सिमकोट । हुम्लाको उत्तरी उच्च भागमा रहेको नाम्खा गाउँपालिकाको वडा ६ लिमी २ हप्तादेखि सञ्चार सम्पर्कमा जोडिन सकेको छैन । वडा नं ६ लिमीमा रहेको वल्र्डलिङ कम्युनिकेशनले काम नगरेपछि सेवा प्रवाहमा समस्या भएका हो । करीब २ हप्तादेखि उक्त इन्टरनेटले काम नगरेपछि यस क्षेत्रका स्थानीय सेवाग्राही मर्कामा पर्दै आएको वडाध्यक्ष पाल्जोर तामाङले बताए ।
वल्र्डलिङ कम्युनिकेशनले काम नगर्दा वडा कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवासमेत बन्द भएको वडाध्यक्ष तामाङले जानकारी दिनुभयो । इन्टरनेट सेवामार्फत हुने विभिन्न काम इन्टरनेटमा खराबी आएपछि प्रभावित भएको छ । नाम्खामा गत बिहीवार र शुक्रवार भारी हिमपात भएका कारण इन्टरनेटले काम गर्न छाडेको हुनसक्ने अध्यक्ष तामाङको भनाइ छ । बाक्लो हिमपातका कारण इन्टरनेट सञ्चालनमा नआएपछि इमेल, भाइबर, फेसबुक, वाटसप र विथच्याटबाट हुने कामसमेत प्रभावित भएको अध्यक्ष तामाङले जानकारी दिए ।
जिल्लाको सबैभन्दा बाक्लो र बढी हिमपात हुने क्षेत्र उक्त गाउँपालिका भएकाले पनि सदरमुकाम सिमकोटबाट इन्टरनेट मर्मतका लागि प्राविधिक टोली खटिन समस्या भएको अध्यक्ष तामाङले बताए । रासस