मान्मा । कालीकोटको सदरमुकाम खाँडाचक्र नगरपालिका–१ मान्मामा खानेपानीको अभाव भएको छ । खानेपानीको उचित वितरण प्रणाली नहुँदा अभाव भएको हो ।
खानेपानी उपभोक्ता समितिले वितरण प्रणालीमा लापरबाही गरेका कारण पानी अभाव भएको स्थानीय रामबहादुर नेपालीले जानकारी दिए । ‘खानेपानीको उचित वितरण नहुँदा खानेपानीको बजारमा अभाव रहेको छ,’ उनले भने । खानेपानीको अभाव हुँदा टाढाबाट बोकेर खानेपानीको जोहो गर्नुपरेको नेपालीले बताए । ‘धारामा नियमित पानी नआएपछि सदरमुकाममा नै पिउने पानीको अभाव भएको छ,’ उनले भने ।
खानेपानी वितरणमा केही समस्या आएको र यसको चाँडै समस्या समाधान गरिने मान्मा खानेपानी उपभोक्ता समितिका अध्यक्ष गणेशबहादुर शाहीले बताए । ‘विगत केही दिनदेखि वितरण प्रणालीमा समस्या आउँदा खानेपानीको अभाव भएको छ,’ उनले भने, ‘खानेपानी नियमित बनाउन यसका निर्माण व्यवसायीलाई बोलाएर समस्या समाधान गरिनेछ ।’
टाढाबाट खानेपानी सदमुकाममा ल्याइएको र पाइपमा समस्या आउँदा पनि खानेपानीको अभाव रहने गरेको उपभोक्ता समितिका अध्यक्ष शाहीले जानकारी दिए । ‘हामी टाढाबाट खानेपानी ल्याएर सदरमुकाममा रहेको ट्यांकीमा खसालेर खानेपानीको वितरण गर्ने गरेका छौं,’ उनले भने, ‘कहिलेकाहीँ टाढाबाट ल्याइएका पाइपमा समस्या आउँदा पनि खानेपानीको अभाव हुने गरेको छ ।’ त्यस्तै, नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरूण दल कालीकोटले सदरमुकामा भएको खानेपानी अभावलाई तत्काल समाधान गर्न आग्रह गरेको छ । रासस