सुर्खेत । पश्चिम सुर्खेतमा विकासका सम्भावना बढेका छन् । यस क्षेत्रका नदीमाथि पुल जोड्ने कामले गति लिएसँगै पश्चिम सुर्खेतले पूर्वाधार विकासमा फड्को मार्ने भएको हो । पश्चिम सुर्खेतको समृद्धिसँग जोडिएको कर्णाली नदीमाथि घाटगाउँ–चिप्ले पुल, वारिकुइने र पारिकुइने जोड्ने पुल निर्माण धमाधम भइरहेको छ । ती पुल चालू आर्थिक वर्षको अन्त्यसम्ममा सञ्चालनमा ल्याउने तयारी भएको निर्माण पक्षले बताएको छ ।
यस्तै तातापानी–घाटगाउँ जोड्ने भेरी नदी माथिको कोसेनीघाट पुल निर्माण समेत अन्तिम चरणमा रहेको छ । कुइने–बिजौरा–गुटु–बेनीघाट हुँदै डोटी जोड्ने उद्देश्यले निर्माण शुरू गरिएको उक्त पुल सञ्चालनको तयारीमा रहेको बताइएको छ ।
कोरोना कहरले निर्माण सामाग्री अभावमा रोकिएको पुलको कामले अहिले अवस्था सामान्य बन्दै गएपछि तीव्रता पाएको हो । हालसम्म करीब ९० प्रतिशत निर्माण सम्पन्न भएको पुल निर्माणको ठेक्का पाएको अनक–लुम्बिनी जेभीका प्रतिनिधि इन्जिनियर दिनेशकुमार श्रेष्ठले बताए ।
‘तोकिएको समयभन्दा ६ महीना पहिले नै पुल निर्माण सकेर सरकारलाई जिम्मा दिने लक्ष्य थियो,’ उनले भने, ‘तर बीचमै कोरोना कहरले निर्माण सामग्री, मजदूर अभावलगायत कारणले काममा ढिलाइ भए पनि अब अहिले स्थिति सामान्य बन्दै गएपछि पुल निर्माणले गति पाएको हो ।’ पुल निर्माण अवधि २०७८ जेठ मसान्तसम्म रहे पनि कोराना महामारी लगायतले ढिलाइ भएकाले केही समय पर सरेको उनले बताए ।
उनका अनुसार अनक–लुम्बिनी जेभीले ४ वर्षभित्र पुल निर्माण गरिसक्ने गरी २०७४ मङ्सिरमा सडक विभाग, पुल महाशाखासँग भ्याटबाहेक ३४ करोड ४३ लाख रुपैयाँमा सम्झौता गरेको थियो । पुलको लम्बाइ ३०३ मिटर र चौडाइ ११ मिटर रहेको छ ।
‘यो पुल निर्माणको कामलाई अहिले निकै महत्त्वका साथ हेरिएको छ । पुल निर्माणसँगै पश्चिम सुर्खेतका गाउँहरूसँगको कनेक्टिभिटी बढ्नेछ,’ स्थानीय समाजसेवी काशीराम (जैसी) देवकोटाले भने, ‘पुल निर्माणले घाटगाउँ र कुइनेबीच जीवन्त सम्पर्क हुने मात्र होइन, वर्षाको भेलमा नदी तरेर वारपार गर्नुपर्ने बाध्यता समेत अन्त्य हुनेछ ।’ पुल निर्माणबाट पञ्चपुरी नगरपालिका–११ को कौसेनी घाट र चौकुने गाउँपालिका–९ बेलगौडाको आर्थिक समृद्धिमा महत्त्वपूर्ण टेवा पुग्ने विश्वास उनले व्यक्त गरे ।
‘देशमा थुप्रै राजनीतिक परिवर्तन भइसक्यो । अब आर्थिक परिवर्तनको खाँचो छ, जसलाई पश्चिम सुर्खेतका जनताले पर्खेर बसेका छन्,’ उनले भने, ‘राजनीतिक अधिकार, पहिचान र लडाइँ निरन्तर चल्ने प्रक्रिया हो । त्यो सँगसँगै आर्थिक समृद्धि र विकास महत्त्वपूर्ण पाटा हुन् ।’ पञ्चपुरी नगरपालिका–१०, का टेकबहादुर राजीले पुल निर्माणबाट भेरी र कर्णाली नदी किनारका सर्वसाधारण प्रत्यक्ष लाभान्वित हुने बताए । उनका अनुसार यो पुल निर्माणसँगै साविक तातापानी, घाटगाउँ, गुटु र बिजौराका बासिन्दालाई वैकल्पिक सडक मार्गको रूपमा विकास गरिनेछ । त्यस्तै कुइनेका स्थानीय प्रेम बडुवालले जामु र बेलगौडामा पक्की मोटेरेबल पुल बनेसँगै अब प्रस्तावित औद्योगिक नगरी गुटुसँगको आर्थिक तथा सामाजिक सम्बन्ध प्रगाढ बढाउन रागमा पक्की पुल बनाउन आवश्यक रहेको उनले औंल्याए ।
उनका अनुसार चिसापानी–गुटु–मंगलसेन फास्ट ट्र्याक निर्माणले पहाडी जिल्लाका बासिन्दालाई निकै राहत पुग्नेछ । ‘पश्चिम सुर्खेतका बासिन्दा किनमेल गर्न कैलालीको चिसापानी लगायत बजार पुग्नुपर्ने बाध्यता छ । उनीहरूलाई सदरमुकाम वीरेन्द्रनगरभन्दा कैलालीको चिसापानी भौगोलिक रूपमा नजिक पर्छ,’ तातापानीका धनबहादुर माझीले भने, ‘भेरी नदीमा पुल नभएकाले उनीहरूलाई ओहरदोहरमा निकै समस्या हुने गरेको छ ।’
अहिले गुटुका बासिन्दा रागमा पुल नहुँदा जामुको पुल हुँदै आवतजावत गरिरहेका छन् । यद्यपि कुइनेदेखि गुटुसम्मको कच्ची सडकमा साना सवारीसाधन अहिले जेनतेन चल्ने गरेका छन् ।