माघ ७, काठमाडौं । नेपालमा एउटै स्थानीय तहमा डेढ दर्जन हाउजिङ परियोजना छन् भने त्यो नागार्जुन नगरपालिका हो ।
चक्ररपथसँग जोडिएको कलंकी (वाफल), सितापाइला र स्वयम्भूबाट नागर्जुन नगरपालिकाको मध्यबिन्दु रामकोट जान ४ किलोमिटर मात्रै दूरी छ । यहाँ पद्मा कोलोनीदेखि कम्फर्ट हाउजिङ र अपार्टमेन्ट सम्म गरेर डेढ दर्जन परियोजना चलिरहेका छन् ।
तर यहाँ घरजग्गाको मूल्य भने तपाईंले सोचेभन्दा सस्तो छ । अर्थात् चक्रपथबाट अन्यत्र १० मिलोमिटर टाढा जँदा जति मूल्य छ, नागर्जुनामा ४/५ किलोमिटरको दुरीमै त्यो मूल्यमा जग्गाको किनबेच भइरहेको छ ।
किन स्थिर छ रामकोटमा घरजग्गाको मूल्य ?
काठमाडौं उपत्यकामा घरजग्गाको मूल्य वृद्धिको इतिहास हेर्ने हो भने जता जता प्लटिङ त्यतै त्यतै मूल्य आकासिएको पाइन्छ । विकास निर्माणका ठूला - ठूला पूर्वाधार वा बजारीकरणका कारण जग्गाको मूल्य बढेको कमै उदाहरण छन् ।
रामकोट क्षेत्र भने शुरुदेखिनै जग्गा प्लटिङ गर्ने भन्दा व्यवस्थित आवास निर्माण गर्नेहरुको हातमा परेकोले यहाँ घरजग्गाको मूल्यमा त्यति धेरै उतारचढाव नदेखिएको स्थानी हेमराज गिरीको अनुभव छ ।
सयौ रोपनी भन्दा धेरै जग्गा लिएर प्लटिङ गर्ने ठूला व्यवसायीहरुले यो क्षेत्रमा हात हालेनन् । सानो सानो स्केलमा प्लटिङ गर्ने साना व्यवसायीहरुले हाउजिङ नगरीको घरजग्गाको मूल्यमा ठूलो फरक पार्न नसकेको उनको बुझाई छ ।
भीआईपी मानिसहरुको रोजाइमा व्यवस्थित आवास (हाउजीङ/अपार्टमेन्ट) परेपछि त्यो बाहेकका क्षेत्रमा ठूलो मूल्यमा घरजग्गाको किनबेच पनि हुन सकेन ।
हाउजिङ कम्पनीले नै प्राइम लोकेसनमा रहेका हजारौ रोपनी जग्गा ओगटी सकेका कारण त्याहाँ प्राइम लोकेसनमा जग्गाको किनबेच पनि थोरै मात्र हुने गरेको स्थानीयको भनाई छ ।
हाउजिङ भित्रका घरको डिजाइन र मूल्य करीब उस्तै यस्तै हुने भएकाले त्याहाँ अन्यत्र जस्तो मूल्य बढाबढ गरेर किनबेच गर्नु परेन ।
हजारौ रोपनी जग्गा एकिकरण गरेर बनाइएका हाउजिङ परियोजना भित्रका घर बाहिरका अव्यवस्थित घरजग्गाकै मूल्यमा पाएपछि मानिसहरुको रोजाइमा हाउजिङ नै परेकोले यो क्षेत्रमा समग्र जग्गाकै मूल्यमा स्थिरता देखिएको स्थानीय जग्गा व्यवसायी सुरेन्द्र थापाले बताए ।
थप हाउजिङ पनि आउँदै
सितापाइलादेखि रामकोट सम्म अहिले डेढ दर्जन हाउजिङ तथा अपार्टमेन्ट परियोजना छन् । ३/४ किलोमिटरको फरकमा यति धेरै व्यवस्थित आवास परियोजना भएको नेपालको एक मात्र ठाउँ सितापाइला क्षेत्र नै होला ।
सितापाइला क्षेत्रमा पद्मा कोलोनीको मात्रै ५ ओटा हाउजिङ परियोजना छन् । सृष्टी कोलोनी, कम्फर्ट हाउजिङ, स्यम्भु टावर, न्यू कोलोनी, श्री कोलोनी, संकटा कोलोनी, अरनीको आवास, स्यम्भु भ्यू कोलोनी, नागर्जुन कोलोनी लगायत अरु पनि एक दर्जन भन्दा बढी व्यवस्थित आवास परियोजना रहेका छन् ।
