फागनु ९, सुर्खेत । सुर्खेत विमानस्थल विस्तारको काम अघि बढ्ने भएको छ ।
सरकारले हालको विमानस्थलको उत्तरतर्फको पौने १२ बीघा जमीन अधिग्रहण गरेर विमानस्थल विस्तारको तयारी गरेसँगै अब काम अघि बढ्ने निश्चित भएको हो । विमानस्थलको धावनमार्ग हाल १ हजार २५५ मिटर रहेको छ ।
अधिग्रहण गरिएको जमीनमा धावनमार्ग विस्तार गरेर १ हजार ५५५ मिटर पुर्याउने लक्ष्य सरकारी लक्ष्य रहेको छ । तर, प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले नागरिक सरोकार समिति नै गठन गरेर विमानस्थल विस्तारभन्दा सकेसम्म नयाँ वैकल्पिक स्थानको खोजी गर्न स्थानीय, प्रदेश र संघीय सरकारको ध्यानाकर्षण गराउँदै आएका छन् ।
प्रभावित क्षेत्रका बासिन्दा मक्कबहादुर बुढाले फेरि विमानस्थल विस्तार नगर्ने सरकारले प्रतिबद्धता गरे अन्तिम पटकका लागि आफूहरु सहयोग गर्न तयार रहेको बताए ।
‘पटकपटक विमानस्थल विस्तार गरिँदा प्रभावित क्षेत्रका बासिन्दा ठूलो मर्कामा परेका छौं’, उनले भने, ‘अन्तिम पटकका लागि हो भने हामी सहयोग गर्न तयार छौं, सरकारले उचित मुआब्जा दिनुपर्छ ।’
उनले आफूहरु विकासविरोधी नभएको बताउँदै ३०० भन्दाबढी विद्यार्थी अध्ययनरत विद्यालय, स्वास्थ्य चौकी र सामुदायिक भवनका विषयमा मुआब्जाअघि नै टुंगो लगाइनुपर्नेमा जोड दिए । यता मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको समृद्धिका लागि विमानस्थल विस्तारको विकल्प नभएको बताएका छन् ।
‘प्रभावित क्षेत्रका नागरिकलाई न्यायपूर्ण मुआब्जा दिएर विमानस्थल विस्तारको तयारीमा सरकार लागेको छ,’ उनले भने, ‘प्रदेश राजधानीलाई हवाईमार्गबाट जोड्नका लागि अहिलेको विमानस्थल विस्तार गर्नुको तत्काल अर्को विकल्प छैन ।’
उनले प्रभावित क्षेत्रमा रहेको विद्यालय, स्वास्थ्य चौकी र सामुदायिक भवन सरकारले नै स्थानान्तरण गर्ने र नागरिकलाई न्यायपूर्ण मुआब्जा वितरण गर्ने सरकारी लक्ष्य रहेको बताए । धावनमार्गलाई उत्तरतर्फ थप विस्तार गरेर १ हजार ५५५ मिटर पुर्याउँदा ७० देखि ८० सिटे ‘एटीआर ७२’ जहाज अवतरण गराउन मिल्ने हवाई क्षेत्रका प्राविधिकहरुको भनाइ छ । अहिले सुर्खेत विमानस्थलमा ४० सिटे ‘एटीआर ४२’ जहाज मात्रै अवतरण हुने गरेको छ ।
विमानस्थल विस्तार भए रात्रिकालीन उडानसमेत भर्न पनि सहज हुने देखिन्छ । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका लागि जमीन अधिग्रहण गर्दा करीब २०० घरधुरी प्रभावित हुने अनुमान गरेको छ ।
‘एक विद्यालय, स्वास्थ्य चौकी र केही सामुदायिक भवनसहित नागरिकका करीब २०० घरधुरी अधिग्रहण गर्नुपर्ने देखिन्छ,’ नागरिक उड्डयन प्राधिकरणका निर्देशक मुरारी भण्डारीले भने, ‘उत्तरतर्फ ३०० मिटर धावनमार्ग विस्तार भएमा ८० सिटे ‘एटीआर ७२’ जहाज सहजै अवतरण गराउन सकिन्छ ।’
उनले विमानस्थल विस्तार, प्रभावित क्षेत्रका नागरिकलाई मुआब्जा र विद्यालय तथा सामुदायिक भवन निर्माणका लागि ९ अर्ब ४१ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरे । ‘यसअघि नै संघीय सरकारको ५० प्रतिशत र प्रदेश तथा स्थानीय पालिकाले २५/ २५ प्रतिशत खर्च व्यहोर्ने गरेर सम्झौता भइसकेको छ,’ उनले भने, ‘जग्गा प्राप्तिको प्रक्रिया अघि बढे आठ वर्षभित्र निर्माण सम्पन्न गर्न सकिन्छ ।’
सुर्खेत विमानस्थल विकास, विस्तार र स्तरोन्नतिका लागि जग्गा अधिग्रहण, रनवे विस्तार, टर्मिनल भवन निर्माण र अन्य आवश्यक विकास निर्माण गर्न कर्णाली प्रदेश सरकार र नेपाल नागरिक उययन प्राधिकरण बीच यसअघि २०७७ असोज १५ गते सम्झौता भएको थियो ।