ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कच्चा पदार्थ अभावमा राडीपाखी उद्योग बन्द

२०७८ माघ, २९  
कर्णाली प्रदेश
Aarthik Abhiyan 18th Anniversary NA

जुम्ला । कच्चा पदार्थ अभावले जुम्लाको एक मात्र राडीपाखी उद्योग बन्द भएको छ । महिनौंदेखि उत्तरी नाका बन्द भएकाले ऊन आयात हुन सकेको छैन ।

ऊन ल्याउन नसकेपछि तामाङ झोला तथा राडीपाखी उद्योग बन्द भएको उद्योग सञ्चालिका कुन्जाङ फुटिक तामाङले बताइन् ।
    
उनले भनिन्, ‘चिनियाँ भेडाको ऊनबाट बन्ने कोट, टोपी, झोला, गलबन्दी, कालो काम्लो, राडीपाखी उत्पादन हुँदै आएको थियो । अहिले बजारमा माग धेरै भए पनि कोभिडपछि कच्चापदार्थ संकलन गर्न नसक्दा उद्योग बन्द गर्नुपरेको हो । दुई वर्षदेखि उद्योगको काम ठप्प छ ।’

जुम्ली भेडाको कालो र सेतो ऊनबाट बन्ने सामग्रीको माग पनि बढ्दो छ । तर, जुम्ली भेडाको ऊन छोटो हुने भएकाले अलि झन्झटिलो हुने उनले बताइन् । चीनबाट आउने ऊन लामो र मुलायम हुने भएकाले सामग्री सजिलै उत्पादन हुने गरेको उनको अनुभव छ ।   
 
‘माग अत्यधिक छ । कच्चापदार्थ संकलन हुन सकेको छैन । उद्योग नचल्दा घाटा बेहोर्नु परिरहेको छ । चीनको उत्तरी हिल्सा नाका खुलाउन सरकारले पहल नगर्दा कर्णालीको जनजीवनसँगै साना तथा मझौला उद्योग संकटमा परेका हुन्,’ तामाङले भनिन् ।

चीनको नाका खुलाउन सरकारले कुनै चासो देखाएको छैन । पछिल्लो समय जुम्लामा पनि भेडाको ऊन अभाव हुँदै गइरहेको र गाउँमा परम्परागत तरिकाले राडीपाखी बुन्ने धेरै भएकाले पनि उद्योगका लागि ऊन पाउन मुस्किल छ ।

चीनको नाका खुलाएर चाँडो कच्चापदार्थ ल्याउने वातावरण बनाइदिन सरकारलाई उनले आग्रह गरिन् । चन्दननाथ नगरपालिका–२ की तामाङले राडीपाखी बेचेरै वार्षिक ५ लाख आम्दानी गर्दै आएकी थिइन् । ‘वर्षमा कच्चापदार्थ खरिद, कामदारलाई ज्याला, सामान निर्यात गरी १५/२० लाखको कारोबार हुने गरेको थियो । ५ लाख ऊनलाई लाग्थ्यो’, उनले भनिन् ।

सरकारी अनुदानका नाममा आर्थिक वर्ष ०७५/७६ मा पशु सेवा कार्यालयबाट साढे ३ लाख मात्रै पाएकी कुन्जाङले अहिलेसम्म कतैबाट कुनै सहयोग नपाएको गुनासो गरिन् ।     

‘महिनामा ४० देखि ४५ हजार रुपैयाँसम्म नाफा हुन्थ्यो । यसैबाट घर खर्च चलेको थियो । माग दैनिक बढ्दै गए पनि कच्चा पदार्थ नहुँदा समस्या भएको छ ।’ उनले नियमित पाँच र ज्यालादारीमा १०–१२ जनासम्मलाई रोजगारी दिँदै आएकी थिइन् । ज्यालादारीमा काम गर्ने महिलालाई एक कोट सिलाएबापत २ हजार र राडीपाखी बुनेबापत २ हजार ५०० दिने गरिएको थियो । सो उद्योग अवलोकनका लागि सरकारी अधिकारीदेखि जुम्ला भित्रिने अधिकांश आन्तरिक पर्यटकसमेत पुग्ने गरेका थिए । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)