जुम्ला । पर्यटकको आकर्षक गन्तव्यको रूपमा मानिने मुगुस्थित रारा ताल जोडिने नाग्म गमगडी सडकको स्तरोन्नतिको काम शुरू भएको छ । उक्त राजमार्गको ५२ किलोमिटरमा ग्राभेल कार्य सम्पन्न भएको डिभिजन सडक कार्यालय जुम्लाका इन्जिनियर सन्तोष भण्डारीले बताए ।
९३ किलोमिटर लम्बाइको नाग्म–गमगडी राजमार्गको स्तरवृद्धिका लागि काम भइरहेको छ । जुम्ला र कालीकोटको सीमा नाग्मदेखि हिमा गाउँपालिका क्षेत्रसम्म जोड्ने सडकको काम पनि अहिले भइरहेको छ । ठेक्का लागेर पनि विगत पाँच वर्षदेखि सो सडकको ६ किलोमिटरसम्मको काम हुन सकेको थिएन । स्थानीय निर्माण व्यवसायी बलिबहादुर शाहीले सो सडक निर्माणको ठेक्का पाएका छन् ।
राजमार्गका विभिन्न स्थानमा गरी अहिले ५२ किलोमिटर ग्राभेल कार्य भइसकेको र अन्य काम अगाडि बढाइने सडक डिभिजन कार्यालय जुम्लाका इन्जिनियर भण्डारीले बताए । रासस