ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कोशीपीडित बेलकावासीको माग सम्बोधन : क्षतिग्रस्त पश्चिम तटमा ‘स्पर’ बन्ने

२०७८ माघ, २९  
कोशी प्रदेश
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar दिनेश गजमेर

सुनसरी  । चतरा नहरमा पानी प्रवेश गराउन निर्माण गरिएका ‘स्पर’का कारण कोशी नदीले क्षति गरेको भन्दै आन्दोलित स्थानीयको माग सम्बोधन भएको छ । माग सम्बोधन भएपछि कोशीपीडित बेलका नगरपालिकाकावासीले अवरोध खोलेका छन् ।

सुनसरी मोरङ सिँचाइ आयोजनाको नहरमा पानी प्रवेश गराउन बनाइएको ‘इन्टेक’मा पानी प्रवेश नभएपछि पानी स्थानान्तरण गर्न स्पर निर्माणका लागि जलस्रोत तथा सिँचाइ विभागबाट स्वीकृत भएर ठेक्का सम्झौता भई निर्माण व्यवसायीले काम थालेका थिए । तर आयोजना अन्तर्गत कोशी नदीमा स्पर निर्माण विवादित बनेपछि सुनसरी र उदयपुर जिल्ला प्रशासनको ध्यानाकर्षण भएको हो । दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, प्रहरी प्रमुखहरू, नेपाली सेना लगायत प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको बैठकले स्पर निर्माण विस्तार गर्न सुनसरी मोरङ सिँचाइ आयोजनालाई दायित्व दिने सहमति गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।

कोशी कटान पीडित स्थानीयवासीसहितको भेलामा प्रशासन प्रमुखहरूले कोशी नदीको नियन्त्रण गर्ने जिम्मा आयोजनालाई दिएका हुन् । कोशी नदीको दायाँ किनारतर्फको दक्षिण–पश्चिमतर्फ खेतीयोग्य जमिन तथा बस्तीसमेत कटान गरिरहेको निक्र्यौल निकाल्दै सो स्थानमा तत्काल कटान नियन्त्रण र विपद् व्यवस्थापनबारे ठोस प्रस्ताव आयोजनाले जलस्रोत तथा सिँचाइ विभागमा पेश गरी स्वीकृत गर्ने सहमति भएको छ । चालू आर्थिक वर्षभित्रै ठेक्का आह्वान गर्ने गरी अविलम्ब प्रक्रिया अगाडि बढाउने निर्णय भएको सिँचाइ आयोजना निर्देशक भिलानन्द यादवले जानकारी दिए ।

यसका लागि आयोजना, स्थानीय सरोकारवाला, राजनीतिक दललगायतले  पहलकदमी गर्ने निर्णय गरिएको छ । यो निर्णय जिल्ला विपद् व्यवस्थापन समितिबाट सम्बोधन गरी सरोकारवाला कार्यालयमा अनुरोध गर्ने समेत निर्णय भएको आयोजना निर्देशक यादवले बताए । तत्काल यसै आवमा कटान नियन्त्रणका लागि गर्न सकिने कार्यको सम्बन्धमा सुनसरी मोरङ सिँचाइ आयोजनाले विभागसँग समन्वय गरी प्राविधिक दृष्टिकोणले उपयुक्त कार्य १ महिनाभित्र शुरू गर्ने निर्णय गरिएको छ । कोशी नदीको दक्षिण–पश्चिमतर्फ लाहुरे खोज, डुम्रिबोटेलगायतका स्थानमा भारतीय पक्षबाट गर्ने भनिएका नदी नियन्त्रण सम्बन्धी कार्यको सम्बन्धमा सुनसरी मोरङ सिँचाइ आयोजनाले आयोजना निर्देशकबाट भारतीय पक्षसँग समन्वय गर्न र भए–गरेका प्रगति, गतिविधिबारे जानकारी गराउने निर्णयसमेत भएको छ ।

आयोजनाको इन्टेकमा पानी पथान्तरण गरी सुनसरी र  मोरङको ६८ हजार हेक्टर जमिनमा दिगो सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले कोशी नदीको दायाँ किनारमा कोशी पुल दक्षिणपट्टि हाल अवस्थित स्परभन्दा १०० मिटरको फरकमा दुईओटा स्पर निर्माण हुनेछ । सोका लागि जलस्रोत तथा सिँचाइ विभागबाट स्वीकृत भएर ठेक्का सम्झौता भई निर्माण व्यवसायीले काम थालेका छन् । निर्धारित मितिमै निर्माण सम्पन्न गर्नुपर्ने भएकाले निर्माण व्यवसायीले तुरुन्त कार्य गर्ने निर्णय भएको छ ।  कोशी नदीको उत्तरपश्चिम तटीय क्षेत्रमा बाँध बाँध्ने सुनसरी र उदयपुरका प्रमुखसँगै सिँचाइ आयोजनाको निर्णयपछि सुनसरीको श्रीलंका टप्पु क्षेत्रका स्थानीयले आफूहरू मर्कामा परेको बताएका छन् । कोशीको पश्चिम तटीय क्षेत्रको ठूलो भूभाग क्षतिग्रस्त भए पनि प्रशासनले बेवास्ता गरेको उनीहरूको गुनासो छ ।

बेलकावासीको आन्दोलनका कारण माग सुनुवाइ भए पनि आफूहरू सधैं कोशीपीडित भएको स्थानीय सन्तोष चन्द्रवंशीले गुनासो गरे । उत्तरपश्चिम तटीय क्षेत्रमा तटबन्धसँगै जोखिमयुक्त टप्पु क्षेत्रमा पनि प्रशासनको ध्यान पुग्नुपर्ने चन्द्रवंशीको माग छ । ‘हामी बारम्बार बेवास्तामा परेका छौं, अन्य ठाउँमा बाँध बाँधिन्छ, हामी पनि पीडित हौं, हामीलाई प्रशासनले हेरेको छैन,’ चन्द्रवंशीले भने, ‘यसपालि त डेढ किलोमिटरभन्दा बढी कटान भएको छ, बस्ती नै विस्थापित हुने अवस्थामा पुगेको छ ।’

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)