छ । परवाना नदीमाथि रहेको बेलीब्रिज पटकपटक भासिँदा भन्सार कार्यालयको राजस्व संकलन प्रभावित हुँदै आएको छ । चार वर्षअघि पनि साउनमा उक्त नदीमाथिको बेलीब्रिज भासिएको थियो, जुन मर्मत भएर पुनः सञ्चालनमा आउन ४ महिना लागेको थियो ।

भारत सरकारले परवाना नदीमाथिको बेलीब्रिज भन्दा एक किलोमिटर उत्तरतर्फ मोटरेबल पक्की पुल निर्माण गरिसकेको छ । उक्त पुल सञ्चालन हुन नसक्दा मालवस्तु बोकेर आएका ट्रक र लरीहरू फारविगञ्जबाटै सुनसरीको भण्टाबारीतिर मोडिने गरेका छन् ।

भारतको अररिया जिल्लाको भीमनगर नाकाबाट नेपाल प्रवेश गर्ने गाडी नेपालको भण्टाबारी नाकाबाट इनरुवा, इटहरी, दुहवी, विराटनगर हुँदै आईसीपी पुगेर भन्सार चेकजाँचपछि पुनः गन्तव्यमा अनलोड गर्नुपर्ने अवस्था छ । सामान्य अवस्थामा विराटनगर भन्सारमा दैनिक २०० देखि ३०० मालवाहक गाडी प्रवेश गरेर जाँचपास हुने गरेकोमा अहिले मुश्किलले  १५० ओटा मात्रै जाँचपास भइरहेको भन्सारका सूचना अधिकृत रामचन्द्र ढुंगानाले जानकारी दिए ।

उद्योग संगठन मोरङका कोषाध्यक्ष तथा उद्योगी विपीन कावराले विराटनगर नाकामै अनिवार्य आउने बाहेकको सामग्री उद्योगीहरूले अन्य नाकातिर डाइभर्ट गरेको बताए । चार वर्षअघि मिरगञ्ज पुल भासिँदा पनि उद्योगी व्यवसायीले विराटनगर नाकाबाट पैठारी गर्ने मालवस्तु भैरहवा, वीरगञ्ज र काँकडभिट्टा नाकाबाट प्रवेश गराएका थिए । तेस्रो मुलुकबाट आउने सामानमा प्रतीतपत्र खोलिएको बैंकबाट प्रवेश गर्ने नाका परिवर्तन गर्न सकिने भएकाले विराटनगर नाकाबाट आउने सामानको नाका परिवर्तन गरिएको हो ।

सूचना अधिकृत ढुंगानाका अनुसार कार्यालयले साउनयता हरेक महिना लक्ष्यको ९२ प्रतिशतभन्दा बढी राजस्व संकलन गर्दै आएको थियो । तर पुल भास्सिएपछि पुसको २३ देखि ३० गतेसम्म पैठारी अत्यन्त न्यून हुँदा लक्ष्यको ७६ प्रतिशतमात्र भएको छ । पुसको असरले अर्धवार्षिक अवधिमा ८९ प्रतिशतमात्र प्रगति देखिएको छ । चालू आवको पुस मसान्तसम्ममा २४ अर्ब ४३ करोड ३२ लाख राजस् असुलीको लक्ष्यमा २१ अर्ब ७९ करोड २५ लाखमात्र संकलन भएको छ । यसमध्ये भन्सार महसुलको १२ अर्ब ३८ करोड ४६ लाखको लक्ष्यमा ९ अर्ब ३६ करोड ४५ लाख, मूअकरको १० अर्ब १९ करोड ३ लाखको लक्ष्यमा १० अर्ब ९४ करोड २७ लाख र अन्तःशुल्कको १ अर्ब ८५ करोड ८३ लाखको लक्ष्यमा १ अर्ब ४८ करोड ५३ लाख प्रगति भएको तथ्यांक कार्यालयले उपलब्ध गराएको छ । विराटनगर भन्सारलाई पुस मसान्तसम्ममा सबैभन्दा बढी राजस्व मोटरसाइकलबाट प्राप्त भएको छ । मोटरसाइकलको पैठारीबाट १ अर्ब ४३ करोड ४० लाख रुपैयाँ संकलन गरिएको छ । दोस्रोमा पेट्रोलबाट १ अर्ब २७ करोड ६८ लाख, तेस्रोमा तयारी कपडाबाट १ अर्ब २० करोड ६० लाख र चौथोमा पोलिथिन दानाबाट १ अर्ब १ करोड ३१ लाख असुली गरिएको छ  । कार्यालयले एलपी ग्यासबाट ७२ करोड ५१ लाख, स्टील वायर रड क्वाइलबाट ७१ करोड ४९ लाख, एमएस बिलेटबाट ६२ करोड ६२ लाख, सूर्यमुखीको कच्चा तेलबाट ५९ करोड ६६ लाख, भटमासको कच्चा तेलबाट ५८ करोड र कच्चा पाम तेलबाट ५१ करोड १ लाख संकलन गरिएको बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)