हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाले स्थानीय कृषकलाई स्याउका बिरुवा वितरण गरेको छ । जुम्लाबाट हवाईजहाजमार्फत स्याउका बिरुवा जिल्लामा पुर्याएपछि वितरण गर्न शुरू गरिएको हो । पैदल मार्गबाट ल्याउन सम्भव नभएपछि जुम्लाबाट नेपालगञ्ज र नेपालगञ्जबाट सिमकोट हवाई मार्गबाट बिरुवा दोहोरो हवाई भाडा तिरेर ल्याइएको गाउँपालिकाका लेखाप्रमुख अश्विनीकुमार देवकोटाले जानकारी दिए । गाउँपालिकाले चालू आर्थिक वर्षको फलफूल तथा कृषि विस्तारको ‘एक घर एक बगैंचा’ कार्यक्रम अन्तर्गत साढे १२ हजार स्याउका बिरुवा खरिद गरेर ढुवानी गरेपछि कृषकलाई वितरण शुरू गरिएको उनको भनाइ थियो ।
स्याउका विरुवा जिल्लामा पुगेसँगै गाउँपालिकाले वडा नं ६ बाहेक १ देखि ५ सम्मका वडाका बासिन्दालाई ती बिरुवा वितरण गर्न थालेकोे हो । रेड, रोयल डेलिसियस, गोल्डेन र जनार्थन जातका स्याउका बिरुवा प्रतिबोट ७७ रुपैयाँको दरले खरिद गरिएकोे लेखा प्रमुख देवकोटाले बताए । सेवाप्रदायक निकायले स्याउमा लगानी गरिएको बजेटको ६० प्रतिशतभन्दा बढी ढुवानीमा लगानी गर्न बाध्य भएको बताएका छन् । रासस