पद्मा कोलोनीले सितापाइला क्षेत्रमै थप दुई ओटा हाउजिङ परियोजना अघि सारेको छ । स्वयम्भू ठूलो भर्याङ र टौखेल हाइटमा हाउजिङ निर्माणको काम अघि बढेको कम्पनीले बताएको छ । रामकोट टौखेलमा ७० घर र डाडापौवामा ३०० घर निर्माण गर्ने गरि १५० रोपनी भन्दा बढी जग्गामा हाउजिङ परियोजना अघि बढाइरहेको छ । फेज १ र ३ गरि सितापाइलामा करिब ३०० बढी घरहरु भने कम्पनीले विक्री नै गरिसकेको छ ।
आधा दर्जन सडक सञ्जालको केन्द्र
अहिले रामकोट-भिमढुङ्गा क्षेत्र कलंकी (वाफल), सितापाइला, स्वयम्भु, थानकोट, गल्छी र नुवाकोटकोसँग जोडिएको केन्द्र हो ।
अहिले सितापाइला-भिमढुङ्गा-धार्के सडक ११ मिटर फराकिलो बनाइदै छ । भविष्यमा यसलाई २२ मिटर फराकिलो बनाउने योजना सहित त्यहाँ वरपर भएका खाली जग्गामा घर निर्माण गर्न समेत रोक लगाइसकिएको छ ।
नौबिसे-नागढुङ्गा-कलंकी सडकको विकल्पमा धार्के-भिमढुङ्गा-सितापाइला सडकलाई अघि सारिएकोले पनि यो ठाउँको मूल्याङ्कन बढ्ने प्रचुर सम्भावना छ ।
उक्त सडक ११ मिटर फराकिलो बनाएर कालोपत्रे गर्ने काम त यहि आर्थिक वर्षमा सकिदै छ । ढिलोचाँडो त्यो सडक २२ मिटर बन्ने भएकाले पनि यसको केन्द्रमा रहेको रामकोट-भिमढुङ्गा क्षेत्रमा आर्थिक गतिविधि बढ्ने नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतको विश्वास छ ।
समान दूरीमा सबैभन्दा सस्तो
यतिका सम्भावना भएको क्षेत्र भएपनि यहाँ घरजग्गाको मूल्य भने अन्यत्र भन्दा सस्तो देखिन्छ । जस्तो सातदोबाटोबाट गोदावरी क्षेत्रमा ८/१० किलोमिटर टाढा जाँदा पनि मुस्किलले २०/२५ लाख रुपैयाँ आनाको जग्गा किन्न पाइन्छ । तर रामकोट भने सितापाइलाबाट ४/५ किलोमिटर मात्रै टाढा हुँदा पनि यहाँ मेन रोडमै प्रतिआना २५ देखि ३० लाख रुपैयाँमा जग्गा किन्न पाइन्छ ।
मेनरोड छोडेर २० फुटे बाटोमा जाने हो भने १५ देखि २० लाख रुपैयाँ आनामा जग्गा किन्न सकिने स्थानीय जग्गा व्यवसायी भिम बहादुर तामाङले बताए । अझ डाडाको छेउछाउमा जानुहुन्छ भने त प्रतिआना १० देखि १५ लाख रुपैयाँ भित्रै प्लटिङ गरिएका जग्गा नै किन्न पनि पाइन्छ ।
अहिले चक्रपथबाट ५/६ किलोमिटरको दूरीमा गएर १०/१२ लाख रुपैयाँ जग्गा पाउन मुस्किल छ । कतै बाटो नभएको वा गोरेटो बाटो भए बेग्लै कुरा । अन्यथा समान दूरीका अन्य ठाउँको तुलनामा यो क्षेत्रमा घरजग्गाको मूल्य सस्तो देखिएको छ ।
यो पनि पढ्नुस-
भक्तपुरका ९२ ठाउँमा अनधिकृत प्लटिङ, अनुमति नलिएका प्लटिङ किनबेचमा रोक लगाइने
नागढुंगा-नौबिसे सडकको जाम हटाउन एकैपटक दुई ओटा विकल्प तयार हुँदै
घरजग्गा कारोबारमा मन्दी : ब्याज तिर्न सस्तोमा जग्गा बेच्दै व्यवसायी, पुसमा झन घट्यो कारोबार
प्लटिङले सखाप हुँदै उपत्यकाका डाँडा : डाँडा काटेर खोलानाला पुर्दै, घर नबन्ने ठाउँमा पनि प्लटिङ गर्दै
काठमाडौंबाट १५ किलोमिटर टाढा रहेको गोदावरीमा किन आकासियो जग्गाको भाउ ?